महरा सभामुखमा निर्विरोध निर्वाचित

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा शनिबार बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ को नियम ६(३) बमोजिम महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा उनको मात्र उम्मेदवारीको सूचना परेपछि निर्विरोध भएको संघीय संसद् सचिवालयले जनाएको थियो । बैठकमा नेकपा(एमाले)का नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले महरालाई सभामुखमा निर्वाचित गर्न प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरे ।
सो बैठकमा प्रस्तावक तथा समर्थकले लामो संसदीय अनुभवको गरिमालाई कायम राख्दै संविधान कार्यान्वयनका लागि विभिन्न कानून तयार गर्नुपर्ने र मुलुकको समृद्धिका लागि संसद्लाई एक ढिक्का बनाएर अघि बढाउन महराको नेतृत्वले काम गर्नसक्ने अपेक्षा गरेको बताए । सो प्रस्तावको नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजालले समर्थन गरेका थिए । उनले सबै पक्षलाई समेटेर र आवश्यक पर्दा सरकारलाई सहयोग, सचेत र निर्देशन गर्नेगरी भूमिका निर्वाह गर्न आग्रह गरे ।
निर्वाचित भएपछि सभामुख महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताए । सभामुखमा निर्वाचित भएको औपचारिक घोषणापछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान कार्यान्वयनका लागि आवश्यकपर्ने कानून निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । सभामुख महराले भने, “सबै राजनीतिक दलले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ, अब मुलुकलाई आवश्यक पर्ने कानून निर्माणमा मेरो प्राथमिकता हुनेछ ।”
उनले सबै नेपाली जनताको आस्था र मनोविज्ञानलाई सम्बोधन गर्ने र सबै समस्याको निकास निकाल्ने थलोका रुपमा संसद् रहेकाले त्यसलाई मनन गरेर आफू अघि बढ्ने बताए । निर्वाचित भएपछि महरालाई प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका सांसद र संसद् सचिवालयका कर्मचारीले बधाई दिएका थिए ।
शपथ आज |