गोकुलेश्वर विमानस्थल चौबीस वर्षदेखि बन्द

गाकुलेश्वर विमानस्थल २४ वर्षदेखि बन्द अवस्थामा छ । हाल यहाँको धावन मार्गमा राजनीतिक दलका सभा सञ्चालन हुने गर्छन् । धावन मार्गमा बनाइएको मञ्चबाट प्रत्येक नेताले विमानस्थल आफ्नै पालामा सञ्चालन गर्ने भाषण दिन्छन्, कार्यकर्ता ताली बजाउँछन् ।
विसं २०४८ देखि २०७४ सालसम्म दार्चुलाबाट निर्वाचन जित्ने र हार्ने कुनै पनि नेताले गोकुलेश्वर विमानस्थल सञ्चालन हुँदैन भनेका छैनन् । उनीहरुले जसरी पनि सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन् । विडम्बना, छिमेकी जिल्ला बैतडीको पाटनमा रहेको विमानस्थल कालोपत्र हुँदा गोकुलेश्वर विमानस्थलमा गाईवस्तु चरिरहेका छन् । विमानस्थलको सुरक्षाका लागि करिब २७ वर्षदेखि खटिँदैआएका कार्यालय सहयोगी रामदत्त विष्ट यी सबै कुरा हरेर बसिरहेका छन् ।
दार्चुलाबाट निर्वाचित दिलेन्द्रप्रसाद बडू, प्रेमसिंह धामी, लक्ष्मीदत्त जोशी र गणेशसिंह ठगुन्नाले विमानस्थलमै आयोजना गरिएको आमसभामा विमानस्थल सञ्चालन गर्ने भाषण गरे । मतदाताले उनीहरुलाई विश्वास गरे । विमानस्थल सञ्चालन हुन्छ र जिल्लाको पर्यटन, व्यापार र भौतिक निर्माणको क्षेत्रमा परिवर्तन हुन्छ भन्ने आशा थियो तर विमानस्थल सञ्चालनमा आएन ।
तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टले टुइनेटर विमान अवतरण नै गराएर विमानस्थल सञ्चालनमा ल्याउने वाचा गरे । एउटा टोली अध्ययनका लागि आयो, तर विमानस्थल सञ्चालन भएन ।