तनहुँमा जग्गाको चक्लाबन्दी सुरु «

तनहुँमा जग्गाको चक्लाबन्दी सुरु

तनहुँ– तनहुँको विभिन्न स्थानीय तहमा जग्गाको चक्लाबन्दी प्रबद्र्धन कार्यक्रम सुरु गरिएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा तनहुँका विभिन्न स्थानीय तहमा जग्गा चक्लाबन्दी कार्यक्रम सुरु गरिएको हो । उर्वर जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले अभियान थालिएको हो ।
बन्दिपुर गाउँपालिका–३ मा हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ६ सय ११ रोपनी क्षेत्रफलमा जग्गाको चक्लाबन्दी सुरु गरेको छ । त्यसैगरी सोही गाउँपालिकाको कटहरेपाटो कृषक समूहले एक सय तीन रोपनी र बोडीश्वारा धानखेत कृषक समूहले ५१ रोपनी जग्गा चक्लाबन्दी सुरु गरेको छ ।
जग्गाको चक्लाबन्दी कार्यक्रमले जग्गा बाँझो राख्दै आएका कृषकहरुलाई मौसम अनुसारको खेती गर्ने प्रेरणा मिलेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बुद्धिबहादुर जिसिले बताए । कार्यक्रमले कृषकहरु उत्साहित भएकाले चक्लाबन्दीको काम तीब्र रुपमा भइरहेको जिसीले बताए ।
त्यसैगरी शुक्लागण्डकी नगरपालिका किमलडाँडास्थित कृषक समूहले एक सय चार रोपनी क्षेत्रफलमा चक्लाबन्दी सुरु गरेको छ भने भिमाद नगरपालिकाको ध्रुवतारा कृषक समूहले एक सय एक रोपनी क्षेत्रफलको जग्गामा चक्लाबन्दी सुरु गरेको छ ।
सहकारीमा आवद्ध कृषक तथा सहकारी भन्दा बाहिरका गरी ८५ जना कृषकको जग्गा चक्लाबन्दी सुरु गरिएको जिसिले बताए । माघ २७ गतेदेखि सुरु भएको चक्लाबन्दीको काम ५५ दिन भित्र सक्ने गरी सम्झौता भएको छ । पहिलो चरणको कामको मन्त्रालयबाट अनुगमन भइसकेको उनले बताए ।
जग्गा चक्लाबन्दीका लागि पहाडी जिल्लामा ५० देखि ७५ रोपनी क्षेत्रफलको जग्गामा १० लाख रुपैयाँ, ७६ देखि एक सय रोपनीसम्मको लागि बढिमा १३ लाख, १ सय १ देखि २ सय रोपनी क्षेत्रफलसम्म बढिमा २० लाख र २ सय १ रोपनी देखि बढिको जग्गालाई २० लाख र प्रति रोपनी थप १० हजार रुपैयाँ अनुदान दिने व्यवस्था भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको चक्लाबन्दी प्रबद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ मा व्यवस्था गरिएको छ । अनुदान रकम भने तराई र हिमाली क्षेत्रमा फरक फरक रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्