विराटनगर लकडाउन «

विराटनगर लकडाउन

विराटनगर-प्रदेश राजधानी रहेको विराटनगरलाई मंगलबारदेखि अनिश्चितकालीन लकडाउन गरिने भएको छ ।
महानगरपालिकाको बैठकले कोरोनाको जोखिम न्यूनीकरणका लागि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरी उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग छलफल गरेर महानगरले लकडाउन घोषणा गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमणबाट सतर्क रहने क्रममा महानगरपालिकाले मंगलबारदेखि अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि लकडाउनको घोषणा गरेको हो । मेयर भीम पराजुलीले अत्यावश्यकबाहेकका सबै क्षेत्र बन्द गर्ने निर्णय गरेको जानकारी दिए । सरकारले घरबाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरे पनि बजारमा चहलपहल घटेको छैन । “बजारमा चहलपहल नघटेपछि महानगरले बाध्य भएर लकडाउनको घोषणा गर्नुपरेको हो,” पराजुलीले भने । यसक्रममा बजार क्षेत्रदेखि चौकसम्म महानगरले सूक्ष्म निगरानी गर्ने र पसल बन्द गराउनेछ । मेयर पराजुलीले औषधि उपचार, दूध, पानी, सरसफाई, खाद्यन्नलगायतका पसललाई भने बन्द नगरिने बताए ।
पराजुलीले यस परिस्थितिमा नगरवासीले घरभित्रै रहेर आफ्ना कार्य गर्न आग्रह गरे । मेयर पराजुलीले नयाँ मानिस वडामा देखिएको खण्डमा बुझेर तत्काल वडाका पदाधिकारीलाई जानकारी गराउन अपिलसमेत गरे । सर्वसाधारणको सहजताका लागि महानगरले स्वास्थ्य महाशाखाका तीनजनालाई फोकल पर्सनका रुपमा तोकेको छ । नगरभित्र केही समस्या परेको खण्डमा नजिकैको वडा कार्यालयका पदाधिकारीसँग समन्वय गर्न महानगरले आग्रह गरेको छ ।
महानगरभित्र मंगलबारदेखि नै उद्योग, कलकारखाना र पसल बन्द गर्ने, सवारी साधन नचलाइने निर्णय भएको छ । ‘‘तर, अस्पताल जानु परेमा वा मरिमराउ भए यातायातका साधन प्रयोग गर्न सकिनेछ’’, पराजुलीले भने, ‘‘तर, यसो सहरतिर टहलिन्छु मोटरसाइकलमा विराटनगर घुम्छु भन्न पाइन्न ।’’ पराजुलीले संकटको यो बेलामा गरिएको लकडाउन जनताले जनताकै लागि गरेको दाबी गरे । यस्तै सुनसरीको धरान उपमहानगरपालिकाले पनि लकडाउनको घोषणा गरेको छ । मंगलबारदेखि चैत २१ गतेसम्म लकडाउन हुनेछ ।
यसैबीच मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र विराट व्यापार संघले विज्ञप्ति प्रकाशित गरी अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्न सरकारले गरेको निर्णयको समर्थन गरेको जनाएका छन् । संगठनका अध्यक्ष भीम पराजुली, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र विराट व्यापार संघका अध्यक्ष सुजन थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले गरेको निर्णयको परिपालना गर्न, गराउन उद्योगी, व्यवसायी तथा सदस्य प्रतिष्ठानहरूलाई आग्रह पनि गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्