बाढीपहिरोपीडितका लागि खरिद जग्गा हस्तान्तरण भएन

डडेल्धुराको परशुराम नगरपालिका–२ र ३ मा २०६२ साल असोज ८ गतेका दिन अविरल वर्षाका कारण आएको पहिरोमा एकै परिवारका ८ सदस्यसहित ३२ जनाले ज्यान गुमाए भने ३५ परिवार पहिरोका कारण विस्थापित जीवन बिताउँदै आएका छन् ।
१२ वर्ष लामो संघर्षपछि उनीहरूलाई पुनःस्थापना गर्नका लागि ४६ रोपनी जग्गा पनि खरिद गरिएको छ तर त्यसपछिको प्रक्रिया अघि नबढेका कारण उनीहरूको बासको सपना सपनामै रहेको छ । पीडितहरूले सो जग्गालाई योजनाबद्ध रूपमा अगाडि बढाउँदै कित्ताकाट गरेर पुनःस्थापनाको काम तत्काल अगाडि बढाउन माग गरेका छन् । २०६२ सालदेखि पूर्ण रूपमा विस्थापित भई १२ वर्षदेखि कठिन जीवनयापन गरिरहेका विस्थापित ३५ घरपरिवारलाई पुनःस्थापना गर्नका लागि गत असारमा खरिद गरिएको जग्गा हस्तान्तरणमा ढिलाइ भएको हो । परशुराम नगरपालिका–४ रात्माटीमा ३७ रोपनी र वडा नं.५ परिगाउँमा ९ रोपनी गरी ४६ रोपनी जग्गा खरिद गरेकोमा सो जग्गा अहिलेसम्म पनि योजना बनाएर हस्तान्तरण हुन नसकेको पहिरो पीडित संघर्ष समितिका संयोजक प्रजापतिनाथले बताए । पीडितहरूले सरकारी निकायले तदारुकता नदेखिएको आरोप लगाएका छन् । जग्गा खरिद गरेको एक वर्ष हुन लाग्दा पनि सहरी विकासले आफ्नै नाममा राखेको जग्गामा अन्य कुनै काम समेत हुन सकेको छैन । योजनाबद्ध रूपमा कित्ताकाट गरी पुनःस्थापनाको माग गर्दै पीडितहरू विभिन्न निकाय धाइरहेका छन् । तर, आफुहरु को पीडामाथि मलम लगाउन धेरै निकाय उदासीन देखिएको संघर्ष समितिका संयोजक नाथको गुनासो छ । परशुराम नगरपालिकाले पनि उनीहरूको उचित बसोबासको व्यवस्थापनका लागि पहल गर्ने नगरपालिकाका मेयर भीमबहादुर साउदले बताए । डोटीमा रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले निर्वाचनका कारण ढिलाइ भएको जनाए ।
घरसहित पुनर्वास र अन्य पूर्वाधारसहित व्यवस्थापन गर्नका लागि कार्यक्रम संशोधन गरिदिन विभागमा पठाएको र अब छिट्टै काम अगाडि बढ्ने कार्यालयका प्रमुख झपटसिंह विश्वकर्माले जानकारी दिए ।
–हरिश चन्द