साना सवारीको आधा बिक्री घट्यो

वाणिज्य बैंकहरूमा तरलता अभावको असर अटो बजारमा परेको छ । लगानीयोग्य पुँजी अभावले उत्पादनशील क्षेत्रमात्र नभइ सरकारले अनुत्पादक मानेको सवारीसाधन कर्जा समेत खुम्चिँदा यसको व्यापार खस्किएको छ ।
अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको सात महिनामा कार-जीप-भ्यानको दर्ता उल्लेख्य रूपमा घटेको छ । गत वर्षको ६ महिनामा देशभर १४ हजार ४६ वटा कार-जीप-भ्यान दर्ताकोमा यो वर्षको ७ महिनासम्ममा जम्मा ७ हजार ५ सय ७५ मात्र सवारीसाधन बिक्री भएका छन् ।
आर्थिक वर्ष २०७४-७५ को सात महिनामा देशभर २ लाख १६ हजार ९ सय ८६ वटा सवारीसाधन दताए भएका छन् । गत वर्षको ६ महिनाको अवधिमा २ लाख ११ हजार ९ सय ६९ सवारी दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांकमा उल्लेख छ । चालू आवमा सवारीसाधनको दर्ता काम भएको देखिन्छ । गत वर्षको ६ महिनामा दर्ता भएका सवारीको संख्या यो वर्षको ७ महिनामा करिब समानजस्तै देखिएको छ ।
विभागका महानिर्देशक रूपनारायण भट्टराईका अनुसार चालू आवको सात महिनामा देशभरका यातायात कार्यालयमा २ लाख १६ हजार ९ सय ८६ वटा सवारी दर्ता भएका छन् । जबकि गत आवको ६ महिनामै २ लाख ११ हजार ९ सय ६९ सवारी दर्ता भएको थियो । चालू आवको सात महिनामा थपिएका सावरीको संख्या गत आवमा भित्रिएका कुल सवारीको ४८ प्रतिशत हो । गत आवमा देशभर ४ लाख ४४ हजार २ सय ५९ सवारी दर्ता भएका थिए ।
यसैगरी, गत आवको ६ महिनामा भने आव २०७२-७३ मा दर्ता भएका सवारीको ३८ प्रतिशत सवारी थपिएका थिए । नेपालमा कार, जिप, भ्यान, बस, पिकअप, ट्रक, क्रेन, डोजर, एस्काभेटर, माइक्रो बस, टेम्पो, ट्र्याक्टर, ई–रिक्सालगायत गाडी आयात हुन्छन् । हरेक वर्ष दर्ता हुने सवारीसानमा मोटरसाइकलको संख्या धेरै हुने गरेको छ । आव २०७४-७५ को सात महिनामा १ लाख ७७ हजार ६ सय ३० वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएको छ । यो संख्या कुल दर्ता भएका सवारी मध्ये ८१ प्रतिशत हो । तर, गत आवको ६ महिनामै १ लाख ६३ हजार दुई ५५ वटा मोटरसाइकल दर्ता भएको थियो ।
सार्वजनिक सवारीप्रति उपभोक्ताको विश्वास कम भएका कारण मोटरसाइकलमा आम मानिसको मोह बढेको हो । सार्वजनिक सवारीको विश्वसनीयता केही कम हुँदा समयमा नै गन्तव्य पुग्नका लागि सहज हुने भएकाले मोटरसाइकल प्रयोगकर्ता बढेको महानिर्देशक भट्टराई बताउँछन् ।
यो वर्षको ७ महिनामा जम्मा ७ हजार ५ सय ७५ सयवटा मात्र कार-जीप-भ्यान दर्ता भएका छन् । तर गत आवको ६ महिनामै १४ हजार ४६ कार-जीप-भ्यान दर्ता भएका थियो । सार्वजनिक यातायातका रूपमा प्रयोग हुने बस ७ महिनामा १७ सय १२ वटा मात्रै दर्ता भएको छ । बस दर्ताको संख्यामा पनि गिरावट आएको छ । गत आवको ६ महिनामै २७ सय ६१ बस दर्ता भएका थिए ।
चालू आवको ७ महिनामा देशभर ९ सय ३४ मिनीबस तथा ट्रक, डोजर, क्रेन, एस्काभेटर, ट्रक ३ हजार ९ सय ३० वटा दर्ता भएको विभागको तथ्यांकमा छ । सात महिनामै अवधिमा ४ सय ८७ माइक्रो, ४ हजार ९१ वटा पिकअप, ८ हजार ९ सय ६० वटा टेम्पो, ५ हजार ६ सय ३२ वटा ट्रेकटर पावरटेलर दर्ता भएका छन् । त्यस्तै ५ हजार ८ सय ९७ वटा ई–रिक्सा र १ सय ३८ अन्य सवारीसाधन दर्ता भएका हुन् ।