महासंघका पदाधिकारीसँग चिनियाँ प्रतिनिधिमण्डलको भटवार्ता «

महासंघका पदाधिकारीसँग चिनियाँ प्रतिनिधिमण्डलको भटवार्ता

काठमाडौंमा जारी अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन आएको चिनियाँ प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँग भेटवार्ता गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयको व्यापार विकास विभागका उपनिर्देशक चीन होङ नेतृत्वको प्रतिनिधिमण्डलले महासंघका पदाधिकारीहरूसँग भेटवार्ता गरेको हो ।
चिनियाँ प्रतिनिधिमण्डलमा इकर्स, आयात निर्यात, स्मार्ट होम डेभलपर, लगानी, डेरी, विद्युत् तथा विद्युतीय, ऊर्जा उत्पादकहरूको प्रतिनिधित्व थियो । बैठकमा चिनियाँ प्रतिनिधिमण्डलले चीनमा आयोजना हुने मेलामा नेपालको बलियो सहभागिताका लागि आग्रह गरेको थियो । नेपालमा लगानीका लागि आफूहरू निकै उत्साहित भएको र नेपालमा राजनीतिक स्थिरताका साथै लगानीको वातावरण बन्दै गएको भन्दै चिनियाँ प्रतिनिधिमण्डल प्रमुख चीन होङले नेपालमा लगानी ल्याउन आफूले सक्दो सहयोग गर्ने बताए । महासंघका पदाधिकारीहरूसँगको भेटमा चिनियाँ प्रतिनिधिमण्डलले आगामी वर्षदेखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मार्चको अन्त्य वा अप्रिलको पहिलो हप्ता गर्न सके चीनबाट अझ बढी सहभागिता जनाउन सकिने बताएको छ ।
चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, व्यापार मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठ, समितिका पदाधिकारी एवं सदस्यहरू र महासंघका महासचिव सुरेशमान श्रेष्ठ सहभागी थिए । त्यस अवसरमा दुवै पक्षबाट आ–आफ्ना व्यावसायिक परिचयका साथै लगानीका सम्भाव्य क्षेत्रका विषयमा छलफल भएको थियो ।
यसैबीच नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको अवलोकन गर्नेहरूको भीड लागेको छ । फागुन २४ गतेदेखि सुरु भएको मेलाको तेस्रो दिन शनिबार करिब ५० हजारले मेलाको अवलोकन गरेको र करिब ३ करोड रुपैयाँको व्यावसायिक कारोबार भएको महासंघले जनाएको छ । मेलामा नेपाललगायत चीन, भारत, बंगलादेश, पाकिस्तानको सहभागिता छ । करिब ३ सयवटा स्टलमार्फत ती देशका वस्तु तथा सेवा प्रदर्शनी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्