Logo

पेट्रोलियम पदार्थको अभाव छैनः कार्यकारी निर्देशक पौडेल

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको आयातमा कुनै बाधा तथा अवरोध (रेस्ट्रिक्शन) नभएको स्पष्ट पारेका छन् । उनले पाइपलाइनबाट पनि पेट्रोलियम पदार्थ आइरहेकाले सप्लाइमा बढि ध्यान दिएको बताए ।
मंगलबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै कार्यकारी निर्देशक पौडेलले आफूहरुले डिमाण्ड र सप्लाईको आवश्यकत्ता पूरा गरिरहेको बताए । उनले भने, “हामी अहिले यही कुरामा बढि फोकस छौं ।” उनले पेट्रोलियम पदार्थको पछिल्लो डाटा र स्टेस्टिक्स हेर्दा व्यापारीहरुले पनि किन्न कुनै कञ्जुस्याँइ नगरेको दावी गरे ।
उनले भैरहवाबाट पनि तेल ल्याउन आफूहरुले निर्देशन दिएको बताए । उनले अहिले सबै पेट्रोल पम्पमा तेल पुग्ने क्रममा रहेको पनि बताए । उनले भने,“आम उपभोक्ताहरुले भेहिकलमा राख्नुहोस् । तर, धेरै स्टोरेज नगरौं ।” उनले अहिले बजारमा भएको आम मागको ५ देखि १० प्रतिशत थपेर नै आफूहरुले भारतबाट आपूर्ति गरिरहेको जनाए । उनले आयल निगमले ६७ हजार किलोलिटरको भण्डारण क्षमतामा ५३ हजार किलोलिटर भण्डारण गरिसकेको सुनाउँदै यो भनेको ८० प्रतिशत भण्डारण भएको स्पष्ट पारे ।
उनले ग्यासको सवालमा अहिले देखिएको समस्या आवश्यकभन्दा बढी सिलिण्डर स्टोरेज गर्नुनै प्रमुख कारण भएको स्पष्ट पारे । उनले भने, “यो महिना चाहिएको ग्यास ३८ हजार मेट्रिक टन हो, हामीले भारतसँग ४५ हजार टनको अर्डर पठाएका छौं । अहिले बजारमा २८ लाख सिलिण्डर रहेका छन् । हामीले ३५ लाख मगाएका छौं । यो भनेको ७ लाख लाख बढि हो ।” उनले नेपाल ग्याँसको सिलिण्डर अत्यधिक बढि भएको बताउँदै अहिले एक्कासी यो कम्पनीको सिलिण्डिर बजारमा आएकोले समस्या देखिएको बताए ।
नेपाल एल.पी. ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्यासको कुनै समस्या नभएको जिकिर गरे । तर, अहिले देखिएको समस्या उपभोक्ताहरुले आवश्यकभन्दा बढि स्टकमा राख्नुलाई नै उनले प्रमुख कारण देखाएका छन् । उनले भने, “यो समस्या समाधान गर्ने भनेको आपूर्ति नै हो । स्टक गर्ने ट्रेण्ड हटाउनुपर्छ ।”
पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले भारतबाट अहिले ७ वटा नाकाबाट पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको बताउँदै बजारमा कुनै अभाव नभएको स्पष्ट पारेका छन् । उनले भने, “कुनै दिनपनि आपूर्ति रोकिएको छैन् ।” उनले आफूहरुसँग भएका ट्यांकरलाई समेत भण्डारणको लागि प्रयोग गर्नुपर्ने बताए । निगमको भण्डारण क्षमताले ७ दिनको लागि मात्रै पुग्ने बताउँदै भण्डारण क्षमता अझै बढाउनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्