महिलालाई उद्यमशील बनाइँदै

विराटनगर-मोरङमा सञ्चालित केही सहकारी संस्थाले महिलालाई उद्यमशीलतर्फ आकर्षित गर्न थालेका छन् । यसै क्रममा मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित उमा–गौरी कृषि सहकारीले पाँचसय महिला उद्यमीलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने योजना अगाडि सारेको छ ।
विपन्न वर्ग कार्यक्रमअन्तर्गत नबिल बैंकसँगको सहकार्यमा महिला उद्यमशीलता कर्जा प्रवाह गरिने भएको हो । सहकारीमार्फत ४ प्रतिशत ब्याजमा एकलाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइने अध्यक्ष शम्भुप्रसाद रौनियारले जानकारी दिए । कर्जा प्रवाहका लागि नबिल बैंकको प्रादेशिक कार्यालयसँग सम्झौता भइसकेको छ । कर्जा लिन चाहने महिला उद्यमीहरूले सहकारीमार्फत आफ्नो कागजात पेश गर्नेछन् । “सहकारीले सिफारिस गरेका उद्यमीलाई बैंकले कर्जा उपलब्ध गराउनेछ,” अध्यक्ष रौनियारले भने, “महिला उद्यमीका लागि सहकारी बैंक ग्यारेन्टीको रुपमा जिम्मेवार बन्छ ।”
कर्जा लिनका लागि व्यवसाय दर्ता र पान नम्बरसहित आफ्नो कागजात पेश गरेपछि सहकारीले बैंकमा सिफारिस गर्नेछ । उद्यमीले एकलाखदेखि १० लाख रुपैयाँसम्म कर्जा लिएर चारवर्षसम्मको अवधिमा भुक्तानी गर्नसक्ने प्रावधान राखिएको छ । यसरी भुक्तानी समय किटान गरिएको अवधिभित्रै ऋण तिर्ने उद्यमीलाई ४ प्रतिशत मात्रै ब्याजदर तोकिएको अध्यक्ष रौनियारले दाबी गरे ।
नबिल बैंकका प्रादेशिक कार्यालय विराटनगर प्रमुख मोहन सुब्बाले बैंकको पहुँच बाहिर रहेका ग्रामीण क्षेत्रका नागरिकलाई बैंकसम्म ल्याउनका लागि सहकारीसँगको सहकार्यमा कर्जा प्रवाह गर्न लागिएको बताए । उनले ग्रामीण क्षेत्रका विपन्न महिलाहरू लक्षित यो कार्यक्रमलाई नेपाल राष्ट्रबैंकको परिपत्रका आधारमा अगाडि सारिएको दाबी गरे । मोरङको दक्षिणवर्ती क्षेत्रमा रहेको उमा–गौरी कृषि सहकारीमा ६ हजार १२५ जना सेयर सदस्य रहेका छन् ।