रुकुम पश्चिममा छैन कोरोना उपचार सामग्री «

रुकुम पश्चिममा छैन कोरोना उपचार सामग्री

रुकुम पश्चिमका स्वास्थ्य संस्थामा एक सेट पनि कोरोना उपचार तथा चेकजाँचका लागि प्रयोग गरिने सामग्री नभएको पाइएको छ । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा समेत एक सेट पनि सामग्री नभएपछि जिल्लाका अन्य स्थानीय स्वास्थ्थ संस्थाहरुको अवस्था भने निकै समस्यापूर्ण छ ।
कोरोना भाइरस लागेका बिरामीलाई चेकजाँच तथा उपचार गर्ने आफूहरुसँग एक सेट पनि सामग्री नभएको जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमका डा. राजकुमार भुजेलले बताए । “हामीसँग चिकित्सकका लागि आवश्यक प्रोटेक्टेट कपडा, मास्क लगायतका अन्य कुनै पनि सामग्री छैन । अहिलेको अवस्थामा हामी कोरोनाको कुनै बिरामीको उपचार तथा चेकजाँच गर्नसक्ने अवस्थामा छैनौं,” उनले भने, “हाम्रो अस्पतालको च्यानल र जिल्ला प्रशासन दुबैको च्यानलबाट आवश्यक सामग्री माग गरिएको छ तर अहिलेसम्म आएको छैन ।”
अस्पतालमा आफूहरुसँग आवश्यक सामग्री नभएकै कारण कोरनाको लक्षण देखिएका एक बिरामीलाई चेकजाँच तथा उपचार गर्न अस्पताल सक्षम नभएको पनि उनको भनाइ छ । “एकजना कोरोनाको लक्षण देखिएका बिरामी निजी अस्पतालमा आउनुभएको छ तर के गर्ने उहाँलाई उपचार तथा चेकजाँच गर्नसक्ने हामीसंँग कुनै पनि सामग्री छैन।” उनले भने, “कोरोनाको लक्षण भएका बिरामीहरु अस्पतालमा आउने क्रम बढे स्वास्थ्यकर्मीहरु भागाभाग हुने अवस्था आउन सक्छ ।”
उता प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको लागि आवश्यक सामग्री केन्द्र सरकारसँग यसअघि नै माग भैरहेको र छिटै जिल्लामा आउने बताए । “चेकजाँच तथा उपचारका लागि आवश्यक सामग्रीहरु ठूलो मात्रामा केन्द्र सरकारलाई माग गरेका छौं । अबको एक दुई दिनभित्रै आउँछ,” प्रजिअ पौड्यालले भने । तर स्वास्थ्यकर्मीहरुले भने आफूहरुको लागि आवश्यक प्रोटेक्टेट सामग्री जिल्लामा नभएका कारण जोखिम मोलेर काम गर्न नसक्ने सामाजिक संजालहरु मार्फत प्रतिक्रिया दिएका छन । आवश्यक सामाग्री बिनै उपचार गर्न लगाएर सरकारले नांगो बिजुलीको तारमा छुन लगाएसरह भएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्