काठमाडौंमा सार्क उद्यमी सम्मेलन

नेपालमा समृद्धिका लागि वैदेशिक लगानीको पक्षमा बहस भइरहेका बेला सार्क चेम्बर अफ कमर्सले यस क्षेत्रका उद्यमीहरूको वृहत् सम्मेलन (सार्क बिजनेस लिडर्स कनक्लेभ) गर्ने भएको छ । आउँदो शुक्रबारदेखि हुने सम्मेनलमा यस क्षेत्रका २ सयभन्दा बढी उद्यमी व्यवसायीले सहभागिता जनाउने छन् । तीन दिनसम्म चल्ने सार्क बिजनेस लिडर्स कनक्लेभको यो छैटौं संस्करण हो ।
सार्क चेम्बरका अध्यक्ष सुरज वैद्यका अनुसार सम्मेलनले राजनीतिक विवादका बीचमा पनि यस क्षेत्रमा कसरी आर्थिक सहकार्य गर्ने तथा सीमापार व्यापारलाई सहजीकरण गर्ने भन्ने सम्बन्धमा वृहत् छलफल गर्नेछ । “धेरैले सार्क असफल भयो भन्ने गरेका छन् तर सार्ककको औचित्य सकिएको हैन, झनै बढेको छ,” अध्यक्ष वैद्यले आइतबार राजधानीमा आयोजित समारोहमा भने, “सार्क क्षेत्रको बजार संसारकै लागि आकर्षक छ भने हामीले पनि यहीबेलामा यसलाई ‘क्यास’ गर्नु जरुरी छ ।”
सम्मेलनमा सार्क क्षेत्रको साझा समृद्धि, सार्क मुलुकमा व्यापार र लगानी प्रवद्र्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थव्यवस्थामा सार्कको भूमिका, उर्जा र सहकारी क्षेत्रमा सार्कमा भएको सफलता र आगामी कार्यदिशालगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने दोस्रो दिन विभिन्न सातवटा विषयमा समानान्तर प्यानल छलफल हुनेछ । यस्तै, तेस्रो दिन पाँचवटा विषयमा प्यानल छलफल गर्ने कार्यक्रम छ ।
सार्क चेम्बरका उपाध्यक्ष ओम राजभण्डारीका अनुसार अन्तिम सत्रमा सार्क देशहरूका वाणिज्य मन्त्रीहरू सम्मिलित छलफल कार्यक्रम छ । सम्मेलनमा ५० जना प्रतिष्ठित वक्ताहरूले सहभागिता सुनिश्चित भएको र २ सय प्रतिनिधिको सहभागिता सुनिश्चित भएको छ । “सम्मेलनमा निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्वहरू तथा सञ्चारमाध्यमको सहभागिता हुनेछ,” राजभण्डारीले भने ।
यसअघि सन् २०११ मा पनि नेपालमा यो सम्मेलन आयोजना भएको थियो । २०१८ मा गर्न थालिएको सम्मेलन यसअघि पाकिस्तानमा राखिए पनि त्यहाँ नहुने भएपछि अध्यक्ष वैद्यको पहलमा नेपालमा हुने भएको हो । अध्यक्ष वैद्यले यो सम्मेलनको नेपालले भरपुर फाइदा उठाउनुपर्ने बताए । उनले सार्क क्षेत्रका सर्वसाधरण र व्यावसायिहरूले सार्कको सर्वोच्च संस्थारूपमा रहेको सार्क चेम्बरबाट धेरै आश गरे पनि राजनीतिक किचलोको कारण सोहीअनुसार काम हुन नसकेको बताए ।
कार्यक्रममा वैद्यले आफू अध्यक्ष भएपछि यसअघि सार्कस्तरीय बैठक हुन नसके पनि अफगानिस्तानलगायतका देशका बैठक गरिएको, सार्क चेम्बरको आयोजनामा परराष्ट्रमन्त्रीहरूसँग बैठक गरिएको विवरण सुनाए । विश्वमा सबैभन्दा ठूलो सम्भावना भएको बजार दक्षिण एसिया भएको भन्दै वैद्यले अबको १०÷१२ वर्ष सार्क क्षेत्रमा लागि विस्तारको लागि उपयुक्त र स्वर्णीम समय हुने बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति तथा उद्योग मन्त्रालयका सहसचिव रविशंकर सैजुले यो सम्मेलन नेपालको परिवर्तित अवस्था र नीति नियमको विषयमा जानकारी गराउनु सहयोग पुग्ने बताए । उनले निजी क्षत्रले गर्ने हरेक क्रियाकलापमा सरकारको सहयोग रहने बताए ।