कोरोना अर्थतन्त्र, विश्व सञ्चार र नेपाल «

कोरोना अर्थतन्त्र, विश्व सञ्चार र नेपाल

 

संक्रमितको संख्या उच्च हुनेमा चीनपछि इटली, इरान, कोरिया, स्पेन, जर्मनी, फ्रान्स, अमेरिका, स्वीजरल्यान्ड, डेनमार्क र बेलायत छन् ।

आइतबार (मार्च १५) सम्म विश्वभर १ लाख ६९ हजारमा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये ७७ हजार निको भइसकेका छन् र ६ हजार ५ सय जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रायः सबै ज्येष्ठ नागरिक र मुटु फोक्सोलगायत अन्य रोगबाट पहिलेदेखि पीडित छन् । यसअघि फैलिएका सार्स, बल्र्डफ्लु, स्वाइनफ्लु, इबोला, जिका भाइरसको तुलनामा यो कमजोर भाइरस हो । यस्ता भाइरसहरूको प्रभाव चार–पाँच महिनाभन्दा बढी टिक्ने गरेको छैन । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई मात्र यसको संक्रमण हुने गर्छ । संक्रमितमध्ये ३.८ प्रतिशतको मृत्यु भएको तथ्यांकले देखाउँछ ।
माथि उल्लिखित विश्व स्वास्थ्य संगठनलगायत चिकित्सा क्षेत्रबाट सार्वजनिक भइरहेका तथ्य हुन् । यो नयाँ भाइरस भएका कारण अनुसन्धान जारी रहेको हुँदा नयाँ तथ्य बाहिर आउँदै जाने बताइएको छ । सुरुमा यो हावाबाट सर्ने अनुमान गरिएको थियो तर पछि थूक, -यालजस्तो तरल चिजबाट मात्र सर्ने पत्ता लाग्यो । यो भाइरस चीनको वुहान प्रान्तमा गत डिसेम्बर ३१ मा फेला परेको थियो । त्यहाँ जंगली जीवजन्तुको मासु सेवनबाट यो भाइरस मानिसमा संक्रमित भएको आशंका सुरुमा व्यक्त गरियो । तर, अहिलेसम्म यसको स्रोतबारे यकिन भएको छैन ।
चीनको अर्थतन्त्र कमजोर पार्नविरोधी शक्तिले यो भाइरस बनाएर चीनलाई आक्रमण गरेको हो । चीन आफैंले जैविक हतियार तयार गर्ने क्रममा चुहिएर (लिक) भाइरस फैलिएको हो । खोप बेचेर ठूलो धनराशि कमाउने रणनीतिअन्तर्गत कसैले नियोजित रूपमा यो भाइरसलाई प्रयोग गरेको हो । भाइरस फैलाउनेमा कसैको षड्यन्त्र छैन, तर चिनियाँ अर्थतन्त्र कमजोर पार्न दाउ हेरेर बसेका शक्तिराष्ट्रहरूले मौकाको फाइदा उठाएका मात्र हुन् । विश्वका राष्ट्रहरूले गरेको स्वाभाविक निर्णय र सञ्चारमाध्यमको सूचना प्रवाहले अन्ततः चीनको अर्थतन्त्रलाई कमजोर पार्न सहयोग पुग्नु संयोग मात्र हो ।
माथि उल्लिखित अनुमान र आशंका विश्वभर जनमानसमा उत्पन्न भएका छन् । रोग कसरी सुरु भयो भन्ने विश्वासिलो तथ्य बाहिर नआएसम्म मानिसहरूले अनेक आशंका गर्नु स्वाभाविक हो । आशंकाहरू सत्य वा असत्य जे पनि हुन सक्छन् तर विश्व समुदायबाट भएका क्रियाकलापको परिणामस्वरूप चिनियाँ अर्थतन्त्र कमजोर भएको भने सत्य हो । अमेरिका, युरोपमा यो भाइरस सुरु भएको भए पनि विश्व समुदायको यस्तै निर्णय र सञ्चार प्रवाह हुन्थ्यो या फरक ? यो प्रश्न धेरैको मनमा उब्जेको छ ।
भाइरसको वास्तविक प्रभावभन्दा पनि विश्वभर त्रास र आतंक बढी फैलिएकोमा विज्ञ र विश्लेषकहरू एकमत छन् । सञ्चारमाध्यमहरूले कोरोनालाई चाहिनेभन्दा बढी महत्व दिएको विश्लेषण गरिएको छ । यसको उदाहरणका लागि नेपालमा २०७२ सालको भूकम्पपछि भारतीय सञ्चारमाध्यमको प्रस्तुतिलाई लिन सकिन्छ । भारतीय माध्यमले नेपालमा भएको वास्तविक क्षतिभन्दा बढी भयावह स्थिति रहेको अर्थ लाग्ने गरी प्रस्तुति गरे भनिएको थियो । कतिपयले भारतीय सञ्चारमाध्यमको नियतमाथि शंका गरेका थिए भने कतिपयले भारतीय सञ्चारमाध्यमको गुणस्तरमा मात्र शंका गरेका थिए ।
वर्षौं लगाएर गरिने वैज्ञानिक अनुसन्धान (साइन्टिफिक रिसर्च) को नतिजाले समेत वास्तविकता नदेखाउन सक्छ । सञ्चारमाध्यमले दिने समाचार पनि नमुना (स्याम्पल) कै आधारमा हो । छिटो सूचना प्रवाह गर्नुपर्ने भएका कारण सञ्चारमाध्यमको प्रस्तुतिले सिंगो समाजको वास्तविकता प्रतिनिधित्व नगर्न सक्छ । सञ्चारमाध्यमहरूका सम्पादककै नजर र संवाददाताका नजरमा भएका घटनाको महत्व, प्राथमिकता, समाचार कोण (न्युज एंगल) र प्रस्तुति फरक हुने गरेको पाइन्छ । सञ्चारमाध्यमको गुणस्तरबमोजिम नै सन्देशको गुणस्तर हुनु त झन् स्वाभाविकै भयो ।
कोरोना भाइरस, यसपछि विश्व समुदायका निर्णयहरू र सञ्चार प्रवाहका कारण विश्वको अर्थतन्त्रलाई नै कमजोर पारेको छ । चीनको अर्थतन्त्रलाई सबैभन्दा क्षति पुगेको छ । विश्वभर मानिसहरूको हिंडडुल र गतिविधिमा कम भएका कारण सेवा तथा वस्तुको उपभोग घटेको छ । बिदामा गएका कामदार कर्मचारी फर्कन नपाउँदा उद्योगधन्दाको उत्पादन घटेको छ । क्वारेनटाइनका कारण आयात निर्यातको समय र लागत बढेको छ । चिनियाँ पर्यटकका आधारमा फस्टाएका विश्वका धेरै सहरको अर्थतन्त्र अहिले शिथिल छ । अहिले विश्वभर बेरोजगारी बढेको छ ।
नेपालमा कोरोना संक्रमण एक जनामा देखिएको र मृत्यु शून्य भए पनि अर्थतन्त्रलाई क्षति पुगेको छ । पर्यटक आगमन कम हुनु, निर्यात घट्नु, आयात कम हुँदा महँगी बढ्नु हाम्रा लागि सुखद होइन । चिनियाँ निर्माण व्यवसायीले काम गरिरहेका ठूला परियोजनाहरू (मेगा प्रोजेक्ट्स) चिनियाँ कामदार कार्यरत छन् । उनीहरू चिनियाँ नयाँ वर्ष मनाउन स्वदेश गएकामा फर्कन नसकेका कारण काम ठप्प भएको छ । नेपालीहरू वैदेशिक रोजगारीमा जान रोकिएको, मानिसहरूको हिंडडुल र घुमफिर कम भएका कारण नेपाली अर्थतन्त्रमा नकारात्मक असर परेको छ ।
नेपाल कोरोनामुक्त मुलुक घोषणा गरेर पर्यटन प्रवद्र्धन गर्ने प्रस्ताव पर्यटन मन्त्रीले ल्याए । अर्कातर्फ स्वदेशी सभा सम्मेलन र विद्यालयको पठनपाठन समेत बन्द गर्ने प्रस्ताव कार्यान्वयन गरियो । यी दुवै प्रस्ताव अतिवाद हुन् । विश्व कोरोना पीडित भएको र नेपालमा जहिले पनि संक्रमण भित्रिन सक्ने सम्भावना रहेको बेला कोरोनामुक्त देश भनेर प्रचार गर्नु संवेदनहीन र अपरिपक्व निर्णय हुन्थ्यो । त्यस्तै, सभा–सम्मेलन र पठनपाठन रोक्ने कार्य पूर्वतयारीका रूपमा गर्नु पनि कच्चा निर्णय नै हो ।
सीमा नाकाका साथै सबैतिर स्वास्थ्य परीक्षणलाई तीव्रता दिनु, रोग भित्रिइहाल्यो भने कसरी जँुध्ने भनेर पूर्वतयारी र योजना बनाउनु, आइसोलेसन वार्ड निर्माण गर्नु, रोकथामका उपायबारे जनचेतना फैलाउनु, सम्भावित आवश्यक वस्तु मास्क, पञ्जा, स्यानिटाइजर आदिको उत्पादन बढाएर मौज्दात राख्नु बुद्धिमानी हो । तर यस्ता वस्तु रोग नआउँदै प्रयोग गरेर सकिएको र रोग लागिहाले अभाव हुने अवस्था छ । रोग नभित्रिँदासम्म आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नुपथ्र्याे, कोरोना नदेखिएका मुलुकका नागरिकका लागि सहुलियतपूर्ण प्याकेजहरू प्रचारप्रसार गरेर बाह्य पर्यटन प्रवद्र्धन गर्नुपथ्र्यो ।
विश्व स्वास्थ्य संगठनले सम्भावित भाइरस संक्रमणका लागि पूर्वतयारी पर्याप्त नगर्ने मुलुकको सूचीमा नेपाललाई राख्नु कुनै अनौठो होइन । नियमित बिरामीका लागि नेपालमा उपलब्ध सेवालाई विश्वसँग तुलना गरेर रेटिङ (मापन) गर्ने हो नेपाल अझै खराब देशको सूचीमा पर्न सक्छ । नेपाल विपद् व्यवस्थापनको पूर्वतयारीको रेटिङ गर्ने हो भने पनि एकदमै खराब अवस्थामा छ ।
चिकित्सा विज्ञान र इन्जिनियरिङ क्षेत्रमा मानव सिर्जित वा निर्मित वस्तु, प्रविधि, संरचना, मेसिन एवम् असावधानीका कारण हुने मृत्युलाई प्रति १० हजारमा अध्ययन गर्ने गरिन्छ । १० हजारमा एक-दुई जना मात्रको मृत्यु हुनुलाई पनि अति संवेदनशील मानिन्छ । सामान्य जनजीवनमा भने घटनाहरूलाई प्रतिशत अर्थात् प्रतिसयमा बुझ्ने गरिन्छ । चिकित्सकहरूबाट प्रवाह हुने सन्देश र प्रापकले ग्रहण गर्ने सन्देशको बीचमा हुने रिक्तता (कम्प्युनिकेसन इरर) ले गर्दा सर्वसाधारणहरू चिकित्सकको कुरा सुनेर अत्तालिने गरेको पाइन्छ । विकसित समाजमा मानवले रोक्न सक्ने सम्भावना भएको अकाल मृत्यु एकदमै नगण्य मात्र स्वीकार्य हुन्छ ।
नेपालमा प्रत्येक दिन ५ जना व्यक्तिको सवारी दुर्घटनामा मृत्यु हुने गर्छ । यहाँ हुने दुर्घटना प्रायः सबै मानवीय गल्तीका कारण हुन्छन् । प्रायः सडकको दुरवस्था, ट्राफिक नियमको उल्लंघन, गति सीमाको उल्लंघन, भार सीमाको उल्लंघन, सवारी साधनको दुरवस्था र चालक वा दोस्रो पक्षको लापरबाहीका कारण नै दुर्घटना हुने गरेको पाइन्छ । नेपालमा मात्र होइन, विश्वभर विभिन्न कारण अकालमा ठूलो संख्यामा मानिसहरू मरिरहेका छन् । यसको तुलना गर्ने हो भने कोरोनाको कारण मर्नेको संख्या उल्लेख्य हुन आउँदैन ।
कारोना भाइरसको प्रभाव गरिब मुलुकमा खासै देखिंदैन । तुलनात्मक रूपमा दूषित र प्राकृतिक जीवनयापन गर्ने मानिसहरूमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले यसो भएको हुन सक्छ वा यो संयोग मात्र पनि हुन सक्छ । विश्वका १ सय ४८ देशमा कोरोना फैलिसक्दा धेरै गरिब मुलुकमा अझै संक्रमण देखिएको छैन । नेपालसहित २२ गरिब मुलुकमा एक-एक जना संक्रमित भई निको भइसकेका छन् । विश्वको दोस्रो ठूलो जनसंख्या भएको चीनको सीमा जोडिएको देश भारतमा १ सय १३ जना संक्रमित भई २ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या उच्च हुनेमा चीनपछि इटली, इरान, कोरिया, स्पेन, जर्मनी, फ्रान्स, अमेरिका, स्वीजरल्यान्ड, डेनमार्क र बेलायत छन् ।
२०७२ सालको भूकम्पका कारण नेपालमा सयौं व्यक्तिमा गम्भीर मानसिक र मनोवैज्ञानिक समस्या देखा परेको थियो । कोरोना संक्रमितको सम्पर्क हुँदैमा सबैलाई सर्दैन, सरे पनि सबै मर्दैनन्, सकेसम्म सावधानी अपनाउने हो, मर्नैपर्ने एकाध मानिसमा आफू परिएछ भने पनि ठीकै छ भनेर मनोबल बढाउने वातावरण सिर्जना गर्नुपर्छ । कोरोनाको कारण उत्पन्न शारीरिक स्वास्थ्य समस्या र यसको रोकथामका लागि गरिने खर्च भन्दा ठूलो समस्याका रूपमा मानसिक रोग निम्तिने र अर्थतन्त्र सखाप हुने सम्भावनातर्फ सम्बन्धित पक्षले समयमै ध्यान पु-याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्