दैनिक उपभोग्य वस्तुको भन्डारण पर्याप्त «

दैनिक उपभोग्य वस्तुको भन्डारण पर्याप्त

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्तमात्रामा रहेकाले बजारमा अभाव नहुने बताएको छ । चीनमा देखिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण विश्वभर फैलिन थालेपछि त्यसको त्रासमा बजारमा अभाव हुनसक्ने भन्दै उपभोक्ताले दैनिक उपभोग्य वस्तुको भन्डारण गर्न थालेका हुन् । सरकारी संस्थान र निजी व्यवसायीसँग पर्याप्तमात्रामा अत्यावश्यक वस्तु पर्याप्त रहेकाले मन्त्रालयले बजारमा अभाव नहुने बताएको छ । खाद्यान्न, दाल, चिनी, नुन, तेल, औषधीको कुनै अभाव नरहेको मन्त्रालयले जानकारी दिएको छ ।
सरकारी संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र ट्रडिङ कर्पाेरेसनसँगै निजी क्षेत्रसँग पर्याप्तमात्रामा खाद्यान्नको मौज्दात छ । खाद्य व्यवस्था कम्पनीसँग अहिले २७ हजार टन खाद्यान्न स्टक रहेको छ । कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले पर्याप्तमात्रामा खाद्यान्न रहेका बजारमा अभाव नहुने बताए । कम्पनीले थप १० हजार चामल खरिद गर्न लागेकाले उपभोक्तालाई नआत्तिन उनले आग्रह गरे ।
यस्तै साल्ट्र ट्रेडिङ कर्पाेरेशनले पर्याप्तमात्रामा चिनी र नुन स्टक रहेकाले बजारमा अभाव नहुने बताएको छ । नेपाल चेम्बर अफ कमर्शले तीन महिनालाई पुग्ने खाद्यान्न स्टक रहेको बताए । यस्तै ६ महिनालाई पुग्ने औषधि रहेको व्यवसायीले बताएका छन् ।

विभिन्न स्थानबाट ग्यास वितरण
नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघले आइतबार उपत्यका विभिन्न स्थानबाट खाना पकाउने एलपीजी ग्यासको वितरण गरेको छ । विभिन्न स्थानमा ग्यासको खुद्रा आउटलेट खोलेर ग्यासको वितरण गरिएको निगमले जानकारी दिएको छ । आउटलेटमा ग्यास लिने उपभोक्ताको भीडभाड थियो ।
उपत्याकामा सञ्चालनमा आएको १७ वटा ग्यास कम्पनीको उक्त आउटलेटमा ग्यासको सिलिन्डर लिन उल्लेख्य मात्रामा उपभोक्ता आएको निगमले जानकारी दिएको छ । उपभोक्ताका लागि थलिएको ग्यास वितरण निकै प्रभावकारी भएको निगमको भनाई छ । उपभोक्ताले सहजै ढंगले ग्यास नपाएको गुनासो आएपछि आपुर्ति व्यवस्था सहज पार्नका लागि निगम र संघले संयुक्तरुपमा विभिन्न स्थानमा आउटलेट खोलेर ग्यास वितरण गरेका थिए । काठमाडौं, भक्तपुर र ललितपुरका १७ स्थानबाट २२ वटा ब्राण्डका ग्यास वितरण भएको निगमको भनाइ छ ।

अत्यायश्यक वस्तुको उत्पादन र वितरण नियमित गर्ने
बजारमा आपूर्ति प्रणाली सहज पार्नका लागि अत्यायश्यकत वस्तुको उत्पादन र वितरण नियमित गर्ने निर्णय भएको छ । नेपालमा फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) को प्रभावबाट पर्न सक्ने असर न्यूनीकरण गर्न आपूर्ति प्रणाली व्यवस्थित गर्न आइतबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा मन्त्रालयका सचिवसहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघका प्रतिनिधिसहित बसकेको बेैठकले सो निर्णय गरेको हो
दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरू उत्पादन गर्ने उद्योगहरूको आँकडा अद्यावधिक गर्नुका साथै उत्पादित वस्तुले बजारको माग धान्न सक्ने अवस्थाको आँकलन गर्ने र यस संकटको घडीमा त्यस्ता वस्तुहरूको नियमित उत्पादन र वितरणको व्यवस्था मिलाउन निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।
खाद्य सामाग्रीको आवश्यकता पहिचान गर्न निजी क्षेत्रका संगठनहरूले मातहतका आफ्ना सदस्यहरूलाई आपूर्ति व्यवस्था सहज एवं सुलभ बनाउन र मूल्य वृद्धि हुन नदिन आवश्यक व्यवस्था मिलाउने निर्ण भएको मन्त्रालयले जानकारी दिएको छ ।
उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कमी नभएको सम्बन्धमा आश्वस्त पार्न संचार माध्यमहरूबाट उपभोग्य वस्तुहरूको संचितिको अवस्थाको नियमित रुपमा सार्वजनिकीकरण गर्ने निर्णय भएको छ । आपूर्ति व्यवस्थालाई नियमित र सहज बनाउन बढी जनसंख्या र जनघनत्व भएका तराई लगायतका जिल्लाहरूको मौज्दातको स्थिति, खपत, माग र आपूर्तिबीचको अन्तरसम्बन्धी तथ्यांक अद्यावधिक गर्न विषयमा छलफल भएको छ । यसका लागि उद्योगी व्यवसायीका छाता संगठनहरूले जिल्ला स्थित संयन्त्र मार्फत तथ्यांक संकलन गरी मन्त्रालयलाई दैनिक रुपमा उपलब्ध गराउने निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्