जोखिम मोलेर बिरामी बोक्दै एम्बुलेन्स «

जोखिम मोलेर बिरामी बोक्दै एम्बुलेन्स

– एम्बुलेन्स चालकहरू जोखिम मोलेरै बिरामीलाई अस्पताल पु-याउन खटिएका छन् । शरीरलाई बाह्य संक्रमण हुन नदिने कुनै उपाय अपनाएका छैनन् ।- एम्बुलेन्स चालकहरू जोखिम मोलेरै बिरामीलाई अस्पताल पु-याउन खटिएका छन् । शरीरलाई बाह्य संक्रमण हुन नदिने कुनै उपाय अपनाएका छैनन् ।
भरतपुर, ११ चैतबिरामीलाई अस्पताल छिटो पु-याउन एम्बुलेन्सको प्रयोग बढी हुन्छ । कोरोना भाइरसले विश्वभर महामारीको रूप लिन थालेपछि सबै मुलुकले सतर्कता अपनाएका छन् । नेपालमा पनि लामो दूरीका गाडी चल्न छाडेका छन् । अधिकाँस अस्पतालमा अत्यावश्यक सेवाबाहेकका बहिरंग विभाग (ओपीडी) सेवा पनि बन्द छन् । इमरजेन्सी, अन्तरंग, ज्वरो क्लिनिक सेवा भने रोकिएका छैनन् । सर्वसाधारण पनि घरमै बस्न थालेका छन् । तर, एम्बुलेन्स चालकहरू जोखिम मोलेरै बिरामीलाई अस्पताल पु-याउन खटिएका छन् । संयुक्त एम्बुलेन्स चालक संघ (ट्रेड युनियन) नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले एम्बुलेन्स चालक सुरक्षित नभएको दुःखेसो पोख्छन् । “बिरामीलाई अस्पताल पु-याउने हामी नै असुरक्षित छौं,” उनले भने, “पूरै शरीर ढाक्ने सुरक्षित कपडा ‘पीपीई’ नै छैन ।
” पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पीपीई) ले शरीरलाई बाह्य संक्रमण हुनबाट जोगाउँछ । “फोनकै भरमा एम्बुलेन्स लिएर बिरामी लिन जानुपर्छ,” उनले भने, “चालकलाई सुरक्षित बनाउनसम्म चासो दिइएको नपाउँदा दुःखी छौं ।” उनले स्वास्थ्य मन्त्रालय, स्थानीय सरकार, स्थानीय प्रशासनमा सुरक्षाको माग गरे पनि सुनवाइ नभएको बताउँछन् । “मास्क, स्यानिटाइजरसमेत सजिलै नपाएको अवस्था छ,” उनले भने, “एम्बुलेन्स र चालकलाई सुरक्षित गर्ने योजना बनाउन ढिलाइ गर्नु हुँदैन ।”चितवनमा करिब १ सय एम्बुलेन्स छन् । जसमध्ये २२ वटा रेडक्रस मातहतका छन् । चितवनमा ख श्रेणीका २ र अन्य सबै ग श्रेणीका एम्बुलेन्स छन् । पछिल्लो साता दैनिक करिब २० वटा एम्बुलेन्स जिल्लाका अस्पतालबाट ‘डिस्चार्ज’ भएका बिरामी बोकेर बाहिरी जिल्ला पुगेका छन् । कोरोना भाइरसको त्रासले सामान्य बिरामी सकेसम्म अस्पताल जान डराउन थालेका छन् । जसका कारण एम्बुलेन्स कम चलेका छन् ।
“महामारीका बेला हामी घरमा थन्किन चाहदैनौँ,” संयुक्त एम्बुलेन्स चालक संघ नेपाल चितवनका सचिव बाबुराम शर्माले भने, “तर हाम्रो ‘सेफ्टी’ भएन, चाहेर पनि सजिलै ‘पीपीई’ पाउने अवस्था छैन ।” उनले चालकलाई सुरक्षित नगराउँदा बिरामी झनै जोखिममा पर्ने बताए । नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री हरिप्रसाद पौडेलले ‘पीपीई’को अभाव रहेको बताउँछन् । “मास्क, स्यानिटाइजरको समस्या थेगेका छौं, तर, चालकलाई पीपीई उपलब्ध गराउन सकेका छैनौं,” उनले भने, “बेलाबखत हात धुन, बिरामीलाई नछुन, सुरक्षित बन्न सुझाउँदै आएका छौँ ।” स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले पीपीईको विकल्पमा अन्य सुरक्षाका उपाय अपनाउन सिकाइएको बताए । “शरीर पूरै ढाक्ने गरी रेनकोट, विनसिटर लगाउनु, टाउको पनि छोप्नु, हातमा ग्लोब्स लगाउनु, मास्क नछुटाउनु भनेका छौँ,” उनले भने, “बिरामीलाई अस्पतालमा लगेपछि लगाएका सबै कपडा धोएर ३ घण्टा बढी घाममा सुकाउनु, एम्बुलेन्समा इथानल स्प्रे छर्नु, सरफ साबुन पानीले धुनु भनेका छौं ।” सोमबार स्वास्थ्य कार्यालयमा करिब २० जना एम्बुलेन्स चालकलाई कोरोना भाइरसबाट बच्ने उपायबारे छलफल गरिएको थियो । “बिरामी कुरुवा एकजना बढी नचढाउनुस्, संक्रमण हुनबाट सजग हुनुस्,” उनले भने ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सबै एम्बुलेन्सलाई पीपीई पु-याउन नसकिएको बताए । “सुरक्षाका अन्य उपाय अपनाउनु, हामी पनि पहल गर्दैछौं,” उनले भने, “माग बढी भएकाले चुनौती छ ।”मौका छोपेर एम्बुलेन्सले बिरामीबाट बढी शुल्क लिने सम्भावना उत्तिकै छ । जिल्लास्तरीय एम्बुलेन्स व्यवस्थापन समितिले शुल्कबारे चासो लिएको छ । प्रमुख जिल्ला अधिकारी भट्टराईले बढी शुल्क लिइएको पाइए कारबाही हुने बताए । “तोकिएको दररेटभन्दा बढी शुल्क लिएमा कारबाही हुन्छ,” उनले भने, “जुन स्थानीय तहका लागि सेवा गर्न इजाजत दिएको हो, त्यहाँ नरहे पनि कारबाही हुन्छ ।” प्रतिकिमि ४० रुपैयाँ शुल्क लिन पाउने व्यवस्था छ । “विपदका बेला सेवा प्रभावकारी बनाउनुपर्छ,” उनले भने, “ठगेको भेटे कारबाही हुन्छ ।” स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले स्थानीय तहसँग समन्वय गरेर अनुगमन तथा निगरानी बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्