ई–सेवामार्फत भुक्तानी

गुल्मीमा बिजुलीको बिल अब घरआँगनबाटै तिर्न सकिने भएको छ । नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रले इन्टरनेटको सहायतामार्फत् इसेवाबाट घरमै बसेर बिल भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो । यो सेवा सुरु गरेसँगै बढ्दो ग्राहक संख्या र जनशक्ति अभावमा विद्युत् महसुल तिर्न घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
केन्द्रले यसअघि कार्यालय परिसरमा काउन्टरबाट बिल भुक्तानी गर्ने व्यवस्था गरेकोमा अबदेखि अनलाइनबाट समेत भुक्तानी सेवा सुरु गरेको कार्यालय प्रमुख इन्जिनियर नारायण अर्यालले बताए । अर्यालका अनुसार प्रभु बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, सिएफएस रेमिट प्रालि, सिटी एक्सप्रेस, महालक्ष्मी विकास बैंक र हिमालयन बैंकबाट पनि बिल भुक्तानी गर्न सकिनेछ । केन्द्रले मिटर रिडिङ गरेपछि ग्राहकको उक्त विवरण प्रणालीमा अपलोड गर्ने र सोही प्रणालीका आधारमा अनलाइन सेवाप्रदायक कम्पनी र बैंकहरूले भुक्तानी लिनेछन् । केन्द्रले तोकेको समयमा विद्युत् महसुल बुझाएमा अनलाइन र बैंकमार्फत भुक्तानी गर्दा समेत कार्यालयले दिने गरेको छुट पाइनेछ । जरिवाना पनि अनलाइनमार्फत नै बुझाउन पाइनेछ । तर, अतिरिक्त शुल्क पनि तिर्न नपर्ने केन्द्रका आय प्रमुख विकास पन्थीले बताए ।
छिटोछरितो र ग्राहकहरूको सुविधाको लागि भन्दै अब घरमै बसेर इन्टरनेटमार्फत बिल भुक्तानी गर्ने व्यवस्था मिलाइएको गुल्मी वितरण केन्द्रले जनाएको छ । ग्राहकहरूले आप्mनो विद्युत् सेवा प्रयोग गरे वापत तिनुपर्ने रकम तिर्न प्राधिकरणको कार्यालय धाउनुपर्ने बाध्यता अब हटेको छ । विद्युत्को बिल भुक्तानीमा विद्युतीय पद्धतिको प्रयोग हुँदा उपभोक्ताले पनि सहजता पाउने भएका छन् ।
इ–सेवा एकाउन्ट भएका ग्राहकले आफनै मोबाइल तथा कम्युटरबाट बिजुलीको महसुल तिर्न सक्नेछन् भने इ–सेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इ–सेवा केन्द्रबाट बिजुलीको बिल भुक्तानी गर्न सक्ने इ–सेवा गुल्मीका प्रतिनिधि जनक पन्थले बताए । मुलुकभर इ–सेवाका २८ हजारभन्दा बढी केन्द्र रहेका छन् भने गुल्मीमा मात्र करिब चार सयको हाराहारीमा रहेको पन्थले बताए ।
विगत आठ वर्षदेखि सञ्चालनमा रहेको इ–सेवाले नेपालका ७७ वटै जिल्लामा सेवा दिँदै आएको छ । नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त इ–सेवाले निकट भविष्यमै रेमिट्यान्स कारोबारसमेत सुरू गर्ने तयारी गरेको इ–सेवा बुटवल शाखाका प्रबन्धक सागर पोख्रेलले बताए । अहिले मोबाइल एप्स डाउनलोड गरी इ–सेवा चलाउनेको संख्या एक लाख छ भने इन्टरनेट मार्फत इ–सेवा चलाउनेको संख्या आठ लाख रहेको छ । यसैगरी केन्द्रमार्फत् अप्रत्यक्ष रूपमा इ–सेवा प्रयोग गर्नेको संख्या ६० लाख नाघेको छ । इ–सेवा मोबाइल एप्स डाउनलोड गरी मोबाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स, बसटिकट, सिनमाको टिकट खरिदजस्ता एकसय भन्दा बढी सुविधा लिन सकिन्छ ।
अनलाइन बिल भुक्तानी सेवा प्रारम्भ गरेपछि सेवाग्राहीले घरमै बसीबसी मोबाइल एप्लिकेसनको माध्यमबाट विद्युत् महसुल बुझाउन पाउनेछन् । यस अघि जिल्लाका दुर्गम क्षेत्रका नागरिकहरूलाई तीन सयको बिल भुक्तानी गर्न दुई हजार खर्च गर्नुपर्ने अवस्था थियो । साथै, सेवाग्राहीले विद्युत् महसुल बुझाउँदा धेरै समय लाइनमा बस्नुपर्ने गुनासो गर्दै आएका थिए ।
–अनिश शर्मा गैरे