पैसाबाट पनि कोरोना सर्छ : डब्लूएचओ

न्युयोर्क-हाल विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण पैसाबाट समेत सर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यसैले सजगता अपनाउनका लागि संगठनले आग्रह गरेको छ ।
यसअघि देखिएका अन्य विभिन्न किसिमका संक्रमण जस्तै कोरोना पनि पैसाबाट फैलन सक्ने भएकाले सजगता अपनाउन संगठनले आग्रह गरेको हो । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि चीनमा कोरोना प्रभावित क्षेत्रबाट संकलन गरिएका ठूलो परिमाणमा नोट नष्ट गरिएको थियो ।
यसअघिको अध्ययनले पनि पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना धेरै भएको पुष्टि गरिसकेको छ । पैसामा पनि सुक्ष्म जीव बाँच्न र बढ्न अनुकूल वातावरण भएको प्रमाणित भइसकेको न्युयोर्क विश्वविद्यालयले गरेको अध्ययनले देखाएको छ ।
चिकित्सकरूले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहन सक्ने बताएका छन् ।