रक्तसञ्चार केन्द्र सञ्चालन गर्न बजेट अभाव «

रक्तसञ्चार केन्द्र सञ्चालन गर्न बजेट अभाव

इलाममा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) को भवन निर्माण भएको आठ वर्ष बितिसक्दा समेत अझै सञ्चालनमा आउन सकेको छैन । भवनमा आवश्यक सामग्री जडान भइसके पनि कर्मचारीलाई दिने पारिश्रमिक अभावका कारण ब्लड बैंक प्रयोगमा आउन नसकेको हो । नेपाल रेडक्रस सोसाइटी इलाम शाखाको पहलमा सो ब्लड बैंकको भवन निर्माण भएको थियो ।
कर्मचारीलाई दिन सक्ने आर्थिक स्रोत जुट्नसाथ ब्लड बैंक सञ्चालनमा ल्याइने नेपाल रेडक्रस सोसाइटी इलाम शाखा सभापति देवी गौतमले जानकारी दिए । विभिन्न क्षेत्रबाट अर्थ संकलन गरेर जिल्लाको इलाम नगरपालिका–७ नारायणस्थानमा नेपाल रेडक्रस सोसाइटीको अगुवाइमा वि.सं ०६५/६६ मा नै रक्त सञ्चार केन्द्रको भवन निर्माण सम्पन्न भएको थियो । उनले भने, “ब्लड बैंक सञ्चालन गर्न सुरुमा कम्तीमा पनि २५ देखि ३० लाख आवश्यक पर्छ । यो रकम हामीसँग छैन ।” यसका लागी अहिले जिल्लामा सहयोगीको खोजी भइरहेको उनको भनाइ छ ।
बैंक सञ्चालन गर्ने उद्देश्यले स्थापना गरेको रक्तसञ्चार अक्षय कोषमा हाल १० लाख रुपैयाँ मौज्दात रहेको नेपाल रेडक्रस सोसाइटी इलाम लेखा शाखाका वसन्त तिम्सिनाले जानकारी दिए । ब्लड बैंकलाई आवश्यक पर्ने सम्पूर्ण सामग्रीको जडानसमेत भइसकेको छ । जडानका लागि युरोपियन मापदण्डका १४ लाख १८ हजार रुपैंयाँ बराबरको सामग्री जर्मन सरकारले उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्