नेपालगञ्ज र सुर्खेतमा १९० जना हुम्लीको बिचल्ली «

नेपालगञ्ज र सुर्खेतमा १९० जना हुम्लीको बिचल्ली

हुम्ला-नेपालगञ्ज र सुर्खेत विमानस्थल वरपरका होटलमा करिब १ सय ९० जना हुम्ली बिचल्लीमा परेका छन् । देशका विभिन्न स्थानबाट नेपालगञ्ज र सुर्खेतसम्म आएका  हुम्ली लक डाउनले विमानले उडान भर्न नसकेपछि बिचल्लीमा परेका हुन् । घर जान नपाएपछि नेपालगञ्ज विमानस्थल नजिकका होटलमा करिब १ सय २० जना र सुर्खेत विमानस्थल वरपरका होटलमा करिब ७० जना हुम्ली समस्यामा फसेका हुन् ।
होटलमा बस्नुपर्दा उनीहरु बेखर्ची समेत भएका छन् । सरकारले कोरोना भाइरस संक्रमण हुनबाट बच्नको लागि गएको ११ गतेबाट देशभर लक डाउन गर्दा होटलमा बस्दै आएका उनीहरु बेखर्ची परेपछि झनै समस्यामा परेका हुन् ।
होटेलमा प्रतिदिन ५ सय रुपैयाँ भाडा र खाना खर्च हुने गरेको पीडितहरुले बताएका छन् । उनीहरु संक्रमणबाट बच्नको लागि समेत गाह्रो भएको हुम्ला आउन लागेका शिव रावतले बताए । काठमाडौं लगायत अन्य शहरबाट नेपालगञ्ज र सुर्खेत विमानस्थलमा आफुहरु अलपत्र र बेखर्ची भएको उनले बताए । उनले भने, ‘नेपाल सरकारलाई आफुलाई घरपरिवारसँग मिलन गराउनको लागि अनुरोध गर्छु ।’

सीमित खर्चको भरमा घर फर्कन लागेका यात्री राँझा विमानस्थल नजिक रहेका विभिन्न होटेलमा २ दिनदेखि अस्तव्यस्त जीवन बिताउन बाध्य भएका नाम्खा गाउँपालिकाका टोजी तामाङ्गले टेलिफोनमा बताए । सीता एअरको विमानबाट काठमाडौंबाट सीधै सिमकोट उडान भर्नको लागि नेपालगञ्जमा आएको भएतापनि लक डाउनेले जहाजले उडान भर्न नसकेपछि बिचल्लीमा परेको उनले बताए । सुस्मा शाहीले आफूहरुसँग सीमित खर्च मात्रै रहेको बताइन् । उनले महँगो हवाई टिकट समेत पाउन नसक्दा बेलैमा घर पुग्न नसकेको बताइन् ।
काम विशेषले नेपालगञ्ज गएका शिक्षक धर्मानन्द लामा पनि होटेलमा बस्दा आफु जेलमा बसेको महसुस भएको बताउँछन् । होटेलको एक कोठामा निसास्सिएर बस्नु परेको उनले बताए । नेपालगञ्जबाट प्रति यात्री आन्तरिक हवाई उडान भर्ने कम्पनीले ११ हजार ५ सय रुपैयाँ र सुर्खेतबाट १० हजार ५ सय रुपैयाँका दरले हवाई भाडा लिने गरेका छन् । आफुसँग भएको हवाई भाडा समेत होटेलको वासले सकिएको कारण अब १८ गतेसम्म कसरी खानपान गर्ने समस्या भएको हिमा लामाले बताइन् । काठमाडौं फिर्ता हुनको लागि पनि समस्या र घर परिवारसँगको सम्पर्कमा जान पनि नपाउँदा असुरक्षित रहेको उनीहरुले बताएका छन् । यात्रीमा अधिकाँश विद्यालयमा अध्ययन गर्ने बालबालिका रहेको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्