दोलखाका स्थानीय तहमा आइसोलेसन वार्ड तयार

दोलखाका स्थानीय तहहरुमा समेत आइसोलेसन वार्ड तयार भएका छन् । कोरोना भाइरसबाट जोगिन सतर्कताका लागि सरकारले लकडाउन गरेपछि दोलखाका हरेक स्थानीय तहले आइसोलेसन वार्ड तयार गरेका हुन् ।
दोलखामा भीमेश्वर नगरपालिका चरिकोटमा १० वटा र निजी अस्पताल च्छोरोल्पा अस्पताल र सामुदायिक अस्पताल प्रालिले पनि २÷२ वटा बेड तयार गरेका छन् । गौरीशंकर गाउँपालिकाले सुरी प्राथमिक स्वास्थ्य केन्द्र नजिकै टेन्ट हालेर ६ वटा आइसोलेसन वार्ड तयार गरेको छ ।
त्यसैगरी विगू गाउँपालिकाले आफ्नै कार्यालयको हल खाली गराएर क्वारेण्टाइन तयार गरेको छ भने ५ वटा आइसोलेसन तयार गरेको छ ।
कालिञ्चोक गाउँपालिकाले सिंगटी प्राथमिक स्वास्थ्य केन्द्रमा ६ वटा आइसोलेसन तयार गरेको छ । जिरी नगरपालिकाले जिरी अस्पताल र बैतेश्वर गाउँपालिकाले हिमालयन ह्याण्डस् केयर अस्पतालमा २÷२ वटा आइसोलेसन बेड तयार गरेका छन् ।
कोरोना भाइरस संक्रमित विरामी भेटिए केही समय आइसोलेसनमा राख्नु परे आफैंले तयारी गर्नका लागि संघीय र प्रदेश सरकारले दिएको निर्देशन अनुसार तयारी थाले पनि सामान नै नपाएको बताएका छन् । शैलुङ गाउँपालिकाले ८ वडा बेड तयार गरेको छ ।
शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले सबै तयारी गर्न स्थानीय सरकार लागे तापनि साधन र स्रोतको अभाव रहेको बताए । स्थानीय तहमा सक्दो प्रयास गरेको भए तापनि बजार बन्द भएकाले समस्या भएको उनले बताए ।
तामाकोसी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अरुण मिश्रले मास्क स्वास्थ्य संस्था र वडा कार्यालयमा पु¥याए तापनि सामान अरु तयारीमा सामान खरिदमा समस्या भएको बताए । थर्मोमिटर गन पनि धेरै अस्पतालमा नहुँदा समस्या छ । धुलिखेल अस्पतालबाट सञ्चालित दोलखाको गौरीशंकर जनरल अस्पतालमा ५ वडा बेड तयारी छ भने किर्नेमा पनि ५ वटा आइसोलेसन बेड तयार गर्न लागेको छ । गाडी बन्द हुँदा पनि सामान खरिद गर्न ल्याउन समस्या भएको उनले बताए ।
कोरोनाबाट सर्तकता अपनाउन विभिन्न संघ संस्थाले ठाउँ ठाउँमा साबुन पानीले हात धुने ठाउँको व्यवस्था गरेका छन् । चेम्बर अफ कमर्स दोलखा च्याप्टरले चरिकोट बजारमा सोमबारदेखि ड्रममा पानी भरेर राखेको छ । त्यसैगरी चरिकोटमै गैराश्वारा समाज सुधारले पनि हात धुने ठाउँको व्यवस्था गरेको छ । शैलुङ गाउँपालिकाले बाघखोर बजारमा पनि हात धुने ठाउँको व्यवस्था गरेको छ । सरकारले गरेको लकडाउन दोलखामा पूर्ण पालना भएको छ । नियम उलंघन गर्नेहरुलाई सुरक्षाकर्मीले सम्झाएर फर्काउने गरेका छन् । जबरजस्ती गर्नेलाई नियन्त्रणमा समेत लिएर छाडेका छन् ।