रुपेड़िया नाकाबाट २० अर्बको आयात, ८६ करोडको निर्यात

पश्चिम नेपालकै प्रमुख नाकाको रुपमा रहेको नेपालगन्ज भन्सार कार्यालयबाट बर्सेनि आयात वृद्धि हुँदै गएको छ । सरकारले आयात घटाउने र निर्यात बढाउने नीति लिए पनि यो नाकाबाट आयात र निर्यातको अन्तर धेरै नै फरक देखिएको छ ।
पछिल्लो ६ महिनायता नेपालगन्ज भन्सार भएर भारतबाट २० अर्ब रुपैयाँ बराबरका विभिन्न वस्तु आयात भएको छ भने नेपालबाट भारततर्फ ८६ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निकासी भएको छ । यो नाकाबाट मात्रै १९ अर्ब बढीको ब्यापार घाटा भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष ०७३-७४ मा यो नाकाबाट ३१ अर्ब ४५ करोड रुपैयाँबराबरको आयात भएको थियो भने २ अर्ब ७६ करोडको मात्र निर्यात भएको थियो । हालसम्मको अवस्थालाई हेर्दा यो वर्ष ४० अर्बभन्दा बढीको आयात हुने तथा १ अर्ब ७० करोड जतिको सामान मात्रै निर्यात हुने अनुमान गरिएको भन्सार कार्यालयले जनाएको छ । यो तथ्यांकले वैदेशिक निर्भरता बढाउँदै लैजाने देखिएको व्यवसायीहरुले बताएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले आयात निर्यातको यति धेरै अन्तर र यती ठूलो ब्यापार घाटाबीच कसरी देशको आर्थिक अवस्था बलियो हुन्छ भन्ने चिन्ता बढेको बताए । उनले यो तथ्यांकले देश अझै पनि वैदेशिक निर्भरतामै रहेको पुष्टि गरेको जनाउँदै निर्यात बढाउने नीति अबलम्बन गर्न सरकारलाई सुझाव दिए । “अहिले सबैले आर्थिक विकासको कुरा गरिरहेका छन्,” उनले भने, “सीमानामा निर्यातसम्बन्धी धेरै समस्या रहेकाले ती समस्या समाधान गर्न सरकारले तत्काल ध्यान दिनुपर्छ ।”
नेपालगन्ज भन्सार नाकाबाट पेट्रोलिम पदार्थ आयात हुने गरेको छ । त्यससँगै औद्योगिक कच्चा पदार्थका रूपमा क्लिंकर, कोइला र खाद्यान्न पनि ठूलो मात्रामा आयात हुने गरेको छ ।
राजस्व उठ्ने हिसाबले आयात बढी हुनु ठीकै भए पनि देशको आर्थिक सुदृढीकरणका लागि भने राम्रो नभएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले बताए । उनले नेपाली उत्पादन निकै कम भारतमा निर्यात हुने भएकाले यस्तो भएको जानकारी दिए । नेपालबाट पीठो, भुस, जडीबुटी, टरपिनटाइन तेल, खोटोलगायतका जडीबुटी भारतमा निकासी हुने गरेको भए पनि ती निकासीमा समेत समस्या देखिएको उनको भनाइ थियो ।
नेपालगन्ज भन्सारले उठाउने कुल राजस्व मध्ये करिब १५ प्रतिशत राजस्व भारतबाट पैठारी हुने खाद्यान्नबाट उठ्ने गरेको छ ।