साताभरमा नेप्से ३१ अंकले घट्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा यो साता उच्च अंकको उतारचढाव देखियो । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार अनुत्पादक क्षेत्र भनेपछि सेयर बजारमा अस्वाभाविक उतारचढाव आएको हो ।
यो साताको सुरुवातमा उच्च अंकले घटेको नेप्से पछिल्ला दिनहरुमा बढेको थियो । यो साता नेप्सेमा ४ दिन सेयर किनबेच भएको छ । सोमध्ये सुरुका दिनमा नेप्से घटेको थियो भने पछिल्ला २ दिन बढेको थियो ।यो साताको पहिलो दिन आइतबार कारोबार सुरु हुँदा १३४५.९९ अंकमा रहेको नेप्से ३०.८६ अंकले घटेर १३१५.१३ अंकमा झरेको छ । नेप्सेसँगै क वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ५.९२ अंकले घटेको छ ।
यो साताभर नेप्सेमा कारोबार भएका सबै समूहगत परिसूचक घटेका छन् । नेप्सेमा बैंकिङ १९.२, विकास बैंक १२.९७, वित्त १०.१२, लघुवित्त ५८.१२, जलविद्युत् ५५.१, उत्पादनमूलक ९०.८, होटल ७८.३६, व्यापार २.९६, अन्य २६.३१ र बिमा समूह २०९.०१ अंकले घटेका छन् ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीहरुको २२ हजार ४ सय ३७ कारोबारबाट एक अर्ब ७९ करोड ४७ लाख ९८ हजार रुपैयाँ बराबरका ४७ लाख ९३ हजार एक सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यो कारोबार रकम गत साताको तुलनामा ८.६१ प्रतिशतले कम हो । गत साता नेप्सेमा १७४ कम्पनीहरुको १८ हजार ७५ कारोबारबाट एक अर्ब ९६ करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरका ४५ लाख २६ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यस साता कारोबार रकम (११ करोड १८ लाख ६० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख एक हजार कित्ता) को आधारमा पनि सानिमा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (११०८ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता पनि संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।