पत्रकार साहको हत्याका मुख्य योजनाकार पक्राउ «

पत्रकार साहको हत्याका मुख्य योजनाकार पक्राउ

बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकारलाई प्रहरीले १२ वर्षपछि आइतबार बिहान पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी मुख्य योजनाकार भनिएका महागढीमाई नगरपालिका– ६ का कुन्दन फौजदारलाई सार्वजनिक गरेको हो । प्रहरीले फौजदारलाई शनिबार उनकै घरबाट पक्राउ गरेको थियो ।
प्रहरी उपरीक्षक कृष्ण पंगेनीको नेतृत्वमा खटिएको प्रहरी टोली फौजदारलाई पक्राउ गर्न जाँदा परिवार र स्थानीयले केही बेर अवरोध गरेको बताइएको छ । त्यसबेला परिस्थिति नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गर्नुपरेको प्रहरी उपरीक्षक पंगेनीले बताए।
आइतबार आयोजित पत्रकार सम्मेलनमा पंगेनीले पत्रकार साहको हत्यामा मुख्य योजनाकार फौजदारसहित पाँच जनाको संलग्नता रहेको बताए । २०६४ असोज १८ गते बाराको पिपरा बजारबाट अपहरणमा परेका साहको साहको शव कात्तिक २२ गते टांगियाबस्तीको जंगलमा भेटिएको थियो ।
घटनापछि लामो समय खुलेआम हिँडिरहेका फौजदार पछिल्लो समय भने लुकेर बसेका थिए । फौजदार घरमा आएको सूचना पाएपछि बारा प्रहरीको टोली राति २ बजे उनको घर पुगेको थियो । हत्यामा संलग्न लालबहादुर चौधरी धामी र हरेराम पटेल अझै फरार छन् ।
यसअघि यसै घटनामा संलग्न जीतपुर सिमरा उपमहानगरपालिका–२० बसडिल्वाका मेनेजर गिरी ११ वर्ष जेल सजाय भुक्तान गरी छुटिसकेका छन् । अर्का अभियुक्त रामएकवाल सहनी १० वर्षदेखि वीरगन्ज कारागारमा कैद भुक्तान गरिरहेका छन् ।
हत्यारालाई कारबाही गर्न भन्दै नेपाल पत्रकार महासंघले त्यसैबेलादेखि चरणबद्ध आन्दोलन गर्दै आएको थियो । स्वर्गीय पत्रकार साहका पत्नीसहित एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्