चुहिने छानोमुनि पढाइ

बाजुरा । हिमाली गाउँपालिकाको भवनसँगै जोडिएको छ, भवानी प्रस्तावित निम्न माध्यमिक विद्यालय । २०२६ सालमा स्थापना भएको विद्यालयको भवन जीर्ण छ । छानो पूरै चुहिने भएको छ ।
पुरानो भवन जीर्ण भएको नयाँ भवनको लागि जिल्लाका विभिन्न निकायसँग माग गर्दा पनि कुनै सरोकारवालाहरुको ध्यान नगएको विद्यालयका प्रधानाध्यापक दलबहादुर मल्ल बताउँछन् ।
१ सय १५ जना विद्यार्थी अध्ययनरत रहेकोमा कक्षा ८ सम्मको पढाइ हुन्छ । “भौतिक संरचना जिर्ण भएका कारण विद्यार्थीहरु नियमित हुँदैनन्,” प्रअ मल्लले भने । बस्नलाई फर्निचरदेखि लिएर अन्य अतिरिक्त क्रियाकलापका सामानहरु केही नभएको र हिउँदमा अत्यधिक चिसो ठाउँ भएकाले बिरामी हुने डरले घाम लागेमात्र स्कुल जाने गरेको कक्षा २ मा अध्ययनरत मदनराज शाहीले बताए ।
आठ कक्षासम्मको अध्यापन भैरहेको विद्यालय तीनजना स्थायी दरबन्दी र एक जना राहत दरबन्दीका शिक्षकले धानिरहेका छन् । “गाउँपालिकालाई अनुरोध गरेका छौं, भवनको लागि सहयोग गर्छु भन्ने आश्वासन आएको छ,” प्रअ मल्लले बताए ।
“जिल्लाका अन्य विद्यालयमा भौतिक संरचना धेरै छन् । हाम्रोमा कसैले सुनुवाइ गरिदिँदैनन् । गोरु गोठ जस्तो छ । हाम्रा छोराछोरीले कसरी गुणस्तर शिक्षा पाउने समस्या छ,” विद्यालय व्यवस्थापन समितिका सदस्य मनलाल सार्कीले गुनासो गरे ।
गाउँमा आउने विकास निर्माणका योजनाहरुमा काम गरेबापत आउने रकमले उक्त विद्यालयमा निजी शिक्षक पाल्ने गरेको उनले बताए । यता जिल्ला शिक्षा कार्यलय बाजुराका विद्यालय निरीक्षक बिबिराज सोतीले भने उक्त विद्यालयलाई यो वर्ष ५० हजार मर्मतको लागि छुट्याएको बताएका छन् ।
–पदम सिंह