प्रधानमन्त्री ओलीलाई २०८ सांसदको साथ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २०८ सांसदको विश्वासको मत प्राप्त गरेका छन् । ओलीको विपक्षमा भने ६० मत परेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये बैठकमा जम्मा २६८ सांसद उपस्थित हुनुहुन्थ्यो । नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेका थिए भने नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्रीको पक्षमा मतदान गरेको थिएन । नयाँ शक्ति पार्टी नेपालका सांसद डा. बाबुराम भट्टराई नेपाल बाहिर छन् ।
उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्रका सांसदले समर्थन गरे । मत विभाजनअघि पाँच मिनेट जनाउ घण्टी बजाइएको थियो । त्यसपछि सभामुखको आसनको दाँया कक्षमा राखिएको वर्णानुक्रमानुसारको नामावलीमा हस्ताक्षर गरी सांसदहरुले प्रधानमन्त्रीको पक्षमा मत व्यक्त गरेका थिए भने सभामुखको आसनको बाँया कक्षमा राखिएको वर्णानुक्रमानुसारको नामावलीमा हस्ताक्षर गरी सांसदले प्रधानमन्त्रीको विपक्षमा हस्ताक्षर गरेका थिए । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले संविधानअनुसार आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन ३ गते एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । संविधानअनुसार प्रधानमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
संविधानअनुसार प्रतिनिधिसभामा १६५ प्रत्यक्ष निर्वाचित र ११० समानुपातिक गरी कुल २७५ सांसद छन् । गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले १२१, नेपाली कांग्रेसले ६३, माओवादी केन्द्रले ५३, राजपा नेपालले १७, संघीय समाजवादी फोरमले १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक-एक र स्वतन्त्रले एक स्थानमा विजयी हासिल गरेका थिए ।
संसद्मा कसले के भने ?
मुलुकको समृद्धिका लागि सत्ता र प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष नहुने स्पष्ट पारे । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, “राष्ट्रिय विकासको अभियान सत्ता पक्षको मात्र नभई हामी सबैको साझा यात्रा हो । यस यात्राको अगुवाइ सत्ता पक्षले गर्ला, प्रधानमन्त्री भएकाले मैले गर्नुपर्ला । तर सबैको यात्रा यही हो ।” देशलाई अगाडि बढाउने हो भने सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, “हामी शान्ति चाहन्छाँै, स्थिरता, स्थायित्व र शान्ति होस् अनिमात्र विकास गर्न सक्छौँ । सामान्य अवस्थामा पक्ष र प्रतिपक्ष भएर विवाद गर्न सक्छौँ । तर यतिबेला सत्ता पक्ष र प्रतिपक्ष भएर जसरी पनि विरोध गर्ने सुविधा छैन । प्रतिपक्ष पनि सहयोगी हुनुपर्छ ।”
लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई अंगीकार गर्दै, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, समावेशीता, समानुपातिक प्रतिनिधित्व र त्यसका लागि आवश्यक पर्ने कार्यहरु, आवधिक निर्वाचन, संवैधानिक प्रतिपक्ष, प्रतिपक्ष हुने अधिकारसहितको राजनीतिक प्रणाली स्थापना भएको प्रधानमन्त्रीको भनाइ थियो ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गरेर देश र जनताप्रति प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले आफ्नो नेतृत्वको सरकार अन्तर्राष्ट्रिय समुदायप्रति जवाफदेही हुने र साझा चुनावी घोषणापत्रमा उल्लेख भएका विषयलाई कार्यान्वयन गरेरै छाडिने दृढ विश्वास व्यक्त गरे ।
जनताले भाषण होइन, परिणाम खोजेका छन् : दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले भाषण होइन, सिधै परिणाम खोजेको बताए । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा भाषण धेरै भएकाले सिधै ‘एक्सन’ चाहिएकाले सरकारले त्यसतर्फ लाग्ने विश्वास व्यक्त गरे ।
मुलुकमा विद्यमान सबै प्रकारको बेथिती, विकृति अन्त्य गर्न कदम चाल्ने विश्वास व्यक्त गर्दै उनले भने, “सुरक्षा निकाय, प्रशासन, न्यायलय सबैतिर विकृति छ । प्रधानमन्त्रीलाई यी विषयमा जानकारी छ भन्ने उहाँको भनाइबाट स्पष्ट भएको छ । यो पटक जनताले जसरी भरोसा गरेका छन् । त्यसलाई कामबाट पुष्टि गरियोस् भन्ने नेपाली जनताको अपेक्षा छ । सरकारले परिणाम देखाउन शुरु गरोस् ।”
प्रतिपक्षबिनाको सदन हुँदैन : गच्छदार
नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रतिपक्षबिनाको संसद् हुन नसक्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलले समर्थन गर्न नसक्ने बताए । सरकारले अगाडि सार्ने आर्थिक समृद्धिको कार्ययोजनामा आफ्नो पार्टीले पूर्णरुपमा सहयोग र समर्थन गर्ने स्पष्ट पार्दै सदन प्रतिपक्षबिहीन रहन नसक्ने उनले बताए ।
सरकारले अगाडि सार्ने काम कारबाही हेरेर आफ्नो पार्टीले सहयोग, समर्थन एवं आलोचना र विरोध गर्ने भन्दै उनले प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गरे । संविधानले प्रत्याभूत गरेका र प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि काम हुन नहुने भन्दै उनले आफ्नो पार्टीले सदनमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकारप्रति जनताको भरोसा छ : नेपाल
नेकपा (एमाले) का नेता माधवकुमार नेपालले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनताको ठूलो आशा भरोसा जागेको बताए । प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि गर्नुभएको दृढ संकल्पले जनतामा नयाँ आशा जागेको बताए ।
मुलुकमा हालसम्म धेरै राजनीतिक द्वन्द्व र आन्दोलन मात्र भएकाले जनताले अब विकास र समृद्धिको चाहना गरेको उल्लेख गर्दै नेता नेपालले भने, “युवा वर्गमा राजनीतिप्रति वितृष्णा पैदा भएको छ, समाजमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, विभेद, बेरोजगारीलगायत समाजमा व्याप्त विकृति हटाउन सरकारको काँधमा नयाँ जिम्मेवारी आएको छ ।” जनताका आधारभूत आवश्यकता पूरा गर्ने कुरामा ध्यान दिनुपर्ने बताउँदै नेता नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन आग्रह गरे ।