बैंक मौज्दातमुखी हुँदै म्युचुअल फन्डहरू «

बैंक मौज्दातमुखी हुँदै म्युचुअल फन्डहरू

सामूहिक लगानी कोषसम्बन्धी कानुनको निर्माणपश्चात् नेपाली धितोपत्र बजारमा सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डहरूको उपस्थिति अहिले १४ पुग्न लागेको छ । लगानीयोग्य ससाना रकम एकत्रित गरी धितोपत्र बजारलाई चलायमान बनाउन यिनीहरूको उल्लेख्य भूमिका रहनेमा दुईमत रहन्न । सामूहिक हित र जोखिम न्यूनीकरण सिद्धान्तका आधारमा मुनाफा बाँडफाँड तथा जोखिम वहनका लागि स्थापित तथा सञ्चालित कोष नै सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्ड हुन् ।

बजारमा विद्यमान म्युचुअल फन्डहरू
नेपाली धितोपत्र बजारमा सामूहिक लगानीसम्बन्धी कानुन नआउँदै एनआईडिसी क्यापिटल मार्केट्सले पहिलो पटक ‘एनसिएम म्युचुअल फन्ड’ को नाममा १० वर्ष म्युचुअल फन्ड सञ्चालन गरेको थियो । सामूहिक लगानी कोष नियमावली–२०६७ र निर्देशिका आएपछिको पहिलो म्युचुअल फन्डका रूपमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–१ ले भर्खरै अवधि पूरा गरी रकम फिर्ता भुक्तानीको प्रक्रियामा रहेको छ ।
हाल बजारमा (१) ग्लोबल आईएमइ सम्मुन्नत योजना–१ (जीआईएमईएस–१), (२) लक्ष्मी इक्विटी फन्ड (एलईएमएफ), (३) लक्ष्मी भ्यालु फन्ड–१ (एलभीएफ–१), (४) नबिल ब्यालेन्स फन्ड–१ (एनबीएफ–१), (५) नबिल इक्विटी फन्ड (एनईएफ), (६) एनआईबीएल प्रगति फन्ड (एनआईबीएलपीएफ), (७) एनआईबीएल समृद्धि फन्ड–१ (एनआईबीएलएसएफ–१), (८) एनएमबी हाइब्रिड फन्ड–१ (एनएमबीएचएफ–१), (९) एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–१ (एनएमबीएसएफ–१), (१०) सानिमा इक्विटी फन्ड (एसएईएफ), (११) सिद्धार्थ इक्विटी फन्ड (एसईएफ) र (१२) सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम (एसईओएस) समेत १२ वटा म्युचुअल फन्डहरू सञ्चालित छन् । यस्तै हालै जारी भएका सिटिजन्स म्युचुअलफन्ड–१ र एनआईसी एसियाग्रोथ फन्डसहित बजारमा १४ वटा म्युचुअल फन्डहरूको उपस्थिति रहने देखिन्छ । धितोपत्र बोर्डबाट स्वीकृतिको पर्खाइमा रहकोे ग्लोबल आईएमई ब्यालेन्स फन्ड र खुलामुखी एनआईबीएल सहभागिता फन्डसमेतको उपस्थितिपछि बजारमा १६ वटा म्युचुअल फन्डको उपस्थिति हुनेछ । नागरिक लगानी कोषले पनि खुलामुखी प्रकृतिको नागरिक एकांकी योजना सञ्चालन गरेको छ । खुलामुखी म्युचुअल फन्ड स्टक एक्सचेन्जमा सूचीकरण भएर कारोबार नहुने प्रकृतिका हुन्छन् ।

कोषहरूको आकार र अवधि
सञ्चालनमा रहेका १२ वटा म्यचुअुल फन्डले कुल १२ अर्ब ५ करोड रुपैयाँको कोष परिचालन गरिरहेका छन् । सबैभन्दा सानो एलभीएफ–१ सँग ५० करोड र सबैभन्दा ठूलो एसईएफसँग १ अर्ब ५० करोडको कोष रहेको छ । बजारमा ५० करोडको एउटा, ७५ करोडको दुईवटा, १ अर्बको चारवटा, १ अर्ब २५ करोडको दुईवटा, १ अर्ब ३० करोडको एउटा र १ अर्ब ५० करोडको एउटा म्युचुअल फन्ड सञ्चालनमा छन् । यिनीहरूमध्ये एसईओएस, एलभीएफ–१, एनबीएफ–१ र एनएमबीएसएफ–१ को अवधि पाँच वर्ष, एसईएफको १० वर्ष तथा बाँकी ७ वटाको सातवर्ष अवधि रहेको छ ।

कोषको लगानी प्रावधान
सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ ले योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा (क) कुनै एक संगठित संस्थाको साधारण सेयरमा त्यस संस्थाको कुल चुक्तापुँजीको १० प्रतिशतभन्दा बढी नहुने, (ख) कुनै एक संगठित सस्थाले निष्कासन गरेको अग्राधिकार सेयर वाडिबेन्चरको २० प्रतिशतभन्दा बढी नहुने, (ग) कुनै एक संगठित संस्थाको धितोपत्र योजनाको कुल रकमको १० प्रतिशतभन्दा बढी नहुने, (घ) अन्य सामूहिक लगानीकोषअन्तर्गतको योजनामा आफ्नो योजनाको २० प्रतिशतभन्दा बढी नहुने, (ङ) बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी र (च) मुद्राबजार उपकरणमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्न सकिने व्यवस्था गरेको छ ।
यस्तै नियम ३७ मा प्रचलित कानुनको अधीनमा रही कुनै योजनाको कुल रकमको बढीमा २५ प्रतिशत रकमसम्म विदेशी धितोपत्र बजारमा लगानी गर्न सकिने व्यवस्था गरेको छ ।

कोष परिचालनको विद्यमान अवस्था
जुनसुकै नामबाट सञ्चालित भए पनि नेपालको सन्दर्भमा म्युचुअल फन्डहरूले लगानी गर्ने भनेको सेयर, ऋणपत्र-डिबेन्चर र मुद्दती निक्षेप नै हो ।
(क) मुद्दती निक्षेप : सामूहिक लगानी कोष नियमावलीमा तोकिएको बैंक निक्षेपलाई नै मुद्दती निक्षेप मान्ने हो भने जीआईएमईएस–१, एलभीएफ–१, एनबीएफ–१, एनईएफ, एनआईबीएलएसएफ–१ र एसईएफ–१ ले तोकिएको लगानी सीमा १० प्रतिशत नै बैंक निक्षेप राखेका छन् । उता एसईओएसले १३.५, एसएईएफ तथा एलईएमएफले २०, एनएमबीएसएफ–१ ले दीर्घकालीन एवम् पूर्वभुक्तानी गर्न मिल्नेसमेत गरेर २९.३३, एनएमबीएचएफ–१ ले ५४, एनआईबीएल प्रगति फन्ड शून्य प्रतिशत मुद्दती निक्षेप राखेको देखिन्छ ।
(ख) डिबेन्चर-ऋणपत्र : निश्चित आम्दानीको अर्को उपकरण डिबेन्चर-ऋणपत्रमा निकै कम लगानी रहेको छ । ६ वटाले शून्य, जीआईएमईएस–१ ले १, एनएमबीएसएफ–१ ले १.८७, एसईओएसले २.६, एनईएफले ४, एनआईबीएलएसएफ–१ ले ४.३ तथा सबैभन्दा बढी एनएमबीएचएफ–१ ले ५ प्रतिशत लगानी गरेका छन् ।
(ग) सेयरमा लगानी : म्युचुअल फन्डको मुख्य लगानी क्षेत्रका रूपमा रहेको सेयरमा रु. १४.६ देखि ९९.५ करोड (११.२७ देखि ९९.५ प्रतिशत) सम्म लगानी गरेका छन् । कुल १२ अर्ब ५ करोडमध्ये ७ अर्ब २२ करोड अर्थात् औसतमा ६० प्रतिशत सेयरमा लगानी गरेका छन् । भर्खर लगानी प्रारम्भ गरेको एसएईएफले सबैभन्दा कम ११.२७, एसईएफ–१ ले २२.२३, एनएमबीएचएफ–१ ले ३३.८५, एनएमबीएसएफ–१ ले ५३.११, एलईएमएफले ६२.६८, एनबीएफ–१ ले ६२.८, जीआईएमईएस–१ ले ७६.६३, एनईएफले ७८.४६, एलभीएफ–१ ले ८३.४९, एसईओएसले ८७.५५, एनआईबीएलपीएफले ९६.३६ र एनआईबीएलएसएफ–१ ले सबैभन्दा बढी ९९.५ प्रतिशत सेयरमा लगानी गरेका छन् ।
(घ) बैंक मौज्दात : म्युचुअल फन्डहरूले मुद्दतीबाहेक ठूलो रकम बैंकका विभिन्न खाताहरूमा राखेका छन् । आगामी चैतमा समयावधि सकिने एनबीएफ–१ ले रु. ६०.५८ करोड (८०.७८ प्रतिशत), एसईएफले रु. ११६.६६ करोड (७७.७७ प्रतिशत) र एसएईएफले रु. ९०.२६ करोड (६९.४३ प्रतिशत) रकम लगानी नगरी बैंकमा राखेका छन् । यस्तै एनएमबीएसएफ–१ ले रु. ३० करोड (४०.०५ प्रतिशत), एलभिएफ–१ ले रु. ११.५६ करोड (२३.१३ प्रतिशत), एनईएफले रु. २८.८४ करोड (२३.०८ प्रतिशत), एलईएमएफले रु. २२.२८ करोड (१७.८२ प्रतिशत), एनएमबीएचएफ–१ ले रु. १६.७३ करोड (१६.७३ प्रतिशत), एनआईबीएलएसएफ–१ ले रु. १५.७३ करोड (१५.७३ प्रतिशत), जीआईएमईएस–१ ले रु. १४.४७ करोड (१४.४७ प्रतिशत) र सबैभन्दा कम एनआईबीएलपिएफले रु. ४.५५ करोड (६.०७ प्रतिशत) रकम बैंक खाता राखेका छन् ।
यसरी म्युचुअल फन्डहरूले औसतमा ६० प्रतिशत सेयरमा, १६.६ प्रतिशत मुद्दतीमा र १.६ प्रतिशत ऋणपत्र-डिबेन्चरमा लगानी गरेका छन् । बाँकी रकम र लगानीबाट कमाएको समेत माघ मसान्तसम्म १२ म्युचुअल फन्डहरूले ४ अर्ब ३२ करोड अर्थात् कुल कोषको औसत ३६ प्रतिशत हाराहारी मुद्दतीबाहेकको खातामा राखेका छन् । मुद्दतीसमेत यिनीहरूले कुल कोष रु. १२ अर्ब ५ करोडको ५३ प्रतिशत रु. ६ अर्ब ३३ करोड हाराहारी बैंकमा थुपारेका छन् । हालै जारी सिटिजन्स म्युचुअलफन्ड–१ र एनआईसी एसियाग्रोथ फन्डले समेत करिब १ अर्ब ६० करोड बजारबाट संकलन गरेका छन् । यसरी म्युचुअल फन्डहरू लगानी गर्ने भन्दा प्रवद्र्धक बैंकहरूका लागि रकम संकलन गर्ने, व्यवस्थापन शुल्क प्राप्त गर्ने र कोष सुपरिवेक्षकहरू पाल्ने माध्यम बन्न थालेका छन् । अवधि समाप्ति हुन लागेको एनबीएफ–१ ले सम्पत्तिलाई नगदमा परिणत गर्नु त स्वाभाविक होला, तर एनएनबीका दुवै कोष र एसईएफले बैंकमा पैसा थुपारेर बस्नु त्यति स्वाभाविक मान्न नसकिएला ।
अझ रमाइलो त बजारमा सेयरको मूल्य निकै न्यून बिन्दुमा पुगेको अवस्थामा समेत आफूसँग भएको रकमले सेयरको औसत लागत घटाउनतर्फ नलागी बैंकमै राख्न अग्रसर देखिएका छन् । आमलगानीकर्ताहरूका अनुसार कोषहरूले बजारबाट रकम संकलन गरेको रकम व्यक्तिगत लगानीकर्ताहरूकै हातमा नै भएको भए सीधै सेयरमा लगानी हुने सम्भावना रहन्थ्यो ।
यसरी म्युचुअल फन्डहरूले जोखिम व्यवस्थापनको नाममा ब्याजलाई मात्र प्राथमिकता दिने हो भने उनीहरूको लगानी तथा जोखिम व्यवस्थापन क्षमतामाथि नै प्रश्न उठ्ने मात्र होइन, भविष्यमा निष्कासन हुने म्युचुअल फन्डका एकाइहरू नबिक्ने अवस्था आउन सक्छ । त्यसैले म्युचुअल फन्डहरूले उद्देश्यअनुरूप नै लगानी व्यवस्थापन गरी एकाइधनी र समग्र सेयर बजारको नियमितता र स्थिरतामा समेत लाग्नुपर्छ । नियामक निकायहरूले समेत म्युचुअल फन्डहरूको कोष परिचालनको अवस्था विश्लेषण गर्दै तोकिएको सीमाअनुरूप लगानीका लागि प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्