Logo

पशुपालनमा युवा आकर्षित

पाल्पा– धन कमाउनकै लागि अरब र खाडी मुलुकमा युवाको लहर बढिरहेको बेला रामपुर नगरपालिका–४ सदावर्त बस्ने युवा विनोद श्रेष्ठले भने दूध बिक्री गरेर मनग्य कमाई गर्न थालेका छन् । व्यावसायिकरुपमा उन्नत जातका भैँसी तथा गाईबाट दूध बिक्री गरी खर्च कटाएर मासिक १ लाख बराबरको कमाई गर्छन् । उनले डेढ वर्षअघिदेखि व्यवसाय सञ्चालन गरेका हुन् । “दूध बिक्रीबाट एक महिनामा दुई लाखसम्म कमाई हुन्छ, खर्च कटाएर १ लाख नाफा लिएको छु, पशुपालनमा लगानीअनुसार मेहनत गरियो भने कमाइ राम्रै हुने रहेछ”, श्रेष्ठले भने ।
दश वर्षसम्म हेल्थ एन्ड रिसर्च सेन्टरमा काम गरेका श्रेष्ठले पशुपालनबाटै रामपुर नगरपालिकामा समृद्धि भित्र्याउने लक्ष्यका साथ यो व्यवसायमा लागेका हुन् । “प्रोजेक्टमा रहेर विशेष गरी तराई क्षेत्रमा काम गर्ने अवसर मिल्यो, त्यस क्षेत्रमा घरघरमा पालिएका पशुबाट कृषकले राम्रो कमाई गरेको देखेपछि मलाई पनि आफ्नै गाउँमै बसेर पशुपालन गर्ने इच्छा जाग्यो र जागिर छाडेर अहिले पशुपालनमा लागेको छु,” उनले भने ।
उनँको फार्ममा हाल नौ उन्नत जातका भैँसीमध्ये छवटा दुहुना भैँसीबाट ५० लिटर, आठवटा उन्नत जातका होलस्टिन र जर्सी गाईमध्ये पाँच गाईबाट ५० लिटर दूध उत्पादन गरी घरघरमा बिक्री गर्छन् । उनको फार्ममा उत्पादित दूध बजार लैजान नपाउँदै घरघरमा ग्राहकले लिने गरेका छन् । भैँसीको प्रतिलिटर ८५ र गाईको ७५ मा दूध बिक्री भइरहेको छ । फार्म व्यवस्थापनमा २५ लाख र गाईभैँसी खरिदमा रु २० लाख लगानी परेको छ । उनले व्यवसाय बढाउने सोच बनाएर ३० वटा पशु अट्ने क्षमताको फार्म निर्माण गरेका छन् । व्यवसायलाई बढाएर ५० वटा भैँसी र गाई पु¥याउने र त्यसबाट मासिक ७ लाखसम्म कमाई गर्ने लक्ष्य छ । ग्राहकले गाईको दूधभन्दा बढी भैँसीको दूध मन पराउने हँुदा भैँसीको संख्या बढाउने उनी बताउँछन् ।

यहीँ व्यवसायबाट पाँचजनालाई रोजगारसमेत दिएका छन् । आफ्नै ३५ रोपनी जग्गामा विभिन्न प्रजातिका घाँस लगाएका छन् भने व्यवसाय बढाएर जग्गा भाडामा लिई ९० रोपनी क्षेत्रफलमा घाँस लगाउने तयारी भइरहेको छ । आफ्नै करिब दुई रोपनी जग्गामा व्यवसाय चलाएका श्रेष्ठको पशुपालन व्यवसाय अहिले रामपुरमा अवलोकनयोग्य बनेको छ ।

प्रतिक्रिया दिनुहोस्