पीपीई अभाव हुँदैन : स्वास्थ्यमन्त्री ढकाल «

पीपीई अभाव हुँदैन : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रण गर्नका लागि नेपालमा भएका सामग्री सङ्कलन गरिएको बताएका छन् । उनले मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, “यहाँ भएका सामग्री खोज्ने क्रममा रहेका छौँ । कहाँ कहाँ छन् खोजिरहेका छौँ । पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) पोशाक केही प्राप्त भएका छन् ।”
उनले कोभिड–१९ को उपचार गर्दा प्रयोग हुने पोशाक (पीपीई) दैनिक ३०० समेत उत्पादन गरिरहेको जानकारी दिए । मन्त्री ढकालले नेपालमा नै पीपीई उत्पादन हुने भएकाले अभाव नरहने स्पष्ट पारे ।
उनले सातवटै प्रदेशमा कोभिड–१९ को उपचार गर्नका लागि ५० का दरले पीपीई पठाइएको समेत जानकारी दिए । मन्त्रालयले यसअघि बरामद गरिएको मास्क प्रत्येक प्रदेशमा ५० हजारका दरले पठाएको थियो ।
मन्त्री ढकालले लकडाउनका कारणले उपत्यकाभन्दा बाहिर कोभिड–१९ को नमूना परीक्षण गराउने काम समेत भएको बताए । उनका अनुसार विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा तत्कालका लागि सामग्री उपलब्ध गराएर प्रयोगशालालाई सक्रिय बनाई नमूना परीक्षण गरिने छ । परीक्षण गरिएको रिपोर्ट त्यहीँ दिइने व्यवस्था समेत गरिएको उनले बताए ।
सम्बन्धित ठाउँमा आशङ्का गरिएका व्यक्तिको नमूना परीक्षण काठमाडौँ ल्याउनका लागि आन्तरिक उडान र स्थलमार्ग बन्द भएकाले सयन्त्र बनाई वैकल्पिक उपायसमेत अवलम्बन गरिने उनको भनाइ रहेको थियो । “खकार परीक्षण गर्नका लागि बन्द भएको कारणले अप्ठ्यारो भएको छ । प्रत्येक दिन कसरी ल्याउने भन्नेमा लागिपरेको छौँ,” उनले भने ।
मन्त्री ढकालले बाहिर मुलुकबाट औषधि र उपकरण ल्याउनका लागि सरकारी, कुटनीतिक र बाह्य क्षेत्रबाट पहल जारी राखेको उल्लेख गर्दै चीन र भारतलाई पहिलो प्राथमिकतामा राखेर सामग्री ल्याइने जानकारी दिए । मन्त्री ढकालले कोभिड–१९ डेडिकेटेडको मात्र अस्पताल भनेर निर्णय गरिएको बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालको प्राविधिक रुपमा काम समेत गरिएको जानकारी दिए ।
यसैगरी सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रण गर्नका अस्पतालसँग समन्वय गर्नका लागि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको संयोजकत्वमा सात सदस्यीय कमिटी गठन गरेको छ ।
समितिको सदस्यमा डा गुणराज लोहनी, नेपाल मेडिकल काउन्सिलको अध्यक्ष डा भगवान कोइराला, नेपाल मेडिकल एसोसिएसनको अध्यक्ष डा लोचन कार्की नेपाल नर्सिङ् सङ्घको अध्यक्ष डा मनकुमारी राई, निजी मेडिकल कलेजका अध्यक्ष वसुरिद्धिन अन्सारी र निजी अस्पताल सङ्घका अध्यक्ष वसन्त चौधरी छन् ।
मन्त्री ढकालले निजी अस्पतालले कोरोना भाइरस नियन्त्रण र रोकथामको महाअभियान सरकारलाई सहयोग गर्ने बताए ।

 
मिडिया सेन्टर स्थापना
स्वास्थ्य तथा जनंख्या मन्त्रालयले कोरोना कोभिड–१९ सँंग सम्बन्धित सूचना एकद्धार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ ।
सवै सञ्चारमाध्यमलाई एकद्धार प्रणालीबाट सूचना प्रवाह गर्न मन्त्रालयमा नै मिडिया सेन्टर स्थापना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहाकार डा. खेम कार्कीले जानकारी दिए । मिडिया सेन्टरमा हरेक दिन कोभिड–१९ सँग सम्बन्धित सूचनाबारे जानकारी दिन अवाश्यकताअनुसार पत्रकार सम्मेलन गरिने र सामाजिक सञ्जाल मार्फतसमेत सूचना सम्प्रेषण गरिने जनाइएको छ ।
मिडिया सेन्टरबाट कोभिड–१९ सँग सम्बन्धित चिकित्सक समेत उपस्थित हुने भएकोले सञ्चारकर्मीले ति चिकित्सकसँग आफूलाई आवश्यक सूचनासमेत प्राप्त गर्न सहज हुने छ । त्यस्तै फेसवुक र ट्विटरबाट कोभिड–१९ सँग सम्बन्धित मन्त्रालयले गरेको गतिविधिसमेत जानकारी गराइने मन्त्रीका सल्लाहकार डा. कार्कीले जानकारी दिए । यसैगरी मन्त्रालयले कोभिड–१९ बारे जानकारी दिनका लागि छुट्टै वेबसाइट र मोवाइल एपसमेत बनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्