माथिल्लो तामाकोसीको बाँध परीक्षण सफल «

माथिल्लो तामाकोसीको बाँध परीक्षण सफल

दोलखा-निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधको परीक्षण सफल भएको छ । आइतबारसम्म बाँधमा पानी जम्मा गरेर गरेर गरिएको परीक्षणका क्रममा कतैबाट पनि पानी चुहावट नभएपछि बाँधको परीक्षण सफल भएको हो । अघिल्लो सोमबारदेखि आयोजनाको बाँधका सबै ढोका बन्द गरेर पानी भर्न सुरु गरिएको छ ।
आइतबार दिउँसोसम्म पानीको सतह १९८७ मिटरसम्म पुगेको छ । यो नै बाँधको सबैभन्दा उच्चतम विन्दु हो । बाँधको सतह १९७२ मिटरमा रहेको छ । बाँधका सबै ढोका बन्द गरेपछि बनेपछि डेढ किलोमिटर टाढासम्म पानी जम्मा भएको छ । अहिलेसम्मको परीक्षण सफल भएकाले आफूहरूलाई उत्साहित बनाएको आयोजना प्रमुख दिनेशजंग राणाले जानकारी दिए ।
“७ दिनदेखि दिउँसो नदीको २ तिहाइ पानी जम्मा गरेर बाँधमा पानी भर्र्दै आएका छौं,” उनले भने, “परामर्शदाता सुझाव अनुसार रातको समयमा नदीबाट आउँने पानी सबै नदीमै पठाउने गरेका छौं ।” बाँधको उचाइ नदीको सतहबाट १५ मिटर छ । २०७२ बैशाख १२ गतेको भुकम्पले दायाँतिरको भाग १२ इन्च भासिएपछि त्यहाँ संका थियो । तर त्यहाँबाट पनि कुनै पनि पानी चुहावट नभएको आयोजना प्रमुख राणाले बताए ।
बाँधमा पानी जमाएर गेट, स्टपलग, इन्टेकको परीक्षण गरिएको छ । बाँधको परीक्षणपछि बालुवा थिग्रयाउने पोखरीमा पानी जमाउन सुरु गर्ने आयोजनाको तयारी छ । हेडवक्सका संरचनामा खासै समस्या नदेखिनेमा आफू विश्वस्त रहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । भूकम्पले भासिएपछि अमेरिकाबाट विशेषज्ञ समेत झिकेर अध्ययन गराएको थियो । विशेषको सुझाव अनुसार बाँधमा ग्राउटिङ प्रविधि अपनाएर मर्मत गरिएको थियो ।
६० मिटर लम्बाइ र २२ मिटर उचाइको बाँध निर्माण भएको छ । बाँधको सतहमुनी ७ मिटर र त्यसभन्दा माथि १५ मिटर उचाइ छ । ६० मिटर लम्बाइमा डिस्याण्डरमा जाने ६ वटा गेट रहेको छ भने नदीको पानी बाहिर पठाउन ४ वटा गरी १० वटा गेट छ । परीक्षणका क्रममा केही त्रुटी देखिए मर्मत गरिन्छ । बाँधमा १२ लाख घनलिटर पानी जम्मा भएको छ ।
आयोजनाको दुई सय मिटर लम्बाइको २ वटा डिस्यान्डर बेसिन रहेका छन् । दुवैमा पालैपालो पानी भरेर परीक्षण गर्न लागिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिए । बाँधको परीक्षणपछि बाँधमा भरिएको पानी विस्तारै नदीमा छाडिन्छ । बहाव बढ्दा नदी किनारका क्षेत्रमा असर गर्न सक्ने हुँदा साब्धानीका लागि रामेछापको सुनकोसी र तामाकोसीको दोभानसम्मका स्थानीयलाई माछा मार्न, लुगा धुने, नुहाउने लगाएका काम नगर्न सूचना जारी गरेको छ । स्थानीय तह र सुरक्षा निकायलाई पनि समन्वयका लागि आग्रह गरेको उनले बताए ।
बाँधको परीक्षणको आइतबार दिउँसो ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन र महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङले स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणपछि ऊर्जामन्त्री पुनले बाँधको परीक्षण सफलताले आयोजनाको काममा उत्साह मिलेको बताए । आयोजनाको बाँकी कामलाई पनि गति दिएर चाँडै विद्युत उत्पादन गर्न आयोजना व्यवस्थापन पक्षलाई निर्देशन दिए ।

गुणस्तरमा सम्झौता हुँदैन

अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले आयोजनाको कामको गुणस्तरीयतामा कुनै पनि सम्झौता नगरिएको बताए । “यो उच्च हेड भएको आयोजना हो, यस्ता आयोजना संसारमै विरलै हुने आयोजना हो” उनले भने “यस्ता आयोजनाको जोखिम पनि उत्तिकै हुन्छ, कामलाई चाँडो पूरा गर्नेभन्दा पनि गुणस्तरीयतामा बढी जोड दिएका छौं ।”
आयोजनाको समग्र प्रगति ९९.४ प्रतिशत पुगेको छ । सबैभन्दा कठिन काम २ वटा ठाडो सुरुङमा पाइप जडान भइरहेको छ । यसको हेड ८ सय २२ मिटर छ । उच्च हेडबाट नदी फर्काउँदा स–सानो कमजोरीले ठूलो दुर्घटना हुन सक्ने र त्यसको मर्मत अवधी २-३ वर्ष नै लाग्न सक्ने भएकाले सुरुङ र पाइप जडानमा केस जस्ता छिद्रलाई पनि ध्यान दिएको बताए ।
ठाडो सुरुङमा जडान हुने पाइप बाहिर नै प्रेसर चेक गरेर मात्र जडानका लागि भित्र लैजाने बताए । २ वटा ठाडो सुरुङ मध्ये ३७३ मिटरको तल्लो ठाडो सुरुङ मध्ये २६० मिटर पूरा भएको छ । तल्लोमा ११३ मिटर मात्र बाँकी छ । तल्लो खण्डको टेक्सम्याकोबाट अष्ट्रियन कम्पनी एन्द्रिज हाइड्रोबाट पाइप जडान गराइरहेको छ । माथिल्लो खण्डको ३१० मिटर मध्ये १६० मिटर पाइप जडान भएको छ भने १५० मिटर नै बाँकी छ । यसको जडान टेक्सम्याको आफैंले गर्दै आएको छ । टेक्सम्याकोकै ढिलाइकै कारण आयोजनाको समग्र प्रगति एक वर्ष ढिलाइ भएको छ । अहिले दैनिक ८० जना वेल्डरबाट ३ सिफ्टमा पाइप जडान भइरहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्