भारतीय अर्थतन्त्र चिनिया भन्दा ठूलो हुन सक्ने «

भारतीय अर्थतन्त्र चिनिया भन्दा ठूलो हुन सक्ने

आगामी सात वर्षको अवधिमा भारतको अर्थतन्त्र ५ ट्रिलियन डलरको हुने वाणिज्य मन्त्री सुरेश प्रभुले बताएका छन् । कुनै समयमा गएर भारतीय अर्थतन्त्र चीनको भन्दा ठूलो हुन सक्ने पनि उनले बताए । हाल भारतीय अर्थतन्त्रको आकार अनुमानित २.५ ट्रिलियन डलरको छ भने चिनियाँ अर्थतन्त्र ११.८५ ट्रिलियन डलरको छ ।
अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतले ७.२ प्रतिशतको जीडीपी वृद्धि हासिल गरेको छ । यसले विश्वका ठूला अर्थतन्त्रमध्ये भारत चीनलाई उछिन्दै विश्वकै तीव्र वृद्धिको मुलुक भएको छ ।“म निश्चिन्त छु । मध्यकालीन अवधिलाई हेर्ने हो भने भारत अझै तीव्र दरमा विकास हुन सक्छु । हामी सात वर्षको अवधिमा ५ ट्रिलियन डलरको अर्थतन्त्र हुन सक्छौं ,” उनले बताए ।
भारत कसरी ठूलो अर्थतन्त्र हुन सक्न भन्ने विषयमा आफ्नो मन्त्रालयले दस्तावेज तयार पारिसकेको पनि मन्त्रीले बताए ।
म्यानुफ्याक्चरिङ क्षेत्रले १ ट्रिलियन डलर, सेवाक्षेत्रले ३ ट्रिलियन डलर र बाँकी कृषिक्षेत्रको योगदानसहित आगामी सात वर्षको अवधिमा भारत ५ ट्रिलियन डलरको अर्थतन्त्र हुने उनले बताए ।
“योपछि ७ देखि १० वर्षको अवधिमा भारत १० ट्रिलियन डलरको अर्थतन्त्र हुनेछ । चीन अझै वृद्धिकै बाटोमा रहेको छ । चीन पनि ११.८ ट्रिलियन डलरकै अवस्थामा रहनेछ भन्ने म भन्न गइरहेको छैन । तर, जब उनीहरू मन्द गति वृद्धि हुन थाल्छन् हामी तीव्र दरको वृद्धि हासिल गरिरहेका हुनेछौं । म निश्चिन्त छु कि हामी ठूलो अर्थतन्त्र हुनेछौं,” मन्त्री प्रभुले बताए ।
भारतको निर्यात वृद्धिका लागि सरकारले विभिन्न खाले कदम उठाइरहेको उनले बताए । संरक्षणवादतर्फको आवाजमा वृद्धि भइरहेकोप्रति पनि उनले चासो व्यक्त गरे । अर्थतन्त्रको खुलापन विश्वव्यापी वृद्धिका लागि आवश्यक भएको उनले बताए ।
“डब्लूटीओको स्थापनापछि सबै मुलुकले लाभ लिएको हामीले देखेका छौं । केही मुलुकले अन्यको तुलनामा बढी लाभ लिएका छन् । यसको सबैभन्दा ठूलो लाभ लिनेमा चीन रहेको छ,” उनले बताए ।

प्रतिक्रिया दिनुहोस्