तेह्रथुमको वसन्तपुरमा चोरलुङ पार्क निर्माण सुरु «

तेह्रथुमको वसन्तपुरमा चोरलुङ पार्क निर्माण सुरु

स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरू विकासे काममा व्यस्त छन् । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनमा जनप्रतिनिधिलाई भ्याइनभ्याई छ । सिंहदरबारको अधिकार गाउँमा आएको महसुस गराउन जनप्रतिनियिधहरू नयाँनयाँ योजना र कार्यक्रमको डिजाइनमा समय खर्चिरहेका छन् । गाउँ तथा नगरलाई कस्तो बनाउने भन्ने जिम्मेवारी पाएपछि धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जुटेर यसको संरक्षण संवद्र्धनमा समेत लागिपरेका छन् ।
सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देस्यले लालिगुराँस नगरपालिकाले ऐतिहासिक चोरलुङ (सिद्धि प्राप्ति) पार्क बनाउन सुरु गरेको छ । लिम्बु जातिको अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र निर्माण गर्ने उद्देस्यका साथ चोरलुङ पार्क निर्माण कार्य सुरु गरिएको नगरप्रमुख अर्जुन माबोहाङले बताए । आदिमकालदेखि आफ्नै भाषा, लिपी, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज रहेको लिम्बु जातिको पुरातात्विक सभ्यताको भग्नावशेष जगेर्ना गर्ने अभिप्रायले यो पार्क बनाउने निर्णय भएको प्रमुख माबोहाङको भनाइ छ । “यो पार्क बनाउन आव ०७४÷७५ मा नगरपालिकाले तीन लाखमात्र बजेट छुट्याएको छ तर अन्य शीर्षकबाट मिलाएर यस वर्ष १० लाखसम्मको काम गर्ने लक्ष्य छ,” नगरका प्रशासकीय अधिकृत सुवाष श्रेष्ठले भने ।
नगरप्रमुख माबोहाङका अनुसार आदिम कालमा लिम्बु जातिको युमा(पितृ)ले प्रयोग गरेको युमाथाक्थाक खिबोमा (तान्ने बुन्ने ठाँउ) र युमा थाक्थाक् खिबेलुङ (धागो अड्याउने खम्बा) पार्कको विशेषता हो । ढुंगाको युमाथाक्थाक खिबोमा र युमाथाक्थाक् खिबेलुङ ठड्याउने कार्य भइसकेको छ । यसको उचाइ आठ फिटसम्मको छ ।
वसन्तपुर बजारनजिकै अल्केडाँडामा निर्माण भइरहेको चोरलुङ पार्कमा ऐतिहासिक तानको साथमा नेन्दुरी सोसिक्मालुङ र पासाङगा थाङमेनालुङ (ढुंगाको तराजु) समेत रहने छ । मानव सम्भताको सुरुवात भएपश्चात बिहावारी गर्दा यही तराजुमा जोखिएर मात्र तौलअनुसार निर्णय लिनुपर्ने किंवदन्ती लिम्बु समुदायमा छ । महिलाभन्दा तौल बढी भएमात्र पुरुषले बिवाह गर्न पाउने प्राचीन सभ्यता रहेको संस्कृतिविद् आइत खजुमले बताए । “परापूर्वकालमा यही तराजुले नयाँ बेहुलाबेहुलीको आयु बताउने गरेको किंवदन्ती छ,” उनले भने, “उक्तस्थलमा युमा(पितृ)ले प्रयोग गर्ने लुम्सुम्(जाँतो) र सुम्बाङ(ओखल) पनि रहनेछ ।”

करिब ५० रोपनी क्षेत्रफलमा निर्माण हुने यो पार्कको पूर्वपट्टिको भागमा लिम्बु जातिको आदिम राजा सावा येहाङको सभ्यतालाई पुनर्निर्माण गरिने भएको छ । आदिमकालको सभ्यतालाई प्रतिविम्बित गराउने सावायेहाङ पाङभे(गाँउ)मा आठवटा परम्परागत घर निर्माण गरिने नगरप्रमुख अर्जुन माबोहाङले बताए । “तत्कालीन लिम्बु जाति बसोबास गर्ने चाँपका कलात्मक आकृतिका घरहरू बन्नेछन् जस्ले आदिम सभ्यताको झल्को दिनेछ ।” उनले भने, परापूर्वकालमा युमा(पितृ) सोहीस्थानमा अल्पेको दत्यकथा रहेकाले चोरलुङ पार्क बनाउन सुरु गरेका हांै ।” यहीस्थानमा लिम्बुहरूको तुतु तुम्याङ(भद्र भलाद्मी)हरूले चोरलुङ प्राप्त गर्ने जानकारहरू बताउँछन् ।
लिम्बु जातिको संस्कार चलाउने फेदाङमा, येवा, साम्बा, अजुवा, बिजुवालगातयका शास्त्रीय ज्ञान भएका मन्त्रधारीहरू पछिल्लो समय लोप हुदै जाँदा लिम्बु सभ्यता र संस्कार नै धरापमा परेको निष्कर्ष निकाल्दै यहीस्थानमा उत्पादन गरिने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । पार्क निर्माण पश्चात लिम्बुहरूको जन्म, विवाह, मृत्युलगायत सामाजिक तथा सामूहिक कार्यसमेत यहीं गरिने छ भने उभौली यक्वा, उद्यौली चासोक थिसोक तङनाम संयुक्त रूपमा हुनेछ ।
भोगबलि तथा धुम्रपान मध्यपानरहित पवित्रस्थल मानिएको यस चोरलुङ पार्कमा लिम्बु जातिको संग्रालयसमेत बन्ने र आगामी वर्षसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य नगरपालिकाको छ ।

प्रकाश पाक्साँवा

 

प्रतिक्रिया दिनुहोस्