पुस्तक र शिक्षक बिनै परीक्षा दिँदै बालसुधार गृहका विद्यार्थीहरू «

पुस्तक र शिक्षक बिनै परीक्षा दिँदै बालसुधार गृहका विद्यार्थीहरू

नेपालगन्ज-शैक्षिक सत्रअनुसार यस वर्षको आधारभूत तथा मावि तहको परीक्षा आइतबारदेखि सुरु भएको छ । आधारभूत तहको जिल्लास्तरीय परीक्षा सुरु आइतबारदेखि भएको छ भने चैत ६ देखि एसईई परीक्षाको मिति तय भइसकेको छ । तर, बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा रहेका विद्यार्थीहरू पाठ्यपुस्तक र शिक्षक बिनै हचुँवाकै भरमा परीक्षा दिएका छन् । सुधारगृहमा डेक्स बेन्च, कक्षा कोठासहितको ४ कोठे विद्यालय भवन भए पनि अध्यापन स्वीकृति पाउन सकेको छैन ।
जसका कारण कक्षा ५ देखि १२ सम्म अध्ययनरत ७६ जना विद्यार्थी पाठ्यपुस्तक र शिक्षकको अभावमा परीक्षा दिन बाध्य भएको सुधारगृहका प्रमुख विमला काउँचा मगरको भनाइ छ । बालसुधार गृहका विद्यार्थीहरूको हितलाई ध्यानमा राखी शिक्षकको व्यवस्था गरिदिन सरोकारवाला निकायमा अनुरोध गरिएको उनको भनाइ छ । ७५ जनाको क्षमता रहेको सुधार गृहमा ८ वर्षदेखि बढीमा २२ वर्षसम्मका एक सय ३६ जना बालक छन् । बाँके, बर्दिया, दाङलगायत विभिन्न जिल्लाका उनीहरूलाई क्षमताभन्दा बढीलाई राखिएका कारण पढ्न झनै समस्या भएको त्यहाँ रहेका विद्यार्थीहरू वताउँछन् । ०७५ भदौ ३ मा स्थापना गरिएको सुधार गृहबाट यस वर्षको एसईई दिने ८ जना विद्यार्थी छन् ।
विद्यालयमा केही विषय विद्यार्थीहरूले स्वःअध्ययन गरे पनि अंग्रेजी, गणित, विज्ञानलगायतका मुख्य विषय नपढेरै परीक्षा दिनुपर्दा निकै गाह्रो भएकाले शिक्षकको व्यवस्था हुनुपर्ने विद्यार्थीहरूको भनाइ छ ।सुधारगृहले गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइसँग शिक्षक माग गर्दै आएको छ । विद्यालयले स्वीकृति नपाएका कारण स्थायी शिक्षकको व्यवस्था गर्न नसकिएकोे शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । “नियमित दरबन्दी नभए पनि अस्थायी किसिमको दरबन्दी सिर्जना गर्न पहल थालेका छौं,” समन्वय एकाइ प्रमुख रामसुरेश यादवले भने । नेपालको संविधानले हरेक नागरिकलाई शिक्षासम्बन्धी हकको प्रत्याभूत गरेको छ ।
प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरिएको छ । तर, जबरजस्ती करणी, लागूऔषध, अवैध हतियार, मानव बेचबिखनलगायत विभिन्न अभियोग लागेर सुधार गृहमा आएका बालकहरू भने यो अधिकारबाट बञ्चित हुँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्