संक्रमण रोक्न अस्पतालमै साबुन पानीको व्यवस्था «

संक्रमण रोक्न अस्पतालमै साबुन पानीको व्यवस्था

संखुवासभा- विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसबाट हुनसक्ने संक्रमण न्यूनीकरण गर्न जिल्ला अस्पताल खाँदबारीमा अनिवार्य हात धुने ब्यवस्था गरिएको छ । संक्रमणबाट जोगिन पूर्वतयारी स्वरुप अस्पताल प्रवेश अगावै अस्पताल हाताभित्रै साबुन पानीले अनिवार्य हात धुनैपर्ने ब्यवस्था गरिएको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए ।
अस्पताल प्रवेशका लागि एकमात्र ढोका खुला गरिएको र ढोका छेवैमा साबुनसहित बाल्टिनमा पानी राखिएको छ । अस्पताल प्रवेश गर्ने बिरामी तथा कुरुवा र भेटघाटका लागि आएकाले अनिवार्य रूपमा साबुन पानीले मिचिमिची हात धोएपछि मात्र अस्पताल प्रवेश गर्न पाउने ब्यवस्था गरिएको हो ।
सम्भावित कोरोना भाइरस लगायत अन्य सरुवा रोगबाट बच्नका लागि यस्तो ब्यवस्था गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुन्दरश्याम झाले जानकारी दिए । भारतको जोगवनी नाकाबाट कोरोनाको संक्रमण भित्रन सक्ने भएकाले पूर्वीपहाडी जिल्ला समेत प्रभावित बन्न सक्ने भएकाले पूर्वसचेतना अपनाइएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर झाको भनाइ छ । कोरोना संक्रमणको सम्भावना न्यूनीकरण गर्न सबैलाई अनिवार्य मास्क लगाउन समेत जिल्ला अस्पतालले अनुरोध गरेको छ ।
सम्भावित कोरोना भाइरसको सम्भावित बिरामीका लागि सदरमुकाम खाँदबारीस्थित जिल्ला अस्पतालको हलमा ७ बेडको आइसोलेसन वार्ड निर्माण तयारी गरिएको जानकारी दिँदै अहिले उक्त हलमा ७ दिनभित्रै ७ बेडको आइसोलेसन वार्ड निर्माण गरिसक्ने सक्ने गरी आवश्यक उपकरण र बेड जडान गर्ने कार्य भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्