किसानले बाली बिमा गर्न पाएनन्

कतिपय किसानहरूलाई त कृषि बालीको बिमा गर्नुपर्छ भन्ने जानकारी पनि छैन । तर, कृषि बिमा गर्नुपर्छ भन्ने थाहा पाउने किसानले पनि संखुवासभामा बिमा गर्न पाइरहेका छैनन् । जिल्लामा भरपर्दो बाली बिमा कम्पनी नहुँदा किसानहरूले बिमा गर्न नपाएको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ ।
किसानहरूमा बालीको बिमा सुबिधा उपलब्ध नहुँदा लाखौको लगानी डुब्ने त्रास बढेको छ । जिल्लामा व्यावसायिक खेतीका रूपमा लगाएको अलैंची, सुन्तला, किवीलगायतका नगदेवाली र फलफूलका व्यावसायिक कृषकहरू बिमा गर्न नपाएपछि लाखौंको लगानी डुब्ने त्रास रहेको बताउँछन् । जिल्लामा भरपर्दो बिमा कम्पनी नभएकाले आफूहरूले बिमा गर्न नपाएको अलैंची किसान ज्ञानबहादुर गुरुङले बताए । व्यवसायी खेती लगाउने किसानहरूले बालीको बिमा गर्न पाए ढुक्क हुने कृषक गुरुङको भनाइ छ ।
संखुवासभाका लागि बिमा समितिले लुम्बिनी इन्स्योरेन्स कम्पनीलाई बिमासम्बन्धी सम्पूर्ण कार्यहरूका लागि खटाए पनि हाल पशुको मात्र बिमा गरिरहेको लुम्बिनी इन्स्योरेन्स कम्पनीका संखुवासभा प्रतिनिधि दीपक पोखरेलले जानकारी दिए । कृषि बालीको बिमा गर्नका लागि दक्ष अभिकर्ताहरूको अभावको कारण कृषि बिमाको सुबिधा उपलब्ध गराउन समस्या भएको पोखरेल बताउँछन् ।
किसानहरूले कृषि बालीको बिमा गरे कुनै बिपद वा क्षतिको समयमा बिमाङ्क रकमको ७५ प्रतिशत नेपाल सरकारले बेहोरी दिने व्यवस्था रहेको जिल्ला कृषि विकास कार्यालय संखुवासभाका वरिष्ठ अधिकृत रविलाल शर्माले बताए । जिल्लामा बिमासम्बन्धी अभिकर्ताको अभाव भएको भन्दै इन्स्योरेन्स कम्पनीले कृषकलाई सेवा दिन नसकेको शर्माको भनाइ छ । बिमा कम्पनीले चासो राखे पनि कम पारिश्रमिक वा न्यून कमिसनमा काम गर्नुपर्ने भएकाले बिमा अभिकर्ताहरू कृषकलाई बिमा गराउन आकर्षित नभएको उनको भनाइ छ । संखुवासभामा बर्सेनि बाढी, पहिरो, हावाहुरी, असिना र हिमाली क्षेत्रमा हिमपातका कारण किसानहरूले करोडौंको मूल्य बराबरको कृषिउपज गुमाउँदै आएका छन् । पाथिभरा सिंहाका काजिमान गुरुङ दुखेसो गर्दै भनेका छन् । “रहर गरेर के गर्नु हावाहुरी र हिमपातले गरिखान दिँदैन् । पोहोर साल १२ रोपनी जग्गामा मकै खेती लगाएकोमा हिमपातले सबै लगिदियो । अब असिना पानी र हावाहुरीले क्षति पु¥याउन नसक्ने भएकाले भेडापालन सुरु गरेको छु ।” उनको गोठमा अहिले सय बढी भेडा छन् । तर, पशुबिमाबारे आफूलाई कुनै जानकारी नभएकाले बिमाबारे कुनै ध्यान गएको छैन ।
उनीजस्तै दिदिङका राजकुमार राईले पनि १ सय ५० वटा खशीबाख्रा पालन गरेका छन् । लामो समय विदेशमा बिताएर रित्तोहात फर्किएका उनले पनि पशुबिमाबारे आफूलाई केही थाहा नभएको बताए । बर्सेनि ८, १० वटा खशीबाख्रा अकालमा मर्ने गर्छन् । न नजिकमा कुनै पशुसम्बन्धी स्वास्थ्यको सेवा दिने निकाय छ न कुनै तालिम । आकाशको फल जस्तै खशीबाख्रा पालन गरिरहेको छु अहिलेसम्म त आम्दानी राम्म्रैछ । तर, कुनै दिन बिपत्ति आउन नसक्ला भन्न सकिन्न । उनी पनि आफ्ना पशुचौपायाको बिमा सेवा सहज रूपमा लिन पाए बिमा गर्ने मनस्थितिमा छन् । तर, गाउँमा बिमासम्बन्धी कुनै संघ–संस्थाले अहिलेसम्म जनचेतना पु¥याएका छैनन् ।
त्यसैले गाउँगाउँमा बिमाको ज्ञान पुग्न सके प्रभावकारी हुने देखिएको छ । संखुवासभामा पछिल्लो समय व्यावसायिक पशुपालनमा कृषकहरूको आकर्षण बढे पनि बिमासम्बन्धी कुनै ज्ञान नहुँदा र किसानले बिमामा ध्यान दिन नसक्दा ठूलो आर्थिक क्षति हुनसक्ने जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको भनाइ छ । चाँडै नै कृषकको लगानिलाई सुरक्षित गर्न बिमासम्बन्धी जनचेतनाका कार्यक्रम जिल्लाका ग्रामिण भेगसम्म पु¥याउन आफू लागि पर्ने शाक्यले प्रतिबद्धता जनाए ।
–कृष्णराज शाक्य