पहिलो भान्से रोबोट ‘फ्लीपी’

काठमाडौं । बर्गर युवापुस्ताका लागि मन पर्ने खाद्य आइटममा पर्छ पछिल्लो पुस्तामा । सबै खाले खाजा पाइने रेष्टुरेन्टदेखि वर्गरका मात्र छुट्टै रेष्टुरेन्टहरू काठमाडौंमा पनि छ्यास्छ्यास्ती पाइन्छ । नेपालमा ठिकै मात्रामा चर्चित देखिने बर्गर विदेशमा भने थप चर्चित खाद्यमा पर्छ । तपाईंले खाने बर्गर कसले बनाउँछ भन्ने खासै मतलब गर्नुहुन्न होला । तर, अब यस्तो बर्गर बनाउने काम रोबोटले गर्ने भएको छ ।
सभ्रान्त नेपालीहरूमा अझै पनि भान्छामा छुट्टै भान्छे राखेर मिठो खानेकुरा पठाउन लगाएर खाने प्रचलन छदैछ । तर, विश्वले भने अब भान्छेका रुपमा रोबोट राख्न थालेको छ । विकसित मुलुकमा ठूला ठूला कारखानादेखि सेवा उद्योगमा पनि रोबोटको प्रयोग हुन थालेको त छ नै, अब रेष्टुरेन्टको भान्सामा पनि रोबोटको उपस्थिति हुने भएको छ । अमेरिकाको क्यालिफोर्नियाको बर्गर चेनका रपमा रहेको पासाडेनास्थित कालीबर्गर रेस्टुरेन्टमा रोबोटले वर्गर बनाउन थालेको छ । यसरी बर्गर बनाउने रोबोटको नाम हो, फ्लिपी । यो रोबोटले पूर्णकालीन रोजगारी पाएको छ । अर्थात् दैनिक रेष्टुरेन्टमा आउने ग्राहकको डिमान्ड अनुसारको वर्गर बनाउने काम यही रोबोटले गर्नेछ ।
मिसो रोबोटोटिक्सले यसलाई बनाए पनि गत सेप्टेम्बरमा सन् फ्रान्सिस्कोमा आयोजित टेकक्रन्चको डिसरप्ट सम्मेलनमा यसको पहिलो प्रर्दशन गरिएको थियो । यसको प्रयोगबाट बर्गर सफा र सहज तरिकाले बनाउन सकिने भएको छ । व्यावसायिक भान्सा कोठामा राख्न सकिने रोबोट शृंखलाको पहिलो रोबोट फ्लिपी भएको कालीबर्गर रेस्टुरेन्टले जनाएको छ । केही महिनाको परीक्षण अवधिपछि फ्लिपीलाई कालीबर्गर रेस्टुरेन्टले काम दिएको हो । क्यालिफोर्निया फास्टफुड चेनले मेसिनको परीक्षण सफल रुपमा गरेपछि काममा लगाएको हो । कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट परिचालित हुने फ्लिपीले लन्च सिफ्टदेखि मानव सहकर्मीहरूसँग बर्गर फ्लिप गर्ने काम गरिसकेको छ । फ्लिपीले हरेक समय मानव सहकर्मीसँग काम गर्न सक्छ । अर्थात् फ्लिपीले आफ्नो कृत्रिम बुद्धिको मद्दतले बर्गर फ्लिप गर्न सक्छ र यसलाई पकाउन सक्छ ।
कालीबर्गरले मार्चमा आफ्ना कही रेस्टरन्टहरूका लागि मेसिनको परीक्षण गरेकोमा आफ्नो परीक्षण पूरा गरी एक रेस्टुरेन्टमा काम गर्न सुरू भइसकेको जनाएको छ । प्रविधि साइट टेकक्रन्चका अनुसार यो कम्पनीले अन्तराष्ट्रिय रूपमा विस्तार गरेका आफ्ना ५० रेस्टुरेन्टहरूको शृंखलामा फ्लिपीलाई काममा लगाउने योजना बनाएको छ । फ्लिपीको प्रयोगबाट यसक्षेत्रमा कार्यरत कामदारहरूमा रोजगार गुम्ने चिन्ता बढाएको छ । तर फ्लिपीलाई काम गर्न केही मानव सहयोगको आवश्यकता हुने भएकोले यो भयमा केही कमी आएको पाइएको छ । फ्लिपीले बर्गरहरू फ्लिप गरिरहँदा मानव सहकर्मीले ग्रिलमा काँचो मासुलाई राख्ने काम गर्छन् । फ्लिपीका निर्माताहरूले यो रोबोटले यस उद्योगमा केही ठोस निरन्तरता कायम गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । “भविष्यको भान्सा कोठामा सदैव मानिस हुनेछन् तर अहिले हामी भान्सामा मानिस र रोबोट हेरिरहेका छौं,” मिसो रोबोटिक्सका प्रमुख कार्यकारी डेभिड जिटोलको भनाइ उद्धृत गदै टेकक्रन्चले लेखेको छ ।
बर्गर बनाउने रोबोट आफैंले सबै काम गर्न सक्दैन, कुनै न कुनै रुपमा मान्छेको सहायता आवश्यक पर्छ । यसका साथै यो आफैंमा खर्चिलो प्रविधि पनि हो । कालीबर्गरका हरेक ठेगानामा फ्लिपीलाई जडान गर्न कम्तीमा ६० हजार अमेरिकी डलर खर्च हुनेछ । फ्लिपीको प्रयोगबाट व्यावसायिक भान्सा कोठालाई बढी भन्दा बढी प्रभावकारी बनाउन सक्ने रेस्टुरेन्टको विश्वास छ । सन् २०१९ का लागि कालीबर्गरका विभिन्न ५० स्थानहरूमा फ्लिपीलाई रोजगार दिइन सक्ने अपेक्षा गरिएको छ । यसका लागि एक ठूलो रकमको आवश्यकता हुनेछ । गत जुलाईमा मिसो रोबोटिक्सले ३१ लाख अमेरिकी डलर बराबरको रकम रणनीतिक लगानीकर्ताहरूबाट प्राप्त गरेको थियो । यो रकमका साझेदार अकासिया रिसर्च एन्ड म्याच रोबोटिक्स भीसी पनि रहेको जनाइएको छ ।
विश्वका ठूला प्रविधि कम्पनीहरूले लगानीलाई कम्प्युटर दृष्टि र एआईको प्रयोगले कार हाँक्न र घर व्यवस्थापन गर्न सक्ने स्थितिका लागि केन्द्रित गरिरहेका छन् । एआईको सहयोगले स्वचालित रकेट र हवाईजहाजदेखि बसहरूसम्म बनिसकेका छन् । काली ग्रुपले यस्ता प्रविधिको प्रयोग रेस्टुरेन्ट र खुद्रा उद्योगमा ल्याउन सहजीकरण गरिरहेको ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी जोन मिलरले बताए । नेसनल एसोसिएसन अफ रेस्टुरेन्टले गरेको अध्ययनअनुसार पहिले भन्दा अहिले ग्राहकहरूले घरको खाना भन्दा घरबाहिर खान बढी रूचाउने गरेको पाइएको छ । एकातिर तीव्रगतिमा रेस्टुरेन्टको विकास भइरहेको छ भने अर्कोतर्फ यस उद्योगमा अक्षमताको समस्या प्रचुर पाइएको छ ।
रेस्टुरेन्टका कामदारहरूको कारोबार सन् २०१६ मा सबैभन्दा बढी ११३ प्रतिशतमा पुगेको थियो । कालीबर्गरको भान्सा कोठामा मिसो रोबोटिक्सको सहभागिताले उसको रेस्टुरेन्टमा स्टाफहरूलाई ग्राहकहरूसँग खानेकोठामा बढी व्यस्त हुने अवसर दिनेछ । फ्लिपीलाई परिचालन गर्न कालीबर्गरले मिसो रोबोटिक्ससँग मिलेर पुनः तालिम दिनेछ । एआई प्रयोग गरिएको रोबोटिक सिस्टमले कालीबर्गरका रेस्टुरेन्टहरूमा सुरक्षित तवरले खाना तीव्रगतिमा बनाउन सक्ने क्षमता प्रदान गर्ने बर्गरका अध्यक्ष जोन मिलरले भने ।
नेपालमा यस्तो रोबोटको प्रयोग तत्काल नदेखिए पनि विश्वमा भएका नयाँ प्रयोगका बारे भने आविष्कार भएकै समयमा जानकारी लिन भने सकिन्छ । विकास र लगानीको दृष्टिकोणले नेपालमा भने तत्काल यस्ता बर्गर बनाउने वा भान्छामा काम गर्ने रोबोट तत्काल भित्रने अवस्था देखिँदैन । अमेरिकामा आइफोन एक्स सार्वजनिक भएलगत्तै अमेरिकनहरू फोन किन्न लाइन बसिरहेका बहुुसंख्यक अमेरिकनकै हात नपर्दै नेपालमै आइफोन एक्स चलाउने सोखिन जनता पनि रहेको नेपालमा कसैले यस्तो नौलो प्रयोग गर्न खोजेछ भने नेपालीले पनि छिटै नै यस्ता प्रविधि प्रत्यक्ष देख्न पाउलान् ।