जुम्लामा उद्योग स्थापना हुने क्रम बढ्यो

जुम्ला-जुम्लामा सडकको पहुँच विस्तार भएसँगै कच्चा पदार्थको सहज आपूर्ति र उत्पादित वस्तुको सहजै निर्यात हुने भएपछि उद्योग स्थापना हुने क्रम बढेको छ । कर्णालीमा पाइने जडिबुटी, स्याउ, सिमी, ओखरको सदुपयोग गर्दै उद्योग स्थापना हुन थालेका हुन् । सडक सञ्जाल विस्तारले उत्पादित वस्तु निर्यातमा पनि सहज भएको छ ।
सयौंको संख्यामा कुटानी पिसानी मिल, नेपालकै पहिलो यार्सा मिनिरल वाटर, एपी ब्रान्डी अर्गानिक मदिरा उद्योग कर्णालीका नमुना उद्योग हुन् ।यी उद्योगले रोजगारीको सिर्जना मात्र गरेका छैनन्, मुनाफासमेत आर्जन गर्न थालेका छन् ।त्यसै क्रममा देशकै ठूलो अर्गानिक मदिरा उद्योग एपी ब्रान्डी जुम्लामा सञ्चालनमा आएको छ । यो उद्योग देशकै सबैभन्दा ठूलो अग्र्यानिक मदिरा उद्योग हो । फलफूल प्रशोधन गरी मदिरा उत्पादन गर्ने एपी ब्रान्डी देशभरिमै सबैभन्दा बढी लगानीमा स्थापना भएको अग्र्यानिक मदिरा उद्योग पनि हो ।
पाँच वर्षअघि ०६८ सालमा २ करोड रुपैयाँको लगानीमा स्थापना भएको उद्योगले प्रत्येक वर्ष गति लिँदै गएको छ । योसँगै कर्णालीमा ठूला लगानीका उद्योग स्थापना हुन थालेका छन् । कुनै बेला सामान्य तयारी वस्तुसमेत बाहिरबाट ल्याउनुपर्ने कर्णालीमा अहिले आन्तरिक उत्पादन निर्यात हुन थालेको छ । प्रविधिको सहज पहुँच राम्रोसँग नभएको जुम्लामा स्थापित उद्योगले पाँच वर्षको अवधिमा पाँच गुणा पुँजी वृद्धि गरेको छ । “हाम्रो मेहनत र धैर्यताकै कारण पाँच वर्षमा १० करोड रुपैयाँको पुँजी पुर्याउन सफल भएका छौं,” एपी ब्रान्डी उद्योगका निर्देशक प्रेम महतले भने, “बजारीकरण शसक्त भएका कारण वार्षिक १ करोड रुपैयाँ नाफा हुने गरेको छ ।” विज्ञान विषय अध्ययन गर्न काठमाडौं गएर फर्किएका महतले जुम्लामा उद्योग स्थापना गरेका हुन् ।
तीन प्रकारका मदिरा उत्पादन
एपी ब्रान्ड उद्योगमा अहिले तीन प्रकारका मदिरा उत्पादन हुने गरेका छन् । यो उद्योगले स्याऊको जुसबाटै स्पाइनी बेब्लर, टर्बो र साइडर नामक अर्गानिक मदिरा उत्पादन गरिरहेको छ । यहाँ उत्पादित मदिरा राजधानीलगायत नेपालका विभिन्न सहर र विदेशमा समेत निर्यात हुँदै आएको छ ।
दैनिक एक हजार लिटर मदिरा उत्पादन क्षमता भएको उद्योगले धेरैलाई रोजगारीसमेत दिएको छ । आन्तरिक र वाह्य बजार विस्तार गर्ने क्रम पनि जारी रहेको निर्देशक महतले बताए । “जुम्लाका उत्पादित स्याऊले बजार भाउ नपाएको अवस्थामा स्याउ खरिद गरी किसानलाई राहत दिन सफल भएका छौं,” उनले भने, “उद्योग स्थापना भएपछि किसानलाई पनि व्यावसायिक बनाउन सहयोग पुगेको छ ।”
एक सयभन्दा बढीलाई रोजगार
एपी ब्रान्ड उद्योगले सिजनअनुसार कर्मचारी भर्ना गर्ने गरेको छ । स्याउ टिप्ने समयमा एक सयभन्दा बढी युवालाई रोजगार दिने गरेको उद्योगले जनाएको छ । किसानकै बगैंचामा पुगेर स्याउ टिप्ने, उद्योगमा ल्याउनेलगायतका काममा युवाहरूलाई लगाउने गरिएको छ । अहिले पनि यो उद्योगमा ७० जनाभन्दा बढीले रोजगारी पाइरहेका छन् ।“कर्णालीका बेरोजगार युवालाई रोजगारी दिने संकल्पका साथ उद्योग खोलिएको हो,” निर्देशक महतले भने, “उद्योगको क्षामताले धान्ने गरी नै बेरोजगार युवालाई रोजगारी दिएका छौं ।”कर्णालीमा उद्योग स्थापनाका लागि थुप्रै लगानीकर्ता उत्सुक भए पनि सबै ठाउँमा सडक सञ्जाल पुगिनसकेकाले समस्या देखिएको छ । “हामीले स्याउ प्रशोधन, जडीबुटीलगायत यहाँका स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न लगानी गर्ने सोच बनाएका छौं,” अर्का व्यवसायी गणेश रोकायाले भने, “सबै ठाउँमा सडकको पहुँच पुगेमा लगानी गर्न सहज हुन्छ ।” उनले दक्ष जनशक्तिको भने अभाव रहेको बताए ।
यार्सा मिनिरल वाटर उत्पादन हुँदै
कर्णालीमा शुद्ध खानेपानी आपूर्तिका लागि स्थापना गरिएको पानी प्रशोधन उद्योगले पनि गति लिएको छ । ६ जना व्यवसायीले मिलेर स्थापना गरिएको उद्योगमा १ करोड १० लाख रुपैयाँभन्दा बढीको लगानी रहेको व्यवसायी रोकायाले बताए ।सुर्खेतमा पनि मिनरल वाटरको उत्पादन भई नसकेका बेला कर्णालीमा उत्पादन हुने यार्सा मिनरल वाटरले नेपालगन्ज, सुर्खेतलगायत बजारमा व्यवसाय विस्तार गरिसकेको छ । पटमाराको उर्थुमा स्थापना गरेको ‘यार्सा’ पानी उद्योगले राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलमासमेत पानी पुर्याउँदै आएको छ । सोलारबाट सञ्चालन गरिएको उद्योगका उत्पादनले बजार लिँदै गर्दा इन्धनको समस्या भने भोग्ने गरेको छ ।
सागर परियार