Logo

मुख्यमन्त्री पौडेल कर्मचारीसँग आक्रोशित

प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशस तहमा खटाएका कर्मचारीले अटेर गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । हेटौंडामा तीन वटा उद्योगी व्यवसायीको संगठनले संयुक्त रुपमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पौडेलले कर्मचारीले प्रदेश सरकारको गतिमा काम गर्न नचाहेको भन्दै पौडेलले नियम कानुन बनाएर निर्ममताका साथ निर्णय लिनुपर्ने अवस्था आएको बताए ।
“हामी नयाँ ढंगले काम गरेर विकास र समृद्धिमा फड्को मार्न हिँडेका छौं, कर्मचारीहरू भने परम्परागत सोचमै अल्झिरहेका छन् । विकास र समृद्धिमा कर्मचारी बाधक देखिइरहेका छन्,” उनले भने । माथिल्लो तहका कर्मचारी सकेसम्म तल्लो लेवलमा आएर काम गर्न नचाहिरहेको भन्दै उनले ऐन कानुन नभएकाले ट्रयाकमा ल्याउन नसकिरहेको बताए । अब केही समयमा कानुन बनेपछि कर्मचारी ट्रयाकमा आउने उनले विश्वास व्यक्त गरे ।
विकास र समृद्धिको लागि वर्तमान कानुन पनि बाधक रहेको तर्क गर्दै तत्काल परिवर्तनको आवश्यकता रहेको पौडेलको भनाइ थियो । अहिलेकै कानुनलाई निरन्तरता दिने हो भने अबको पाँच वर्षमा प्रदेश तथा राष्ट्रिय सरकारले कुनै काम गर्न नसक्ने दाबी गर्दै पौडेलले तत्काल आफूहरू कानुन परिवर्तन गर्न लागिपरेको बताए । सरकारले मात्र यो देशमा समृद्धि ल्याउन नसक्ने भन्दै निजी क्षेत्रको लगानीको ठूलो महत्व हुने उनको भनाइ थियो । सबैको सहयोगबाट देशमा चाँडै आर्थिक क्रान्ति ल्याउन सकिने बताउँदै उनले यस अभियानमा सरकारलाई सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । निजी क्षेत्रको विकास र सुरक्षाका लागि ऐन, कानुन निर्माण तथा संशोधन गर्न प्रदेश सरकार तयार रहेको उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले देशले राजनीतिक समस्या अन्त्य गरेको भन्दै मुलुकको स्रोत साधनको अधिकतम उपयोग गरी आर्थिक विकासको बाटोमा लम्कनुपर्ने बताए । प्रदेश र जनताको विकासको बाधक बनेका कानुन तत्काल खारेज गरिनुपर्ने बताउँदै उनले फाईल अड्काउने र काम रोक्ने प्रथाको अन्त्य गर्नुपर्ने बताए । प्रदेश सभासद तथा माओवादी केन्द्र प्रदेश संसदीय दलकी उपनेता कुमारी मोक्तानले देश संघीयतामा गएसँगै अब जनताले विकास र समृद्धि चाहेको भन्दै प्रदेश सरकारले छिटो भन्दा छिटो कानुन बनाएर विकास, निर्माणमा लाग्नुपर्ने बताइन् ।
मकवानपुर उद्योग बाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ र निर्माण व्यवसायी संघ मकवानपुरले संयुक्त रुपमा मुख्यमन्त्री, सभामुख, मकवानपुरका सांसद र प्रदेश सभासद्हरूलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको हो । कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, निर्माण व्यवसायी संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष बालकुमार मल्ललगायतले व्यवसायीका समस्याको बारेमा मुख्यमन्त्रीलाई अवगत गराएका थिए । कार्यक्रममा प्रतिनिधि सभाका सांसद कृष्ण दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश सभासदहरू मुनु सिग्देल, प्रेमबहादुर पुलामी, ओम घलान लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्