धान खरिद गर्दै खाद्य संस्थान

नेपाल खाद्य संस्थानले किसानबाट धान खरिद प्रक्रिया सुरु गरेको छ । व्यापारिक प्रयोजनका लागि संस्थानले यो वर्ष पनि विभिन्न जिल्लाबाट झन्डै तीन लाख क्विन्टल धान खरिद गर्न लागेको हो ।
दुर्गम जिल्लामा चामल पठाउनका लागि संस्थानले बर्सेनि धान खरिद गर्दै आएको छ । संस्थानले विभिन्न जिल्लामा गएर किसानबाट उपयुक्त मूल्यमा धान खरिद गर्ने गर्छ । संस्थानका प्रवक्ता शंकर सापकोटाले यो वर्ष २ लाख ७३ हजार क्विन्टल धान खरिद गर्न लागिएको जानकारी दिए । “विभिन्न जिल्लाका किसानबाट धान खरिद गरिनेछ,” उनले भने, “यसका लागि ७४ करोड रुपैयाँ छुट्याइएको छ ।”
संस्थानका अनुसार झापा, मोरङ, धनुषा, सिरहा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, कैलाली र कन्चनपुरबाट धान खरिद गर्न लागिएको छ । वास्मती, मोटा धान, सोना मन्सुली र जिरा मन्सुली धान खरिद गर्न लागेको संस्थानले जानकारी दिएको छ । विभिन्न जिल्लाबाट खरिद गरिएको धान राजापुरमा रहेको मिलमा कुटाएर संस्थानले चामल बिक्री गर्ने गर्छ । अन्य ठाउँमा भने ठेकेदारमार्फत् धान कुटाएर संस्थानले दुर्गम जिल्लामा चामल बिक्री गर्ने गर्छ ।
संस्थानले यो वर्ष धनगढीमा प्रतिक्विन्टल १ हजार ९ सय रुपैयाँ मूल्य निर्धारण गरे पनि अन्य ठाउँमा भने मूल्य निर्धारण गर्ने क्रममा रहेको प्रवक्ता सापकोटाले जानकारी दिए । संस्थानले गत वर्ष २ लाख १८ हजार क्विन्टल धान खरिद गरेको थियो ।
सकारले गत वर्ष मोटो धान प्रतिक्विटल २ हजार ७० र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार २ सय ३० रुपैयाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो । त्यस्तै, संस्थानले विभिन्न जिल्लामा धानको किसिमअनुसार २ हजार ५० देखि ३ हजार ९ सय रुपैयाँसम्ममा प्रतिक्विन्टल धानको मूल्य निर्धारण गरेको थियो ।
गत वर्ष धानको उत्पादन २१ दशमलव ६६ प्रतिशतले वृद्धि भएको थियो । कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो । अघिल्लो वर्ष ४२ लाख ९९ हजार टन मात्र उत्पादन भएको थियो ।