संरक्षित वन्यजन्तुको सिकार गर्ने चारजना पक्राउ

हेटौंडा-संरक्षित वन्यजन्तु सूचीमा रहेको गौरीगाईको सिकार गरी मासु भाग लगाउँदै गरेको अवस्थामा मकवानपुरमा चारजनालाई नियन्त्रणमा लिइएको छ । पर्सा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति मनहरीले मनहरी गाउँपालिका– मुलखोलाबाट चार जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया सुरु गरेको छ ।
संरक्षित वन्यजन्तुको सिकार गरेको आरोपमा पक्राउ पर्नेमा ३५ वर्षीय लालबहादुर थिङ, ३४ वर्षीय सूर्यबहादुर गोले ५९ वर्षीय मानबहादुर मुक्तान र ५४ वर्षीय सिंगराम स्याङ्तान रहेका छन् । उनीहरुको साथबाट ३ क्विन्टल गौरीगाईको मासुसहित काट्न प्रयोग भएका हतियारहरु बरामद गरिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए ।
पक्राउ परेकालाई थप अनुसन्धानका लागि निकुञ्जको कार्यालय आधाभारमा राखिएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष पदमबहादुर तितुङका अनुसार गाउँका करिब १ सय जना भेला भएर मासु काटिरहेका थिए । सुरक्षाकर्मीसहितको टोली पुग्नासाथ गाउँलेहरु भागेका थिए । सिकारमा संलग्नलाई भने पक्राउ गर्न सफल भएको तितुङले बताए ।