नेपालमा तेस्रो व्यक्तिमा कोरोना संक्रमण «

नेपालमा तेस्रो व्यक्तिमा कोरोना संक्रमण

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को पोजिटिभ संक्रमण पुनः एकजनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवका अनुसार बुधबार एक जनामा कोभिड–१९ पोजिटिभ देखिएको हो ।
उनका अनुसार ती पोजिटिभ देखिएका व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । योसँगै नेपालमा तीनजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।
यसअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई पोजिटिभ देखिएको थियो भने एकजना पोजिटिभका बिरामी उपचारपश्चात् घर फर्किसकेका छन् । अहिलेसम्म मन्त्रालयको तथ्याङ्कअनुसार ६८७ मा कोभिड–१९ को नमूना परीक्षण भएकामा ६८४ मा नेगेटिभ देखिएको छ ।
कोरोना भाइरसबाट संक्रमित तीनैजना विदेशबाट फर्किएका हुन् । पहिलो पटक संक्रमण देखिएका युवक चीनको वुहानबाट फर्किएका थिए । वुहानबाट फर्किएका ती युवक उपचारपछि निको भइसकेका छन् ।
दोस्रो संक्रमित पनि गत चैत ४ गते फ्रान्सबाट फर्किएकी युवती हुन् । उनी कतार एयरवेजको विमानबाट काठमाडौं आएकी थिइन् ।
फ्रान्समा अध्ययनरत १९ वर्षीया युवतीलाई केही दिनअघि संक्रमण भएको पुष्टि भएको थियो । अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनको परिवारका सदस्यलाई पनि आइसोलेसनमा राखिएको बताइए पनि परिवार र ती युवतीको सबै विवरण खुलाइएको छैन ।
बुधबार संक्रमित भेटिएका व्यक्ति पनि खाडी मुलुकबाट फर्किएका थिए । स्वास्थ्य मन्त्रालयले ती व्यक्ति वैदेशिक रोजगारीमा गएका हुन् वा अन्य प्रयोजनमा विदेशमा थिए भन्ने केही जानकारी दिएको छैन । उनको पनि टेकुस्थित शुक्रराज अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्