सिद्धार्थ उद्योग वाणिज्य संघमा निर्वाचन सम्पन्न

सिद्धार्थ उद्योग वाणिज्य सघं रुपन्देहीमा आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान सम्पन्न भएको छ । कुल २ हजार १ सय ६६ मतदाता रहेको सघंमा १ हजार ६ सय ३९ मत खसेको निर्वाचन अधिकृत शिवप्रसाद गौडेलले जानकारी दिए ।
मतगणना उम्मेदवारहरूको सहमतिको आधारमा अगाडि बढाइने उनले बताए । निर्वाचनमा अध्यक्षका वरिष्ठ उपाध्यक्ष डा. शान्तकुमार शर्मा र उद्योग उपाध्यक्ष कुलप्रसाद न्यौपाने छुट्टाछुट्टै समूह बनाएर निर्वाचनमा लागेका थिए ।
शर्मा समूहबाट वरिष्ठ उपाध्यक्षमा नवराज न्यौपाने, वाणिज्य उपाध्यक्षमा विनोद खरेल, उद्योग उपाध्यक्षमा शान्ता जिसी, महासचिवमा इम्तियाज अहमद, सचिवमा पशुपति कान्दु र कोषाध्यक्षमा रविकुमार श्रेष्ठ छन् । न्यौपाने प्यानलबाट वरिष्ठ उपाध्यक्षमा भीष्मप्रसाद न्यौपाने, वाणिज्य उपाध्यक्षमा ठाकुरकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा अरुणकुमार गोयनका, महासचिवमा नेत्रप्रसाद आचार्य, सचिवमा विजय पाण्डे र कोषाध्यक्षमा दिलीपकुमार कान्दु छन् ।
त्यस्तै सदस्य वाणिज्यतर्फ गौरव श्रेष्ठ, हरिशकुमार सेठिया, अर्जुन कार्की, संचित खन्ना, सतिशकुमार कौसल, रियाज वारिस, त्रिलोकीप्रसाद तेली, मृगेन्द्रगोविन्द श्रेष्ठ, गंगासागर अग्रहरी, संजयकुमार बेरीवाल, सब्बिर अली पठान, धर्मविर शर्मा, हरिप्रसाद पाण्डे, गोपाल भण्डारी, कृष्णप्रसाद अधिकारी, रामबचन तेली, भवानी बुर्लाकोटी, प्रीतम रौनियार, कमलप्रसाद मरासिनी निर्वाचनमा थिए । वाणिज्यमा १० पदको लागि १९ जना उठेका थिए ।
उद्योग सदस्यतर्फ ५ सिटका लागि मंगल भण्डारी, गोबिन्द ज्ञवाली, भुवनकुमार कान्दु, रमेश घिमिरे, सुजितकुमार श्रीवास्तव, उमाशंकर मिश्र, सुरेन्द्र उपाध्याय पौडेल, र विकास कुमार गोयनका निर्वाचनमा थिए ।
उता शुक्रबार उद्घाटन सत्रपछि भएको बन्द शत्रले संघको विधान संशोधन गरेको छ । संशोधन विधानअनुसार अब प्रत्येक २ वर्षमा नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ । यस अघि तीन वर्षको कार्यकाल थियो । अहिले निर्वाचित पदाधिकारी तथा समितिको अबधी भने ३ वर्ष नै रहनेछ । त्यसपछिको कार्यकाल २ वर्षको हुने गरी संशोधन भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बताए । त्यस्तै गरी कार्यसमितिमा एसोसियट उपाध्यक्ष एक पदसमेत रहने गरी संशोधन भएको छ । तर, त्यसका लागि एसोसियट सदस्य १ सय जना अनिवार्य हुनुपर्ने गराइएको छ । त्यस्तै अर्को कार्यकालबाट लागू हुने गरी जति पदका लागि उम्मेदवार उठेको हो त्यतिनै पदमा मत हाल्नुपर्ने, संघको कार्यक्षेत्रअन्तर्गत सिद्धार्थनगरभित्र विषयगत उपसमिति, नगरबाहिर विभिन्न स्थानमा क्षेत्रगत समिति खडा गर्ने, कार्यसमिति सदस्यमा १ पद अध्यक्षले मनोनयन गर्न सक्ने, सबै पूर्व अध्यक्षहरू स्वतः संघको सल्लाहकार हुने, संघबाट महासंघमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा अन्य पदाधिकारीसमेत स्वतः सल्लाहकार हुने गरी विधान संशोधन भएको छ । त्यअघि संघको ५९ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य घनश्याम भुषालले भैरहवा क्षेत्र औद्योगिक तथा व्यावसायिक नगरी भन्दै विद्युत्को समस्या र सेज छिट्टै सञ्चालन हुने विश्वास व्यक्त गरे ।