माथिल्लो तामाकोसीको बाँध परीक्षणका लागि पानी भर्न सुरु «

माथिल्लो तामाकोसीको बाँध परीक्षणका लागि पानी भर्न सुरु

दोलखा-निर्माणाधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको हेडवक्सको परीक्षण सुरु भएको छ । सोमबारदेखि आयोजनाको बाँधका सबै ढोका बन्द गरेर पानी भर्न सुरु गरिएको छ ।
सबै तयारी गरेर बाँधका ढोका बन्द गरेको हो । पानी भर्दा कुनै पनि समस्या नदेखिएको आयोजना प्रमुख दिनेशजंग राणाले जानकारी दिए ।
“सोमबारबाट पानी भर्न सुरु गरियो” उनले भने, “परामर्शदाता कम्पनीका अनुसार पानी भर्ने काम विस्तारै भर्नु पर्छ ।” सोमबार ४ मिटर उचाइसम्म पानी भरिएको छ । बाँधको उचाइ नदीको सतहबाट १४ मिटर छ ।
बाँधमा पानी जमाएर गेट, स्टपलग, इन्टेकको परीक्षण गरिन्छ । बाँधको परीक्षणपछि बालुवा थिग्रयाउने पोखरीमा समेत पानी जमाएर परीक्षण गरिन्छ । हेडवक्सका संरचनामा खासै समस्या नदेखिनेमा आफू ढुक्क रहेको आयोजना प्रमुख राणाले बताए ।
आयोजनाको बाँधको दायाँतिरको भाग २०७२ बैशाखको भूकम्पले १७ इन्च भासिएको छ । भूकम्पले भासिएपछि अमेरिकाबाट विशेषज्ञ बोलाएर अध्ययन गराएको थियो । विशेषको सुझाव अनुसार बाँधमा ग्राउटिङ प्रविधि अपनाएर मर्मत गरिएको थियो । पहिले परीक्षणका क्रममा त्यसको समेत अध्ययन गरिने सुरुदेखि हेडवक्स निर्माणको नेतृत्व गरेका प्रबन्धक राजभाइ सिल्पकारले बताए । आफू अहिले अर्को आयोजनामा भएपनि सुरुदेखि अन्तिमसम्म बसेर काम गरेकाले निरन्तर सूचना लिइरहेको बताए ।
आयोजनाको ६० मिटर लम्बाइ र २२ मिटर उचाइको बाँध निर्माण भएको छ । बाँधको सतहमुनी ७ मिटर र त्यसभन्दा माथि १५ मिटर उचाइ छ । ६० मिटर लम्बाइमा डिस्याण्डरमा जाने ४ वटा गेट रहेको छ भने नदीको पानी बाहिर पठाउन ४ वटा गरी ८ वटा गेट छ । आयोजनाले बाँधको परीक्षणको काम केही समय अघि नै गर्न खोजे पनि हाइड्रोमेकानिकलको ठेक्का पाएको लट–२ को ठेकेदार भारतीय कम्पनी टेक्सम्याकोको ढिलाइले परीक्षण मिति यो समयमा आइपुगेको हो ।
आयोजनाको दुई सय मिटर लम्बाइको २ वटा डिस्यान्डर बेसिन रहेका छन् । दुवैमा पालैपालो पानी भरेर परीक्षण गर्न लागिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिए । उनले परीक्षणका लागि प्राविधिक तयारीको काम भइरहेको जानकारी दिए । बाँधमा पानी भरेर छाड्दा तामाकोसी नदीको बहाव एक्कासी बढ्छ । बहाव बढ्दा नदी किनारका क्षेत्रमा असर गर्न सक्ने हुँदा सावधानीका लागि रामेछापको सुनकोसी र तामाकोसीको दोभानसम्मका स्थानीयलाई माछा मार्न, लुगा धुने, नुहाउने लगाएका काम नगर्न सूचना जारी गरेको छ । स्थानीय तह र सुरक्षा निकायलाई पनि समन्वयका लागि आग्रह गरेको उनले बताए ।
हेडवक्सको परीक्षणपछि सुरुङको परीक्षण क्रमशः गर्दै जाने आयोजनाको कार्ययोजना छ । अहिले हेडरेस सुरुङको फिनिसिङको अन्तिम चरणमा छ । आयोजनाको समग्र प्रगति ९९.४ प्रतिशत पुगेको छ । सबैभन्दा कठिन काम २ वटा ठाडो सुरुङमा पाइप जडान भइरहेको छ ।
२ वटा ठाडो सुरुङमध्ये ३७३ मिटरको तल्लो ठाडो सुरुङमध्ये २६० मिटर पूरा भएको छ । तल्लोमा ११३ मिटर मात्र बाँकी छ । तल्लो खण्डको टेक्सम्याकोबाट अष्ट्रियन कम्पनी एन्द्रिज हाइड्रोबाट पाइप जडान गराइरहेको छ ।
माथिल्लो खण्डको ३१० मिटर मध्ये १५५ मिटर पाइप जडान भएको छ भने १५५ मिटर नै बाँकी छ । यसको जडान टेक्सम्याको आफैंले गर्दै आएको छ । टेक्सम्याकोकै ढिलाइकै कारण आयोजनाको समग्र प्रगति एक वर्ष ढिलाइ भएको छ । काम अन्तिम चरणमा पुगेकाले कर्मचारीहरु पनि अन्तिम कसरतमा छन् । पछिल्लो कार्यतालिका अनुसार आउँदो असार मसान्तसम्म पहिलो परीक्षण गरी ७६ मेगावाट विद्युत् उत्पाद सुरु गर्ने लक्ष्य छ । तर टेक्सम्याकोकै कामको गतिका कारण अझै १-२ महिना धकेलिन्छ कि भन्ने आशंका अझै छ ।
अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठ अब कहिले आयोजना पूरा हुन्छ भन्दा पनि एकै चोटी विद्युत् उत्पादन गरेर मात्र भन्ने पक्षमा छन् । पटक पटक म्याद थपेर नयाँ लक्षित मिति भन्नु भन्दा एकैचोटै सार्वजनिक गर्ने उनी बताउँछन् । टेक्सम्याकोलाई व्यवस्थापन सुधारेर कामको गति बढाउँदा उसको मुख्य कार्यालय कलकत्तासम्म पुगेर ताकेता गर्दा समेत काममा सुधार हुन सकेको छैन ।
पाप्य जडानमा केही प्राविधिक समस्या पनि छन् । पाइपको आकारभन्दा सुरुङको आकार ठाउँ ठाउँमा साँघुरो भएकाले
सुरुङ ताछ्नु पर्दा समेत केही ढिलाइ भएको हो । अहिले दुवै सुरुङमा १०-१० मिटरको पाइप जोडेर परीक्षणपछि भित्र लगेर जडान गरिन्छ । प्रवक्ता न्यौपानेले हरेक १० मिटरको पाइप जडानका लागि औसात ६ दिन लाग्ने गरेको छ । पाइप जडानको काम गत असारदेखि सुरु भएको हो ।
ठाडो सुरुङ भित्रको पाइप जडानपछि दुवै पाइप बीचको तेर्सो एक सय मिटर पाइपको काम सुरु हुने छ । तर ठाडो सुरुङभन्दा सहज हुने हुँदा एक महिनामा यो जडानको काम पूरा हुने आयोजनाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्