Logo

रंगभन्दा मास्क खोज्ने बढी

इलाम-‘पोहोरजस्तो खेल्न पाइएन यसपालि होली,’ सोमबार इलाम बजारमा भेटिएका लक्ष्मण चम्लागाइँले विगतको होली स्मरण गर्दै भने, ‘खेलौँ भने भिडभाडमा गइन्छ, कोरोना भाइरस लाग्ला भन्ने डर ।’
उनले भनेजस्तै बिहानैबाट होली खेल्न रंग बोकेर सडकमा निस्किने बालबालिका समेत यस वर्ष कतै भेटिएनन् । कारण हो– कोरोना भाइरस । बिगतमा होली खेल्ने बालबालिका यसवर्ष परीक्षा लेख्नमै ब्यस्त रहे । रंगैरंगको पर्व भनेर चिनिने होलीमा पनि यस वर्ष पहाड रंगिन सकेन । दुई दिनसम्म मनाइने होली पहाडमा पहिलो दिन मनाउने गरिन्थ्यो तर यस वर्ष बजारी क्षेत्रहरु नै प्रायः सुनसान बनेका छन् ।
होलीको पहिलो दिन सोमबार इलाम लगायतका पूर्वी पहाडी जिल्ला सुनसान बनेका छन् । सरकारले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण जोखिम बढ्ने भन्दै सार्वजनिक स्थलमा भिड जम्मा नहुन निर्देशन दिएसँगै पहाडी जिल्ला होलीमा पनि सुनसान भएका हुन् । सार्वजनिक स्थानमा भिड बटुल्ने कार्यक्रम गर्ने, भिडभाड हुने जस्ता कुरामा रोक लगाएपछि होलीमा पहाड नरंगिएको हो ।
यस वर्ष पूर्वी पहाडका इलामलगायत जिल्लाका बजार समेत प्रायः सुनसान झै बनेका छन् । सरकारले बिदा दिए पनि सार्वजनिक स्थानमा भिड जम्मा नहुन निर्देशन दिएपछि विगत वर्षहरुमा पर्वकै रुपमा मनाइने होली यस वर्ष निराशामा बिताउनु परेको स्थानिय दिनेश राईको भनाइ छ ।
सामाजिक सद्भावको रुपमा मनाइँदै आएको होली पर्वमा रंग दलेर नमनाइए पनि हार्दिकता साटासाट भएको इलाम नगरपालिकाकी गंगा थपलियाले बताइन् । “घरभित्रै बसेर भए पनि मनाइयो नि,” उनले भनिन् । पूर्वी पहाडी जिल्लामा सबै समुदायले सांस्कृतिक उत्सवका रुपमा होली पर्व मनाउने गर्थे । यस पटक कोरोना भाइरसका कारण होली नमनाइँदा बजार पनि सुनसान बनेका हुन् । जिल्ला प्रशासन कार्यालय इलामले केहि दिनअघि नै सार्वजनिक सूचना जारी गर्दै भिड जम्मा हुने कार्यक्रम नगर्न भनेको छ । होली मनाउन नपाउँदा खल्लो महसुस भए पनि स्वास्थ्य प्रतिको सचेतना भएकाले अनौठो नलागेको इलामका स्थानीयको भनाइ छ । विगतका वर्षमा ठूलै चाड जस्तो लाग्ने गरेको भएपनि यस वर्ष खासै वास्ता नभएको दिपक शर्माको भनाइ छ । उनले पनि यस वर्ष होलीको नाममा टीका समेत नलगाएको बताए ।
बजार क्षेत्रमा बिगत वर्षहरुमा होली सम्वन्धि नै छापिएका टिसर्ट लगाएर, रंग शरीरभर दलेर होली खेलिए पनि यस वर्ष केहीले टीका मात्र लगाएका छन् भने केहीले त्यो टीका समेत लगाएनन् ।
विगतका सालमा एकै दिन धेरै रंग र होली अंकित टिसर्ट बिक्रि गर्ने व्यापारीहरुले पनि व्यापार गर्न सकेनन् । उनीहरु केहीले यसवर्ष होली सम्वन्धी टिसर्ट पसलमा रखेको भए पनि कतिले बिक्रिका लागि पसलमा समेत नल्याएको बताए । टिसर्ट भन्दा पनि मास्क खोज्ने धेरै आएको इलाम वजारका केशव खनालले बताए । सडक छेउमा रंगको थुप्रो नै लगाएर इलाम बजारमा बेच्ने गरिन्थ्यो । तर यस वर्ष रंग बेच्ने सडक व्यापारी समेत भेटिएनन् ।
इलाम फिक्कल, पशुपतिनगर, मंगलबारे जस्ता बजारमा होली खेल्ने कमै युवायुवतीहरु भेटिए । रंग बोकेर सडकमा ननिस्कने बालबालिकाले यस वर्ष कोरोना भाइरसकै कारण परीक्षा लेख्नु परिरहेको छ । कोरोना भाइरसकै कारण विद्यालयमा यतिबेला परीक्षा भइरहेको छ । सरकारले आगामी चैत ५ गते भित्र सबै विद्यालयमा परीक्षा सम्पन्न गर्न निर्देशन दिएको छ । कन्याम, अन्तु, पानीटार जस्ता पर्यटकीय गन्तव्य समेत सोमबार सुनसान बने ।

 
धनकुटा पनि कम रौनक
धनकुटा-गहरुको पर्व होली पहाडी जिल्लाहरुमा सोमबार परे पनि धनकुटा सदरमुकाममा विगत वर्षको जस्तो होली मनाइएन ।
सरकारले सूचना जारी गर्दै सभा सम्मेलन नगर्न, अनाआवश्यक भेला नहुन सूचना जारी गरी स्वास्थ्यमा सजक रहन आग्रह गरेसँगै जिल्ला प्रशासन कार्यालय धनकुटाले समेत जनस्वास्थ्यलाई नै असर गर्ने भएकोले अघिल्ला वर्षहरुमा जस्तो होली कार्यक्रमको आयोजना नगर्न आग्रह गरेपछि रौनक कम भएको हो ।
विगत वर्षहरुमा धनकुटाका विभिन्न स्थानमा होली मनाउनेको घुइँचो लाग्ने गथ्र्यो । त्यसले गर्दा आन्तरिक पर्यटनमा समेत निकै उत्साह देखिन्थ्यो । तर यो वर्ष भने कुनै कार्यक्रम नहुँदा खल्लो महशुस भएको स्थानीय रोजिन राईले बताए ।

टीका खतिवडा

प्रतिक्रिया दिनुहोस्