तराईमा होलीको रौनक छैन «

तराईमा होलीको रौनक छैन

शम्भुनाथ केशरी (५६) ले होली पर्वमा अबिर, केशरी, पिचकारीका सामान बिक्री गर्न लागेको करिब अढाई दशक भइसकको छ । भैरहवा मैत्रीपथमा अन्य मौसममा अरू सामान बिक्री गर्ने केशरीले होलीको बेलामा भारतका विभिन्न सहरबाट होलीमा आवश्यक पर्ने सबै सामानहरू बिक्री गर्दै आएको बताउँछन् । तर, अहिले यो पालि होलीको रौनक नै देखिएन । होलीका धेरै सामान चीनबाट आउँथे तर अहिले आएनन् ।
“भारतमा रहेका पुराना सामान र गत वर्ष बचेका पिचकारीहरू बिक्री गर्दै आएको छु,” केशरीले भने, “सामानको मूल्य पनि गत वर्षको तुलनामा धेरै महँगो छ । ४० प्रतिशतसम्म महँगो भएको छ । कोरोना भाइरस संक्रमणको कारण प्रशासनले पनि होली पर्व खेल्दा सतर्कता अपनाउन र भिडभाड गरी नखेल्न आग्रह गरेको छ, त्यसैले व्यापार पनि कम छ ।” अघिल्ला वर्षहरूमा एक हप्ता अघिदेखिनै व्यापार बढ्थ्यो, बाटोमा रंग लगाएका व्यक्तिहरू भेटिन्थे तर अहिले रौनक नै छैन,” उनको भनाइ छ । केशरीलाई व्यवसायमा छोराद्वय प्रवीणकेशरी र नवीनकेशरीले सघाउँदै आएका छन् ।
नेपालमा अबिरजन्य वस्तु तथा होलीमा प्रयोग हुने अन्य वस्तुहरूको उत्पादन नहुने भएकाले भारतका विभिन्न सहरबाट खरिद गरी ल्याइ विक्री वितरण गर्दै आएका केशरी परिवारले कोरोनाको प्रभाव पर्वमा पनि परेको र भारतमा समेत बिक्री कम भएको बताए । उता बजारका बिभिन्न स्थानमा होलीका लागि राखिएका सामग्रीहरू बिगतमा जस्तो बिक्री नभएको व्यवसायीहरूको भनाइ छ । बजारका धेरै फेन्सी पसलमा होली टिशर्ट बिक्रीका लागि राखीएका छन भने बजारका चोक चोकमा होलीका सामानका पसल लगाइएका छन् । भाटभटेनी डिपार्टमेन्टल स्टोरमा पनि होलीका सामग्री, पिचकारी, अबिर टिसर्ट बिक्री कक्ष राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्