‘एड्भान्स फोरजी’को तयारीमा जुट्यो टेलिकम

दूरसञ्चार क्षेत्रको पछिल्लो प्रविधि फोरजी सेवा सुरु गरेको १४ महिनासम्म दुई सहरमा सीमित नेपाल टेलिकम अब भने यसलाई अझ रुपान्तरण गर्दै ‘एड्भान्स फोरजी’ सञ्चालनको तयारीमा जुटेको छ । नेपालमा हाल उपलब्ध फोरजीभन्दा निकै गुणस्तरीय सेवासहित आक्रामक बजारीरकण सुरु गर्ने टेलिकमको योजना छ ।
टेलिकमले कम्पनी र ग्राहक दुवैको रूपान्तरण हुने गरी एडभान्स फोरजी सेवा विस्तार गर्ने जनाएको छ । लामो समयको पर्खाइपछि देशभर एकैपटक विस्तार गर्ने लक्ष्यसहित एड्भान्स फोरजीमा टेलिकम जुटेको हो । अब टेलिकमले फोरजी सेवा विस्तार गर्दा जहाँ कुनै पनि सेवा पुगेको छैन, त्यस्तो ठाउँमा सिधैं एड्भान्स फोरजी सेवा विस्तार गर्नेछ ।
टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले अहिलेसम्म नेपालमा भएको फोरजीभन्दा नयाँ प्रविधि भएको र डाटा तथा भ्वाइसमा उच्च गुणस्तरको सेवा दिनसक्ने गरी फोरजी सेवा ल्याउन लागिएको जानकारी दिइन् । “भ्वाइस ओभर लङ टर्म इभोलुन ‘भीओएलटीई’मा हामीले जोड दिएका छौं, यो सेवा सहरमामात्रै होइन, गाउँमा कुनाकाप्चामा एकैपटक पुग्छौं, जहाँ अरु कुनै सेवा पुगेको छैन,” राजभण्डारीले भनिन्, “गुणस्तरका लागि हामीले कुनै कुरामा सम्झौता गर्ने छैनौं, बीटीएस टावरबाट कभरेज दिन नसकेको नयाँ प्रविधि अपनाएर भए पनि कुनै ठाउँ फोरजी पुग्नबाट बञ्चित हुनेछैन ।” हिजोका दिनमा कम्पनीमाथि गुणस्तरमा जति नै प्रश्न गरिए पनि अब दिने सेवामा सक्दो ग्राहकको माग र नयाँ प्रविधिलाई सम्बोधन गरेर अगाडि बढ्ने उनले बताइन् । टेलिकमले यो परियोजनाका लागि अर्बाैं रुपैयाँ लगानी गर्दैछ ।
क्वालिटी, कभरेज र नयाँ प्रविधिलाई सम्बोधन गरेर फोरजी सेवा आउँदैछ । देशभर एकैसाथ सेवा दिने त्यसमा पनि अति दुर्गमदेखि पिछडिएको वर्गसम्म फोरजी सेवा कम्पनीले पुर्याउनेछ । सरकारको कम्पनी भएकोले नाफा हुने क्षेत्रमामात्र नभएर गाउँगाउँ र दुर्गम क्षेत्रमा पुग्नु कम्पनीको दायित्व हो । “अहिले बजारमा टेलिकमको फोरजी आउनसाथ हामी छायाँमा पर्छौं कि भन्ने कसैलाई हुनसक्छ, तर हामी ग्राहकमाझ छु्ट्टै तरिकाले सेवा दिन र मन जित्न चाहान्छौं,” प्रबन्ध निर्देशक राजभण्डारीले भनिन् ।
टेलिकमको फोरजी बजारमा ल्याउन नदिन अनेक षडयन्त्र भइरहेको र त्यसमा आफूले कडा रूपमा जुध्नुपरेको उनको अनुभव छ । कति रकमको परियोजनाभन्दा पनि कति जनमानसमा कस्तो सेवा दिने भन्नेमा आफ्नो ध्यान केन्द्रित भएको उनले बताइन् । कम्पनीले दिन लागेको फोरजी १० वर्षसम्म जान सक्छ । टेलिकमका ग्राहकले टूजी थ्रीजी र फोरजी ग्राहकले जुनसुकै लिन सक्छन् । फोरजी लिँदा भ्वाइस र डाटा दुवै लिन सकिन्छ । थ्रीजी लिँदा थ्रीजीको सेवा दिन सकिन्छ । ग्राहकलाई ‘अप्टिमम च्वाइस’ दिनेगरी काम अगाडि बढाएको छ । यतिमात्र होइन टेलिकमको फोरजी अब सहरमा मात्रै केन्द्रित नभएर देशको जनुसुकै कुनामा पुर्या उने लक्ष्य छ । फोरजी परियोजनाले कम्पनीलाई ‘ट्रान्सफरमेसन’ नै गराउँछ भन्नेमा प्रबन्ध निर्देशक राजभण्डारी विश्वस्त छन् । भ्वाइस डाटामात्र नभएर फिक्स नेटवर्कलाई पनि कन्भर्ज अर्थात फिक्स्ड मोबाइल कम्भर्जेन्स गराउन सक्छ । “अहिले मोबाइल केवल मोबाइल मात्रै छ, तर यो नयाँ फोरजी आइसेपछि मोवाइललाई ल्याण्डलाइनमा पनि स्वीच गर्न सकिन्छ,” उनले भने । त्यसपछि महँगो तथा सस्तो आफ्नो आवश्यकताअनुसारका सुविधा लिन सकिने गरी फोरजी सेवा कम्पनीले ल्याउनेछ ।
फोरजी सेवाका लागि कम्पनीले एकैपटक एउटा कोर र दुइवटा नेटवर्क गरी तीनवटा बोलपत्र आह्वान गरेको थियो । समूह एकमा मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल र समूह दुईमा यसबाहेक सवै ठाउँमा नेटवर्क विस्तार गर्नुपर्नेगरी बोलपत्र आह्वान भएको हो । अहिले यी बोलपत्र मूल्याङ्कनको चरणमा छन् । चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल, जेडटीई कर्पाेरेसन चीन, म्यावेनियर सिंगापुर, हुवावे टेक्नोलजिज् चीन बोलपत्रमा सहभागी भएका छन् । सम्झौता भएको एक वर्षभित्र ग्राहकले सेवा लिन सक्नेछन् भने सवै प्रदेशमा कम्पनीले एकैसाथ सेवा विस्तार गर्नेछ ।