पर्सामा उद्योगी, कर्मचारी र ठेकेदार उम्मेदवार «

पर्सामा उद्योगी, कर्मचारी र ठेकेदार उम्मेदवार

मंसिर २१ गते हुने दोश्रो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पर्सामा निकै रोमाञ्चक भिडन्त हुने भएको छ । नेपाली कांग्रेस, वाम गठबन्धन तथा मधेसी गठबन्धनबाट बनेका उम्मेदवारमात्रै नभएर स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी मैदानमा उत्रिएका छन् । तर, पर्साको ४ वटै निर्वाचन क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । 
४ वटै निर्वाचन क्षेत्रमा एमाले माओवादीको बाम गठबन्धन र फोरम राजपा गठबन्धन तथा कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको हो । प्रतिनिधि सभाको ४ वटा क्षेत्रका लागि पर्सामा ६४ जनाको उम्मेदवारी परेको छ । पर्सा क्षेत्र नं १ मा २२, २ मा १५, ३ मा १४ र ४ मा १३ जनाको उम्मेदवारी परेको छ । २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा ५ वटा क्षेत्र मध्ये ३ सिट जितेर जिल्लामा पहिलो दल बनेको एमाले स्थानीय तहमा कमजोर देखिएको छ । 
यसपटक माओवादीसँगको गठबन्धनले गर्दा एमालेको पनि पकड राम्रै हुने देखिएको छ । २ सिट जितेको कांग्रेसलाई पनि साख जोगाउन निकै सकस हुने देखिएको छ । स्थानीय तहको निर्वाचनमा राम्रो स्थानमा रहन सफल भएको फोरम राजपासँगको चुनावी तालमेलका कारण थप बलियो भएर देखा परेको छ । पर्सा क्षेत्र १ मा प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसको तर्फबाट निवर्तमान सांसद अनिल रुँगटाको उम्मेदवारी परेको छ । राजनीतिक समिकरणमा राप्रपाको भागमा परेको पर्सामा राप्रपाका उपाध्यक्ष राजिव पराजुलीलाई उम्मेदवार बनाउने हल्लाले पर्सा कांग्रेसमा निराशा छाएको थियो । 
पराजुलीलाई उम्मेदवार बनाइएको भए कांग्रेसको भोट फोरममा जाने प्रवल सम्भावना थियो । तर, युवा उद्यमी तथा पूर्व सांसद अनिल रुंगटालाई टिकट दिएर कांग्रेसको भोट फोरममा जानबाट रोक्न पर्सा कांग्रेस सफल भएको छ । जिल्लाबाट सिफारिस भएका १२ जना आकांक्षीहरूलाई उछिन्दै रुंगटाले टिकट हात पारेका हुन् । मनोनयनको अघिल्लो दिन मात्रै टिकट दिईएको थियो । उनलाई टक्कर दिन वाम गठबन्धनबाट एमालेका निवर्तमान सांसद विचारी यादव र मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादवको उम्मेदवारी परेको छ । 
विचारी यादव दोस्रो संविधान सभाको निर्वाचनमा पर्सा क्षेत्र नं २ बाट एमालेको तर्फबाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । भने प्रदिप यादव मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका चर्चित उम्मेदवार छन् । क्षेत्र नम्बर १ मा ११ स्वतन्त्र सहित २२ जनाको उम्मेदवारी परेको छ । राजपा फोरम गठबन्धनलाई चुनौती दिन राजपाका महासचिव रहेका महम्मद कदम रसुल नेपाल संघीय समाजवादी पार्टीबाट टिकट लिएर चुनावी मैदानमा उत्रिएका छन् । पर्सा क्षेत्र नम्बर २ मा काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अजय चौरसियाको उम्मेदवारी परेको छ । चौरसिया पहिलो संविधान सभा निर्वाचनमा पर्सा क्षेत्र नं ३ बाट सभासदमा निर्वाचित भएका चौरसिया दोस्रो संविधान सभा निर्वाचनमा एमालेका राजनकुमार गुप्तासँग पराजित भएका थिए । 
बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महम्मद सलिम मन्सुरको उम्मेदवारी परेको छ, एमाले र माओवादी दुवै एक भएकोले राजनीतिक पृष्ठभूमी नभएपनि उनी पनि क्षेत्र नम्बर २ मा बलियो उम्मेदवारको रुपमा देखिएका छन् । राजपा र फोरम गठबन्धनबाट विमल श्रीवास्तवको उम्मेदावरी परेको छ । उनको दल परिवर्तन गर्ने प्रवृत्तिकै कारण पछिल्लो समयमा मतदाताले रुचाउन छाडेको छ । वीरगञ्ज नगरको पटक पटक मेयर रहेका उनी स्थानीय तहको निर्वाचनमा मनोनयनको अघिल्लो दिन राजपा पार्टी परित्याग गरेर नेपाल लोकतान्त्रिक फोरमबाट मेयरमा लडेर पराजित भएका थिए । 
पर्सा क्षेत्र नं २ मा १ जना महिला सहित १५ जनाको उम्मेदवारी परेको छ । पर्सा क्षेत्र नं. ३ बाट नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरी, बाम गठबन्धनबाट एमालेका राजकुमार गुप्ता र मधेशवादीबाट फोरम नेपालका हरिनारायण रौनियारको उम्मेदवारी परेको छ । बाम गठबन्धनका राजकुमार गुप्ता पछिल्लो संविधान सभाको निर्वाचनमा पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित निवर्तमान सांसद हुन् । माओवादीको पनि समर्थन भएको र पछिल्लो समयमा एमालेको लहर चलेकोले चुनावमा उनको उपस्थिति बलियो हुने अनुमान गरिएको छ । गत चैतमा मात्रै नेपाली कांग्रेसबाट फोरम नपालमा प्रवेश गरेका रौनियार निर्माण व्यवसायी हुन् । पप्पु कन्सट्रक्सनका सञ्चालक रहेका उनको छवि भने जिल्लामा विकास विरोधीको रुपमा परिचित छ । 
७ जना स्वतन्त्र सहित १४ जनाको उम्मेदवारी रहेको क्षेत्र नं ३ मा तीन नेताबीच नै रोचक भिडन्त हुने अनुमान गरिएपनि नेपाल संघीय समाजवादी पार्टीका राजकुमार यादवको पनि उम्मेदवारी परेकोले त्यो क्षेत्रको निर्वाचन थप रोमाञ्चक हुने देखिएको छ । पोखरिया नगरपालिकाको मेयरमा उनकै पार्टीका उम्मेदवार जितेकोले उनको उपस्थितिलाई त्यहाँ महत्वका साथ हेरिएको छ । त्यस्तै पर्सा क्षेत्र नं ४ मा ठूला नेताहरूबीचको भीडन्त छ । नेपाली कांग्रेस, बाम गठबन्धन र मधेसवादी दल तीनवटैबाट प्रभावशाली नेता र नेतृ चुनावी मैदानमा रहेका छन् । नेपाली काँग्रेसबाट रमेश रिजालको उम्मेदवारी परेको छ । उनी नेपाली काँग्रेसका प्रभावशाली नेता मानिन्छ । पार्टीको अनुशासन समितिको संयोजकको जिम्मेवारीमा समेत रहेका रिजाल २०२८ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा क्रियाशिल र पटक–पटक संसद भइसकेका व्यक्ति हुन् । 
उनको पर्सा जिल्लामै पनि राम्रो प्रभाव रहेको छ । एमाले माओवादी गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी कार्यालय सदस्य उर्मिला अर्यालको उम्मेदवरी परेको छ । एमालेबाट पूर्व स्थानीय विकास मन्त्री समेत भइसकेकी उनी २०७० सालको संविधान सभा निर्वाचन अघि मात्रै माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । दोस्रो संविधान सभा निर्वाचनमा एमालेका उम्मेदवार जय प्रकाश थारुसँग पराजित भएकी उनी पार्टीमा प्रभाव राख्न सक्ने नेतृको रुपमा परिचित छन् । अहिले एमाले माओवादी गठबन्धन भएपछि एमालेका नेताहरूसँग पनि राम्रो सम्बन्धका कारण उनी बलियो उम्मेदवारको रुपमा देखा परेकी छन् । 
४ नम्बर क्षेत्र दुई वटा गाउँपालिका माओवादीले जितेको छ । त्यहाँ राजपा फोरमबाट नेता लक्ष्मणलाल कर्णको उम्मेदवारी परेको छ । राजपा फोरम गठबन्धनबाट छुट्टिएर राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका इमदाद गद्धीले पनि नेपाल संघिय समाजवादी पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । यहाँ ५ जना स्वतन्त्र सहित १३ जनाको उम्मेदवारी परेको छ । 

प्रतिक्रिया दिनुहोस्