जग्गा उपलब्ध गराएको २ दशकपछि बसपार्क निर्माण हुदै

फिदिम नगरपालिका–२ पल्लोटारको स्थानीयवासीहरूले बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराएको करिब दुई दशकपछि बसपार्क निर्माणकार्यले गति लिएको छ । यातायात व्यवसायीहरूले पल्लोटारमा बसपार्क सार्ने विषयमा पटकपटक अवरोध गरेका थिए ।
पूर्वाधार र सम्भाव्यतालाई हेरेर मात्र बसपार्कमा सवारी पार्किङ थालिने यातायात व्यवसायीले अडान लिएपछि मात्र पूर्वाधार निर्माणकार्य सुरु गरिएको हो । यसअघि पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट अभावकै कारण बसपार्कका लागि प्राप्त भएको करिब साढे सात रोपनी जग्गा लामो समयसम्म बेवारिसे अवस्थामा रहेको थियो । “नयाँ सहर आयोजनाले पूर्वाधार निर्माणलाई पनि प्राथमिकताका साथ लिने गरेको छ,” नयाँ सहर आयोजनाका रामप्रसाद सापकोटाले भने, “बजेट छुट्टिएपछि बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।” सरकारले यसअघि पटकपटक गरी करिब २० लाख रुपैयाँ बसपार्कको पूर्वाधार निर्माणका लागि छुट्याएको थियो । जसबाट चर्पी, यात्री प्रतीक्षालय र टिकट काउन्टरका लागि भवन निर्माण भएको थियो ।
तीन वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नयाँ वर्षको अवसर पारेर बसपार्कको उद्घाटन गरेका थिए । व्यवस्थित बसपार्क सञ्चालनका लागि पर्याप्त पूर्वाधार निर्माण नभएको भन्दै यातायात व्यवसायीले सवारी पार्किङ गर्न नमानेपछि पूर्वाधार निर्माण थालिएको हो । स्थायी रूपमा सञ्चालन गर्न लागिएको बसपार्कमा पूर्वाधार निर्माण नभएको र सुरक्षाको कारण देखाउँदै यातायात व्यवसायीहरूले फिदिम–१ स्थित फिदिम उच्च माविको जग्गामा रहेको अस्थायी पार्किङस्थलमा सवारी पार्किङ गर्दै आएका छन् । नयाँ सहर आयोजनाले पूर्वाधार निर्माणका लागि बजेट छुट्याएपछि जग्गा प्राप्त भएको झण्डै दुई दशकपछि मात्र पूर्वाधार निर्माणको काम अघि बढेको हो । पूर्वाधार निर्माणका लागि नयाँ सहर आयोजनाबाट एक करोड ८७ लाख ८६ हजार ५२१ रुपैयाँ छुट्याइएको छ ।
अहिलेसम्म बसपार्क निर्माणको ७५ प्रतिशत काम पूरा भएको निर्माण कम्पनीका सुपरभाइजर सन्तोष थापाले जानकारी दिए । “अधिकांश काम सकिएको छ,” उनी भन्छन्, “यही फागुन मसान्तभित्रमा सबै काम सक्ने लक्ष्यका साथ कामअघि बढाइरहेका छौं ।” बसपार्कमा नाली निर्माणको काम सकिएको छ । त्यस्तै वाल रिपेयरिङ र सोकपिडको काम सम्पन्न भएको छ । क्याचपिड र ढलानको काम अन्तिम चरणमा पुगेको छ । प्रतीक्षालयको छानो हाल्ने काम भने बाँकी छ । यात्रु बस्ने ठाउँ र ५० मिटर पिच गर्ने काम बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ । बसपार्क निर्माणको ठेक्का हिम्दुङ एण्ड थोकर/पाथिभरा/शुभकामना जेभी निर्माण कम्पनीले लिएको थियो । नयाँ सहर आयोजनासँग उक्त निर्माण कम्पनीले दुई वर्षभित्रमा काम सक्ने गरी २०७३ फागनु ३० गते सम्झौता गरेर कामअघि बढाएको हो ।
–दिपक बोहोरा