बाँकेमा ‘लकडाउन’ प्रभावकारी

नेपालगन्ज-नेपालगन्ज-सरकारले कोरोना भाइरसको जोखिम रोक्न मंगलबारदेखि देशैभरि लकडाउन गरेको छ । लकडाउनको समयमा सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्धसमेत लगाएको छ । यसैक्रममा नेपालगन्जमा बिहानैदेखि सार्वजनिक तथा निजी सवारीसाधन चलेका छैनन् । सरकारले घरभित्रै सेल्फ क्वारेन्टाइनमा बस्नु भनेपछि फाट्टफुट्ट बाहेक सडकमा मानिसहरू खासै देखिएका छैनन् । बिहान निस्किएका कतिपय मानिसलाई प्रहरीले सोधपुछ पछि सम्झाएर घर फर्काएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अनुमति प्राप्त र सुरक्षा निकायबाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकको निस्कर्षका आधारमा अर्को सूचना नभएसम्म कुनै पनि सवारीसाधन सञ्चालन नगर्न र घरबाट बाहिर नआउन बाँके जिल्ला बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । सरकारले लागू गरेको नियमको उल्लंघन गर्ने क्रम बढेपछि अनावश्यक हिँडडुल र सवारी साधन सञ्चालनमा रोक लगाउन स्थानीय प्रशासनले कडाइ गरेको हो ।
भारतबाट फर्किएका ३९ जना नेपाली क्वारेन्टाइनमा भारतका विभिन्न राज्यबाट घर फर्किन थालेका ३९ नेपाली जमुनाह नाकामा बिहानैदेखि अलपत्र परेका थिए । कोरोना भाइरसको त्रासका बीच समयमै सूचना नपाएर सीमामा अलपत्र परेका तीन बालबालिका र ७ महिलासहित ३९ नेपालीलाई उद्दार गरी महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा ल्याउने तयारी थालिएको छ । उनीहरूले तीन दिनमा नेपाल सीमा पुगेको र तीन दिनदेखि खाना पनि खान नपाएको बताएका छन् । मंगलबार बिहान ३ बजे जमुनाहा नाकामा पुगेको बताउने सुर्खेत गुर्भाकोट–४ का खिमबहादुर ओलीले आफ्नै देशको सीमामा अलपत्र पर्दा पनि बेवास्ता गरिएको दुःखेसो पोखे । “यस्तो आपतकालीन अवस्थामा हामी अलपत्र छौं,” उनले भने, “राज्यले हामीलाई नियमअनुसार घर फर्किने वातावरण मिलाउनुपर्छ ।”सरकारले सीमामा सूचना नपाएरै अलपत्र परेका नागरिकहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने बताएपछि उनीहरूलाई नेपालन्ञ्जमा अस्थायी क्वारेन्टाइनमा ल्याउने तयारी थालिएको छ । त्यस्तै मंगलबारदेखि देशभर लकडाउन हुँदा विमान नउडेपछि बाँकेबाट घर हिँडेका डोल्पाबासी नेपालगन्ज विमानस्थलमा अलपत्र परेका छन् । सरकारले मंगलबारदेखि देशभर ‘लकडाउन’ गरेपछि वृद्धवृद्धा, सुत्केरी, विद्यार्थी र सर्वसाधारण विमानस्थलमै रोकिएका हुन् ।डोल्पाका लागि मंगलबार उडान तालिका रहेको जहाज नउडेपछि टिकट लिएका करिब ५० जना यात्रु नेपालगन्ज विमानस्थलमा अलपत्र परेका हुन् । टिकट लिएर पनि जहाज नउडेपछि आफूहरू अलपत्र परेको यात्रुहरूले बताएका छन् ।