चीनको व्यापार बचत झन् फराकिलो «

चीनको व्यापार बचत झन् फराकिलो

फेबु्रअरीमा चीनको निर्यात उकालो लागेसँगै वासिङ्टनसँग चुलिएको तनावका बीच राजनीतिक रूपमा संवेदनशील मानिएको व्यापार बचत झनै फराकिलो भएको छ ।
निर्यातमा अघिल्लो वर्षको तुलनामा ४४.५ प्रतिशतले वृद्धि भएको छ । यो जनवरीको ११.१ प्रतिशतको वृद्धिको तुलनामा पनि बढी भएको भन्सार तथ्यांकले देखाएको छ । यसैबीच आयातमा पनि ६.३ प्रतिशतको वृद्धि भई १३७.८ अर्ब डलर कायम भएको छ । यो अघिल्लो महिनाको ३६.९ प्रतिशतको तुलनामा ठूलो अन्तरले कम हो ।
व्यापार तथ्यांकमा लुनार नयाँ वर्षको बिदाका कारण तोडमोड भएको छ । यो पर्व जनवरी तथा फेब्रुअरीमा पर्दै आएको छ । अघिल्लो वर्षको तुलनामा निर्यातमा दुई महिनाको संयुक्त अवधिमा २४.४ प्रतिशतले वृद्धि भएको छ । यो डिसेम्बरको १०.९ प्रतिशत वृद्धिको दाँजोमा पनि बढी हो ।
“विदेशी र स्वदेशी दुवै माग स्वस्थ देखिएको छ । यद्यपि आयात गत वर्षको समान अवधिको झै विस्फोटक देखिएको छैन,” क्यापिटल इकोनोमिक्सका जुलियन इभान्स प्रिचार्डले प्रतिवेदनमार्फत बताएका छन् ।
गत वर्षको तुलनामा विश्वका बाँकी मुलुकसँगको चीनको व्यापार बचत ओरालो लागे पनि अमेरिकासँगको व्यापार बचतमा भने लगातर विस्तार भएको छ ।
चीनको विश्वव्यापी व्यापार बचतमा जनवरीको २०.३ अर्ब डलरबाट वृद्धि भई ३३.७ अर्ब डलर पुगेको छ । दुई महिनाको अवधिमा अघिल्लो वर्षको समान अवधिको तुलनामा बचतमा ३१ प्रतिशतको वृद्धि भई ५५.३ अर्ब डलर पुगेको छ ।
अमेरिकासँग फेब्रुअरीको बचत २०.९ अर्ब डलर कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्