औद्योगिक क्षेत्रमा कोरोना संक्रमण «

औद्योगिक क्षेत्रमा कोरोना संक्रमण

 

मोरङ–सुनसरीमा ३० प्रतिशत उत्पादन घट्यो

विराटनगर-विश्वभर फैलिएको कोरोना भाइरसको असर औद्योगिक क्षेत्रमा पनि देखिन थालेको छ । कोरोनाको सन्त्रासकै कारण मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगको उत्पादनमा ३० प्रतिशतले ह्रास आएको छ ।
मनोवैज्ञानिक त्रासका कारण मजदुर काममा नआउँदा र कच्चा पदार्थसमेत अभाव हुँदा उत्पादनमा ह्रास आएको हो । २० प्रतिशतभन्दा बढी मजदुर काममा आउन छाडेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । “चारैतिर कोरोनाको मनोवैज्ञानिक त्रास फैलएको छ,” घिमिरेले भने, “जसका कारण मजदुरहरू आउनै छाडेका छन् । अझ कच्चापदार्थको समेत अभाव हुन थालेको छ ।”
यो क्षेत्रमा साना ठूलो गरी करिब ६ सय उद्योग सञ्चालनमा छन् । ती उद्योगमा झण्डै १ लाख २५ हजारले काम गर्दछन् । चीनबाट कच्चापदार्थ आउन छाडेको छ । यो क्षेत्रका धेरै उद्योगले भारतपछि सबैभन्दा बढी चीनबाट कच्चा पदार्थ आयात गर्दछन् । कोरोनाको असर औद्योगिक क्षेत्रमा देखिन सुरु भइसकेको घिमिरेले बताए । उनले तत्कालै सरकारले निकट भविष्यमा आइपर्ने समस्यासँग जुध्न तयारी गर्नुपर्नेमा जोड दिए । अमेरिका, युरोप, चीन, भारतलगायत विश्वका शक्तिशाली राष्ट्रहरूमा समेत आर्थिक संकट देखिएकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने उनको भनाइ थियो ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले देशमा आर्थिक संकटकाल घोषणा गर्न माग राखे । “आर्थिक क्षेत्रमा शिथिलता आइसकेको छ,” मुन्दडाले भने, “उद्योगी व्यवसायीहरू फेल हुने अवस्था आइसकेको छ । अरु मुलुकबाट पाठ सिकेर नेपाल सरकारले पनि छिट्टै आर्थिक संकटलाई सामना गर्ने योजना बनाउनुपर्छ ।” कोरोनाभित्र आर्थिकमन्दी लुकेर आएको उनले बताए । अत्यावश्यक वस्तुबाहेक अन्य सामान बिक्री हुन छाडेको मुन्दडाको भनाइ थियो । जसका कारण उद्योगहरू संकटमा पर्ने अवस्था आएको मुन्दडाले बताए ।
“बिक्री नभएपछि उत्पादन गर्ने कुरै आउँदैन,” मुन्दडाले भने । यो क्षेत्रमा सबै खाले उद्योग छन् । कच्चापदार्थमा आत्मनिर्भर कुनै पनि उद्योग छैनन् । नयाँ लगानीसमेत ठप्प रहेको अध्यक्ष घिमिरेले बताए । “अहिले कोरोनाको सन्त्रासका कारण मानिसमा कुनै जोश, जाँगर र उत्साह छैन,” घिमिरेले भने, “नयाँ उद्योग खोल्ने, व्यापार व्यवसाय गर्नेतर्फ मान्छेको ध्यानै छैन । जसका कारण मुलुक आर्थिक मन्दी आउने निश्चित छ ।”
संघका निवर्तमान अध्यक्ष पवनकुमार सारडाले बैंकको सावा र ब्याज तिर्ने समय असार मसान्त पु-याउन आग्रह गरे । चैत मसान्तभित्र बैंकको किस्ता तिनुपर्ने हुन्छ । त्यो समय थप गरेर असार मसान्तसम्म पु¥याउनुपर्नेमा उनले जोड दिए । त्यस्तै बेसरेटको आधारमा बैंकहरूले ब्याज लिने व्यवस्था मिलाउनसमेत उनले माग अघि सारे । जसले गर्दा उद्योगी व्यवसायीहरूले थोरै भए पनि राहतको महसुस गर्ने उनको कथन थियो । “कोरोनाले आर्थिक क्षेत्रमा निम्त्याएको संकटबाट बाहिर निस्कन बेसरेटलाई क्यालकुलेट गरेर किस्ता लिनुपर्छ,” सारडाले भने, “हामीजस्ता लगानीकर्तालाई राति निन्द्रा लाग्न छाड्यो । चैत मसान्तसम्म किस्ता र ब्याज तिरेन भने बैंकको घन्टी बज्न थाल्छ ।”
उद्योगी महेश जाजुले कोरोनाको भन्दा बैंकको चिन्ताले सताएको बताए । बजारमा छाएको मन्दीका उत्पादित वस्तुसमेत बिक्रीमा कमी आएको उनको कथन थियो । “अत्यावश्यक वस्तुबाहेक अन्य उत्पादन बिक्री हुन छाडेको छ,” जाजुले भने, “यसले दीर्घकालसम्म असर पर्ने देखिएको छ ।”

 

प्रतिक्रिया दिनुहोस्