दोषीलाई कारवाही गर्न निर्माण व्यवसायीको माग «

दोषीलाई कारवाही गर्न निर्माण व्यवसायीको माग

नेपाल निर्माण व्यवसायी महासंघले देशका विभिन्न भागमा निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरण माथि अज्ञात समुहबाट भइरहेको श्रृखंलावद्ध आगजनीका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालले बुधबार विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीमाथि पटक पटक आक्रमण हुँदा पनि सुरक्षाका लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । आगजनीका घटनाका बारेमा प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुख लगायतलाई पटक पटक लिखित तथा मौखिक रुपमा जानकारी गराइएको विज्ञप्तीमा उल्लेख छ ।
आफूहरुमाथि बढ्दै गएका आक्रमणका घटनाले निर्माण व्यवसायीलाई अझ बढी आतंकित पार्ने काम भएको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको हो । महासंघका अनुसार बेनी, दरबाङ सडक आयोजनाअन्र्तगत बिरुवा–क्याराभान जेभीले सडक निर्माण कार्य प्रयोजनका लागि फिल्डमा प्रयोग गरेको एक्साभेटर र ब्याक–हो लोडरमा आइतबार राति अज्ञात समूहले आगजनी गरेको छ ।
त्यस्तै दानबहादुर खड्का सञ्चालक रहेको रेगन निर्माण सेवा सुर्खेतको एक्साभेटरमाथि जाजरकोट जिल्ला बोरकोट गाउँपालिका–९ स्थित पृथ्वीबहादुर बोहराको घरमा रहेको क्याम्पमा रासायनिक पदार्थ प्रयोग गरी आगजनी गरिएको महासंघको विज्ञप्तिमा जनाइएइको छ ।
उक्त एक्साभेटर जाजरकोट–जुम्ला सडक निर्माणमा प्रयोग भइरहेको थियो । महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न सरकारसँग आग्रह गरेको छ । साथै पीडित कम्पनीलाई राज्यको तर्फबाट तत्काल क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्